छालाको प्रकारअनुसार हेरचाह कसरी गर्ने ?

सम्वादाता | २०८१ पौष १३ गते ०८: ४० मा प्रकाशित

सुन्दर देखिने चाहना सबैको हुन्छ । छाला चमकदार होस् भन्ने पनि लाग्छ । त्यसैले अनुहारको सौन्दर्यका लागि मानिसहरू के–के मात्र गर्दैनन् । विभिन्न घरेलु उपाय अपनाउँछन्, बजारमा पाइने विभिन्न प्रकारको ब्युटी प्रोडक्ट प्रयोग गर्छन् ।

बजारमा उपलब्ध विभिन्न ब्युटी प्रडक्टद्वारा अनुहारलाई आकर्षक बनाउन त सक्ला तर त्यस्ता प्रोडक्टको प्रभाव क्षणिक हुने गर्छ । जति नै महंगो ब्युटी प्रोडक्ट प्रयोग गरे पनि समयसँगै अनुहारमा विभिन्न किसिमको समस्या पनि देखिन्छ ।

छाला समयसँगै परिवर्तन हुन्छ । बुढ्यौलीका कारण कोलाजेन (शरीरमा पाइने प्रोटिन समूह)को कमीका कारण छालामा पनि परिवर्तन हुन्छ र यसमा वातावरणीय, हर्मोनल परिवर्तनले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तोमा छालाको प्रकारअनुसार यसको हेरचाह गरियो भने समस्याबाट बच्न सकिन्छ । छालाको हेरचाह गर्न यसको प्रकार थाहा पाउनु जरुरी हुन्छ ।

मुख्यतया ५ प्रकारको हुन्छ छाला

तैलीय छाला : यस प्रकारको छालामा तेलको उत्पादन धेरै हुन्छ । जसले गर्दा छालामा बढी चिपचिप र तैलीयपन देखिन्छ । यस्तो छाला भएको अनुहारमा र छालामा ब्ल्याकहिड्स  तथा डन्डीफोर आउँछ ।

सुक्खा छाला : कसैको छाला गर्मी तथा जाडो दुवै मौसममा सुक्खा हुन्छ भने कसैको जाडोमा मात्र सुक्खा हुन्छ । छाला सुक्खा हुँदा फुस्रो र चिलाउने हुन्छ । त्यसले गर्दा छालाको सौन्दर्य र चमक दुवै हराउँछ । त्यसैले यस्तो छालाको हेरचाह गर्न थप हाइड्रेसन आवश्यक हुन्छ ।

मिश्रित छाला : जसको छालामा तैलीय र सुक्खा दुवै प्रकारका गुण र दोष समावेश हुन्छन्, त्यसलाई मिश्रित छाला भनिन्छ । यस्ता व्यक्तिको ‘टी–जोन’ नाक वरपर तैलीय हुन्छ र बाँकी क्षेत्र सुक्खा हुन्छ ।

सामान्य छाला : सामान्य छाला भएको व्यक्तिको छाला धेरै सुक्खा सुक्खा, तैलीय वा संवेदनशील हुँदैन ।  छालाको छिद्रहरू देखिंदैन र अनुहारमा चमक देखिन्छ भने त्यसलाई सामान्य छाला भनिन्छ ।

संवेदनशील छाला : यस प्रकारको छाला भएका व्यक्तिले आफ्नो छाला हेरचाहको बारेमा धेरै सचेत हुनुपर्छ । यदि संवेदशील छालाको हेरचाह गरिएन भने यसले छालामा जलन, रातोपन, चिलाउने र अन्य धेरै समस्या निम्त्याउन सक्छ ।

छालाको प्रकार अनुसारको हेरचाह

सामान्य छाला : राम्रो मोइस्चराइजर र राम्रो एसपीएफ भएको सनस्क्रिनको प्रयोग गर्नुका साथै छालाको नमी कायम राख्न प्रशस्त मात्रामा पानी पिएमा सामान्य छालामा खासै समस्या देखा पर्दैन ।

तैलीय छाला : तैलीय छाला भएकाले दिनमा दुईदेखि तीन पटक अनुहार धुनुपर्छ । जेल बेस र हल्का मोइस्चराइजर प्रयोग गर्नु बढी लाभदायक हुनसक्छ ।

