नेपालको सीमाबाट भारततर्फ विदेशी घुसपैठ बढ्दो

चिनियाँ र मुस्लिम राष्ट्रका नागरिक सक्रिय

सम्वादाता | २०८२ असार २१ गते ०२: ३० मा प्रकाशित
बीरगञ्ज । नेपाल–भारतको खुला सीमालाई प्रयोग गरी भारततर्फ अवैध रूपमा प्रवेश गर्ने विदेशी नागरिकहरूको संख्यामा पछिल्ला दिनहरूमा तीव्र वृद्धि देखिएको छ । विशेषगरी चीन, बङ्गलादेश, पाकिस्तान जस्ता राष्ट्रहरूका नागरिकहरू नेपाली भूमि हुँदै भारत प्रवेश गर्ने प्रयासमा पक्राउ पर्न थालेका छन्, जसले नेपाल–भारत सीमा सुरक्षामा गम्भीर प्रश्न उठाएको छ ।
सबैभन्दा पछिल्लो घटनामा, वीरगञ्जको मैत्री पुलबाट बङ्गलादेशको ढाका निवासी ५० वर्षीय सैयद इकबाल अहमदलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको छ । वैध कागजात विना भारत प्रवेश गर्न खोजिरहेका उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी स्रोतहरूका अनुसार, अहमदले ढाकाबाट काठमाडौँ पुगेपछि वीरगञ्ज हुँदै भारत प्रवेश गर्ने योजना बनाएका थिए । प्रारम्भिक बयानमा उनले उत्तर प्रदेशको लखनउस्थित दारुल उल मदरसामा कार्यरत बङ्गलादेशी नागरिक जुबेर आलमसँग भेट गरी अजमेर जाने योजना रहेको स्वीकारेका छन् । जुबेरको भिसा वैध छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, भारतीय सञ्चारमाध्यमहरूले उद्धृत गरेका खुफिया स्रोतहरूका अनुसार, बाराको महागढीमाई नगरपालिकामा सात जना शङ्कास्पद पाकिस्तानी र बङ्गलादेशी नागरिकहरू लुकेर बसेको खबर प्राप्त भएको छ । तीमध्ये तीन जनाको सम्बन्ध पाकिस्तानको खुफिया संस्था ISI सँग र दुई जनाको पूर्व पाकिस्तानी सेनासँग रहेको आशंका गरिएको छ । उनीहरू नेपालको सीमावर्ती क्षेत्रमा गत जुन महिनाको पहिलो सातादेखि सक्रिय रहेको जनाइएको छ ।
पछिल्ला डेढ महिनाको अवधिमा रक्सौल सीमाबाट एक दर्जनभन्दा बढी चिनियाँ, बङ्गलादेशी, इरानीलगायत विदेशी नागरिकहरू अवैध रूपमा भारत प्रवेश गर्ने प्रयासमा पक्राउ परिसकेका छन् । भारतले ’अपरेसन सिन्दूर’ अभियान सञ्चालन गर्दै सीमामा सुरक्षा सतर्कता उच्च बनाएको छ ।
नेपाल–भारतको १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमाले यस्तो किसिमको गतिविधिका लागि सहज मार्ग प्रदान गरिरहेको छ । कतिपय सीमावर्ती गाउँमा घर नेपालमा र आँगन भारतमा पर्ने अवस्थाले अवैध आवतजावतलाई थप सजिलो बनाएको सुरक्षा निकायहरूको भनाइ छ ।
भारतीय सुरक्षा बलहरू सीमामा २४ सै घण्टा गस्ती र निगरानी गरिरहेका छन् । नक्कली आधार कार्ड र अन्य जाली कागजातहरू जाँच गर्न हाईटेक स्क्यानरको समेत प्रयोग भइरहेको छ ।
सुरक्षा विशेषज्ञहरूका अनुसार, यस्तो गतिविधिले भारतको आन्तरिक सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ । यसबाहेक, नेपालको भूप्रयोग हुँदै हुने घुसपैठले दुई देशबीचको कूटनीतिक सम्बन्धमा समेत असहजता ल्याउन सक्छ ।
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने प्रयासले दक्षिण एशियाली क्षेत्रमा आतंकवाद वा आपराधिक सञ्जाल फैलन सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।
नेपाल–भारतबीच १,७५१ किलोमिटर लामो खुला सीमा रहेकोले निगरानी चुनौतीपूर्ण देखिएको छ भने कतिपय ठाउँमा घर नेपालमा र आँगन भारतमा हुने अवस्थाले अवैध प्रवेश सहज बनाएको ।
त्यसैगरी सीमामा न्यून स्रोत, प्रविधिको अभाव, र केही स्थानमा समन्वयको कमीका कारण समेत यस प्रकारका गतिविधिहरुले ठाउं पाएका छन् ।
पर्यटक र धार्मिक कार्यको आडमा केही विदेशी नागरिक धार्मिक भ्रमण वा वैध पर्यटक भिसाको नाममा नेपाल प्रवेश गरी त्यसपछि भारततर्फ जान खोज्ने गरेका छन्।
नेपालको खुला सीमा पछिल्ला वर्षहरूमा शान्तिपूर्ण सहकार्यको प्रतीक भए पनि पछिल्ला घटनाक्रमले सुरक्षा जोखिम र आपराधिक दुरुपयोगको चिन्ता बढाएको छ ।
चिनियाँ र मुस्लिम राष्ट्रका नागरिकहरूको संलग्नता र ISI जस्ता गम्भीर एजेन्सीहरूको संलग्नता देखिने संकेतले दक्षिण एशियाली सुरक्षाको सन्तुलनमै असर पार्न सक्ने खतराको घण्टी बजाएको छ।
अब नेपाल र भारत दुबै पक्षले संयमित, गहिरो र प्रविधिसम्पन्न समन्वयका साथ सीमा सुरक्षालाई प्राथमिकता नदिएमा यो समस्या अझ जटिल बन्न सक्ने देखिन्छ ।
नेपाल सरकारले देशभित्र सक्रिय रहेका विदेशी नागरिकहरूको दर्ता, निगरानी र सीमामा प्रविधियुक्त ट्रयाकिङ प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्