काठमाडौं । खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१ का २०७४ सालमा काठमाडौं आएका मिलन आचार्य (२६) ले मीनभवन कमर्स क्याम्पसबाट स्नातक तह (बीबीएस) उत्तीर्ण गरे ।
मिलनका बुवा कुलप्रसाद (५६) पनि निजामती कर्मचारी हुन् । बुवा कुलप्रसादको चाहना छोरालाई निजामती कर्मचारी नै बनाउने थियो । बुवाकै सपना पछ्याउँदै काठमाडौं आइपुगेका उनले स्नातक तहमै अध्ययनरत रहँदा लोकसेवा परीक्षा दिन थाले ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट रहेको मिलनको डेरामा उनका २२ वर्षीय भाइ प्रविण पनि थपिए । उनीहरू फ्ल्याटमा रहेका चारमध्ये दुई कोठा भाडामा लिएर बसिरहेका थिए ।
भाइ प्रविण भीएस निकेतनमा बिएस्सी दोस्रो वर्षमा अध्ययनरत थिए । खर्चको जोहो बुवा कुलप्रसादले नै गर्दै आएका थिए ।
जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङको निमित्त प्रमुख (नासु) रहेका कुलप्रसाद करिब एक साताअघि मात्रै हुलाक विभागमा काम परेर काठमाडौं आएका थिए ।
अघिल्ला दिनहरू सामान्य नै बिते । शनिबारको रात भने विभत्स दुर्घटना हुन पुग्यो । २०७४ सालदेखि काठमाडौं राखेर पढाए पनि लोकसेवामा नाम निकाल्न नसकेको र अरु जागिर खान नसकेको तनावमा थिए मिलन । त्यसमाथि गाउँ–समाजले समेत कुरा काट्न थालेको भन्दै कुलप्रसादले जेठा छोरा मिलनलाई सम्झाउन थाले ।
यो बीचमा मिलनले ६ पटक नासुको परीक्षा दिएका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् । एकपटक अधिकृतको परीक्षा दिए पनि उनको अघिल्लै नियति दोहोरियो ।
छोरालाई निजामती बनाउने कुलप्रसादको सपना अनि मिलनको चाहना सातौं प्रयासमा पनि अधुरै रह्यो ।
‘कान्छोको त उमेर बाँकी नै छ । तेरो त उमेर पनि भयो, बिहे गर्ने बेला पनि भयो तर कतै सेटल हुन सकिनस् । गाउँसमाजले पनि कुरा काट्न थालिसके,’ शनिबार बेलुकाको खाना खाएर सुत्ने तरखर गर्दा बुवा कुलप्रसाद छोरा मिलनलाई सम्झाएका थिए ।
तर छोराकै हितमा भनेको बुवाको यो शब्द उनको मनमा गड्यो । खाना खाइसकेपछि कुलप्रसाद र मिलन एउटा कोठामा सुत्न गए । कुलप्रसाद खाटमा सुते भने मिलन भुईमा । भान्छा कोठाको खाटमा भने प्रविण सुते ।
मिलनले प्रहरीलाई दिइको बयान अनुसार सुत्ने बेलामा बुवाले भनेको शब्दले उनी निदाउन सकेनन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपाने भन्छन्, ‘आफू असफल भएको पीडा, त्यहाँमाथि गाउँसमाजले समेत कुरा काट्न थाले भनेर बुवाले भनेको शब्दले आफू छटपटिमा परेको उनले (मिलन)ले बताएका छन् ।’
छोरालाई अर्ती दिएर ओछ्यानमा ढल्केका कुलप्रसाद निदाए । तर बाबुको त्यही शब्दले मिलन निदाउन सकेनन् । ‘बुवाको शब्दले मलाई धेरै छटपटी भयो । निदाउने कोसिस गरेँ तरसकिनँ । त्यसपछि उठेर एकछिन पढेँ,’ मिलनले प्रहरीसमक्ष भनेका छन् ।