सुक्खा छाला : सुक्खा छालाको नमी राख्न बारम्बार मोइस्चराइजर प्रयोग गर्नुका साथै घामबाट जोगाउन सनस्क्रिन लगाउनु पनि महत्त्वपूर्ण हुन्छ ।

मिश्रित छाला : मिश्रित छालाको भएकाहरुले टी–जोनका लागि हल्का तेलरहित मोइस्चराइजर र सुक्खा क्षेत्रका लागि थप हाइड्रेटिङ मोइस्चराइजर छनवट गर्नुपर्छ । साथै, घामबाट छालालाई जोगाउन दैनिक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

संवेदनशील छाला : यस प्रकारको छालाका लागि क्लिजिङ, मोस्चराइजर आदि प्रसाधनहरूको सावधानीपूर्वक छनोट गर्नुपर्छ । छालाको आर्द्रता कायम राख्न मिनरल रिच मोइस्चराइजर र सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।

 

अनुहारको छालामा देखापर्ने आम समस्या

डन्डफोर

डन्डीफोर आम समस्या हो । डन्डीफोर किशोरावस्थामा बढी आउँछ । डन्डीफोर रोगभन्दा पनि व्यक्तिको छालाको प्रकारमा भर पर्छ । अनुहारमा अत्यधिक तेल आइरहेको छ र त्यसलाई राम्रोसँग सफा गरिएन भने पनि डन्डीफोर आउँछ । हर्मोनल कारणले पनि डन्डीफोरको समस्या निम्तिन्छ । डन्डीफोर व्यक्तिको खानपान, जीवनशैली र सरसफाइमा पनि निर्भर गर्छ ।

चायापोतो

अहिले धेरैलाई चायापोतोको समस्या देखिन्छ । चायापोतोको समस्याले व्यक्तिको सामाजिक र मानसिक रुपमा असर गरिरहेको हुन्छ । छालालाई रङ दिने मेलानोसाइट कोषिकाहरु बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ । हर्मोनल या घामको किरणले गर्दा छालामा चायापोतो आउने गर्छ ।

चाउरीपना

पहिले चाउरीपनलाई बुढेसकालको सङ्केत भनिन्थ्यो । तर अहिले ३० वर्षकै उमेरमा समेत अनुहारमा चाउरी देखिन थालेको छ । घाममा काम गर्ने व्यक्तिमा सानै उमेरमा पनि चाउरीपनको समस्या देखिन सक्छ । वंशाणुगत कारणले पनि चाउरी पर्ने उमेर निर्धारण गर्छ ।

उमेरसँगै छालाको विभिन्न किसिमका तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ । छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखा पर्छ ।

 

अनुहारमा समस्या देखापर्ने कारण

छालामा देखापर्ने धेरै समस्या उमेर र हर्मोनल कारणले पनि देखा पर्छन् । छालाको राम्रो सरसफाइ नगर्ने, धेरै सूर्यको किरण र धुवाँधुलोको सम्पर्कमा आउने र छालाको हेरचाह नगर्ने कारण पनि यस्ता समस्या देखा पर्छन् ।

समाधान र बच्ने उपाय

अनुहारमा देखापर्ने विभिन्न समस्याको कारण फरक-फरक हुने भएकाले समाधानको उपाय पनि भिन्न-भिन्न नै हुन्छ । चाउरीपनको उपचार बुटक्स भएजस्तै केही समस्याको समाधान लेजर, औषधिको सेवन तथा मलमको प्रयोगबाट पनि हुन्छ ।

छालाको समस्याबाट बच्न तनाव व्यवस्थापन पहिलो सर्त हो । यसका लागि ताजगी रहन कोसिस गर्ने, प्रशस्त पानी पिउने, सन्तुलित भोजन खाने, फलफूलमा जोड दिनुपर्छ । यस्तै विज्ञापनमा देखेको भरमा कुनै पनि क्रिम लगाउनुहुँदैन ।

क्रिम छनोट गर्दा आफ्नो छालाको प्रकृतिअनुसार गर्नुपर्छ । अनिवार्य सनब्लक क्रिम लगाएर मात्रै घाममा निस्कनुपर्छ । छालामा केही समस्या देखिने बित्तिकै छालारोग विशेषज्ञको परामर्श लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्