रातभर निदाउन नसेकेका उनी छटपटिरहेका थिए । ‘आफ्नै कारणले बुवा–आमालाई तनाव, दुःख तर आफैंले केही गर्न सकिनँ । सबैलाई तनाव दिएर बाँच्नुभन्दा नबाँचेकै राम्रो भन्ने सोच आयो । अनि यो घटना हुन पुग्यो,’ भक्तपुर प्रहरीको हिरासतमा रहेका मिलनले प्रहरीसमक्ष बताएका छन् ।
शनिबार राति ९ बजेतिर सुत्ने तरखर गरेका मिलनले आइतबार बिहानीपख ५ः१५ बजेतिर एकाएक निर्मम निर्णय लिए । आफ्नो कोठामा रहेको डम्बेलले खाटमा निदाइरहेका बुवाको टाउकामा प्रहार गरे ।
बुवाले कुनै प्रतिकार गर्ने मौका पाएनन् । ४/५ पटक टाउकामा डम्बेलले हानेपछि उनी भाइ सुतेको भान्छा कोठामा छिरे । एक गिलास पानी पिए । भान्छामा रहेको सिलौटाले भाइ प्रविणको टाउकामा उसैगरी ४/५ पटक प्रहार गरे ।
‘कुलतमा फस्न थालेको, बिहान १२ बजेसम्म पनि सुतिरहने भएकाले गरिखाँदैन दुःखै दिन्छ’ भन्ने लागेर भाइको पनि हत्या गरेको मिलनको भनाइ छ ।
‘दुवै जना निदाइरहेको अवस्था र फरक–फरक कोठामा रहेकाले एउटालाई प्रहार गर्दा अर्कोले चाल पाएको देखिंदैन । जसकारण यो घटनामा कुनै प्रतिकार भएको पनि देखिँदैन । ओछ्यानमै निदाइरहेका अवस्थामा हत्या गरेको देखिन्छ,’ अनुसन्धान अधिकृत नेउपाने अनलाइनखबरसँग भने ।
बुवा र भाइको हत्या गरेपछि दुवै ढोकामा बाहिरबाट ताला लगाएर उनी बाहिरिएका थिए । त्यतिबेला बिहानको करिब सवा ६ बजेको थियो । आइतबार सखारै कोठाबाट बाहिरिएका उनी भक्तपुरकै बिरुवा भन्ने ठाउँ पुगेका थिए ।
बुवा र भाइकै हत्या गरिसेकपछि आफू चाहिँ किन बाँच्ने भन्दै उनले आत्महत्याको प्रयास पनि गरे । गलाको गलबन्दीको पासो लगाएर रुखमा झुण्डिए । तर रुखमा बाँधेको पासो खुस्किएपछि उनको प्रयास असफल भयो । ‘मर्न खोज्दा पासो नै खुस्किएपछि तँ नमर भनेको जस्तो लाग्यो । अनि दोस्रोपटक आत्महत्याको प्रयास गरिनँ,’ मिलनको बयान छ ।
उनले भनेजस्तै मिलनले आत्महत्याको प्रयास गरेको देखिएको अनुसन्धानमा खटिएका अर्का एक अधिकृत बताउँछन् । घाँटीमा पासोको डाम समेत रहेकाले उनले भनेको कुरामा विश्वास गर्ने आधारहरू रहेको ती अधिकृतको भनाइ छ ।
त्यसपछि आइतबार दिनभर उनी भक्तपुर क्षेत्रमै घुमफिर गरे । यतिञ्जेलसम्म घटनाबारे केही जानकारी बाहिर आएको थिएन । आइतबार राति बास बस्न उनी चाबहिलस्थित एक गेस्ट हाउस पुगे । त्यो राति पनि घटना सामसुम नै थियो ।
तर सोमबार बिहान पनि ढोकामा ताला लागिरहेपछि सँगैको फ्ल्याटमा अर्को कोठामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुगेर ताला फोडेर हेर्दा दुई वटा कोठामा शव भेटिएको थियो । सोमबार बिहानै कोठाभित्रै बाबुछोराको शव भेटिएकोबारे समाचार प्रकाशित हुँदासम्म आफू बेखबर रहेको मिलनले बताएका छन् ।
सोमबार घटनास्थल मुचुल्का गरेर प्रहरीले बाबु छोराको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठायो । सम्पर्कविहीन रहेका मिलनमाथि भक्तपुर प्रहरीका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी सुरु गरेका थिए । यतिन्जेलसम्म पनि घटना थाहा पाएर प्रहरीले आफूलाई खोजी गरिरहेको भन्ने जानकारी नै नभएको मिलनले बताएका छन् ।
सोमबार राति पनि उनी चाबहिलस्थित त्यही गेस्टहाउसमै बसे । मंगबलार बिहान भने पत्रिका पढ्ने भन्दै ३/४ थान पत्रिका लिएर उनी गेस्टहाउस पुगे । अनि मात्रै घटना सार्वजनिक भएको थाहा पाए । ‘त्यसपछि मन झनै पिरोल्यो अनि आफैं प्रहरीकोमा पुगेँ,’ मिलनले प्रहरीसमक्ष भनेका छन् ।
यता प्रहरीले भने मंगलबार बिहान महाराजगञ्जस्थित भाटभटेनी अगाडि टोलाइरहेको अवस्थामा मिलनलाई नियन्त्रणमा लिइएको बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार नियन्त्रणमा आएका बेला मिलनसँगै कालो झोला पनि साथै थियो ।
उक्त झोलाबाट रगतले लतपतिएका कपडाहरू बरामद गरिएको डीएसपी नेउपानेले बताएका छन् । हत्या गर्दा लगाइएका आफ्ना लुगाहरू झोलामा प्याक गरेर हिँडेको खुलेको छ । यसका साथै उनको साथबाट कोठाको ढोकामा लगाइएका दुई वटा तालाका चाबी पनि बरामद भएका छन् ।
कुनै योजनाबद्ध रूपमा हत्या गर्ने भनेर हत्या गरिएको भन्दा पनि एकैछिनको मानसिक तनावले घटना भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
‘लोकसेवामै फेला भएका कारण हत्या भयो भन्न त मिल्दैन । त्यो एउटा कारणसम्म बन्ला तर जीवनमा सफल भइनँ । बुवाआमालाई खुसी दिन सकिनँ भन्ने एउटा तनाव र सुत्ने बेलामा बुवाको बोलीले थप तनाव भएपछि हत्यासम्मको बाटो रोजेको देखिन्छ,’ भक्तपुर परिसरका एक अनुसन्धान अधिकृत भन्छन् ।
यता उनी पक्राउ परेपछि मिलनको मोबाइलमा बुवा र भाइको स्केच समेत भेटिएको छ । मिलन आफैंले हातले बनाएको बुवा र भाइको चित्रमा भने क्रस चिन्ह लगाइएको छ ।
यो तस्वीरबाट भने मार्ने पूर्वयोजना थियो भन्ने आशंका गर्ने ठाउँ देखिएको भक्तपुरका एसपी माधव बुढाथोकी बताउँछन् ।
एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंश शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेसन पनि भन्ने गरिन्छ । योगमा विभिन्न अङ्ग हुन्छन्, जसमध्ये आठौं अंग ध्यानलाई मान्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै आन्तरिक ऊर्जालाई जागरुक गर्नु हो ।
निर्देशिका अनुसार सार्वजनिक निकायलाई स्वदेशी वस्तु उपलब्ध गराउन चाहने उत्पादकले स्वदेशी वस्तुको नाम, परिणाम, खुद्रा तथा थोक बिक्री मूल्य, उत्पतिको प्रमणपत्र, उत्पादनको गुणस्तर र मापदण्ड लगायत स्पेसिफिकेसन संलग्न गरी ‘नेपाली उत्पादन’ नामक विद्युतीय पोर्टलमा सूचीकृत गराउनु पर्नेछ । यस्तो सूचीकृत गर्ने कार्य तथा व्यवसायसँग सम्बन्धित निजी क्षेत्रका छाता संगठन वा वस्तुगत संघले आवश्यक समन्वय र सहयोग गर्नुपर्ने विषय पनि निर्देशिकामै छ ।
प्रतिक्रिया दिनुहोस्