बच्चालाई न्यानो लुगा र किताबको भारी : पसिनाको चिसोले निम्त्याउँछ निमोनिया

सम्वादाता | २०८१ मंसिर २१ गते ०७: २७ मा प्रकाशित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १० बालुवाखानी बस्ने एञ्जिला लामिछाने एक निजी विद्यालयमा कक्षा ५ मा पढ्छिन्। बिहान विद्यालय जाँदा चिसो हुने भएकाले उनकी आमाले धेरै लुगा लगाएर विद्यालय पठाउँछिन्।

उनले नाइँनास्ती गर्दा पनि आमा मान्दिनन्। एकातिर कापी किताबले भरिएको झोला र जिउभरि कपडाको भारी बोकेर विद्यालय पुग्दा उनी पसिनाले भिज्छिन्। जति नै गर्मी भए पनि विद्यालयको पोसाक स्वीटर खोल्न विद्यालयले दिँदैन। पोसाकभित्र लगाएको लुगा खोल्न कठिन हुन्छ। दिनभर कपडाले च्यापिएरै बस्न उनी बाध्य हुन्छिन्।

‘विद्यालयको पोसाक स्वीटर लगाउनैपर्ने हुन्छ। पोसाकभित्र भोटो पनि नलगाई ममीले मान्नुहुन्न। दिनभरर गर्मी हुन्छ, जिउ चिलाउँछ’ उनले भनिन्। त्यस्तै कक्षा २ मा पढ्ने सागर अधिकारीको पीडा पनि त्यस्तै छ। विद्यालयको पोसाकभित्र न्यानो भोटो, थर्मकोट, बाहिर स्वेटर, टोपी, घाँटीमा टाई त्यसैमाथि गलबन्दी बेरेर उनकी आमाले स्कुल पठाउँछिन्। एञ्जिला र सागर जस्तै धेरै स्कुले बालबालिकाको पीडा यस्तै हो। सबै आमाहरुले माया गरेर आफ्नो बच्चालाई चिसो नलागोस् भनेर न्यानो कपडाहरु लगाएर स्कुल पठाउँछन्।

हुन त आमाले माया गरेर यसो गरेका होलान् तर त्यही मायाका कारण हामीले कतै आफ्ना छोराछोरीको स्वास्थ्यलाई जोखिममा पारिरहेका त छैनौ ? यसबारेमा पनि अभिभावकहरुले सोच्न आवश्यक छ।

चिकित्सकका अनुसार बालबालिकामा बाहिरीभन्दा पनि भित्री चिसो अर्थात धेरै कपडा लगाएर आउने पसिनाको चिसोले निमोनियाको जोखिम धेरै हुने गरेको छ। बी एण्ड बी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. संगीता शाक्य भन्छिन्, ‘चिसो लाग्छ भनेर एकातिर धेरै लुगा लगाउने र लामो समयसम्म ननुहाइदिने आनीबानीले बालबालिकाहरुमा निमोनियाको जोखिम हुन्छ।’

धेरैजसो बालबालिकामा निमोनिया हुने एउटा जोखिम यो पनि रहेको उनले बताइन्। डा. शाक्यका अनुसार यसवर्ष पनि चिसो मौसमको सुरुवातसंगै दैनिकजसो निमोनिया भएका बालबालिका उपचारका लागि आउने गरेका छन्।

साना बालबालिका भन्दा ६-७ वर्ष उमेरका बालबालिका धेरै आउने गरेका उनले बताइन्। बालबालिकाहरु ठूलो मान्छेहरुजस्तो चुपचाप एकै ठाउमा बस्दैनन् उनिहरु खेल्छन् , कुद्छन जसका कारण उनीहरुलाई छिटो पसिना आउँछ। त्यो पसिना शरीरमै भिज्छ र चिसोका कारण रुघाखोकी, ज्वरो आउने तथा निमोनियासम्मको जोखिम हुने भएकाले बालबालिकालाई धेरै लुगा नलगाएर आवश्यक मात्रामा मात्रै लुगा लगाउन डा. शाक्यको सुझाव छ।

डा. शाक्यका अनुसार यसवर्ष पनि चिसो मौसमको सुरुवातसंगै दैनिकजसो निमोनिया भएका बालबालिका उपचारका लागि आउने गरेका छन्।

साथै चिसो मौसममा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले झोलिलो तथा पोषिलो खानेकुरा खुवाउन उनले सल्लाह दिइन।

विद्यालय र अभिभावकै कारण स्कुले बालबालिकामा निमोनियाको जोखिम
दशैं बिदा सकिएर विद्यालय सुरु हुने समयमा काठमाडौं उपत्यकाका धेरै विद्यालयहरुले स्कुल आउँदा स्वेटर, टोपी र गलबन्दी अनिवार्य लगाएर आउनु नभए विद्यालयमा आउन दिइने छैन भनेर उर्दी जारी गर्छन्।

जसका कारण बालबालिकाहरु तातो लुगा लगाउन बाध्य हुन्छन्। अभिभावकहरुलाई त्यो उर्दी मान्नैपर्ने बाध्यता छ। बिहान बेलुका चिसो भए पनि दिउँसोको समयमा गलबन्दी नै ओढ्नुपर्ने खालको चिसो अझै भइसकेको छैन। तर विद्यालयले तोकेको ड्रेस लगाउन दबाब दिने गरेका छन्।

हामीले अभिभावकलाई बारम्बार भन्ने गरेका छौं, धेरै लुगा नलगाउनु भनेर तर मान्दैनन्। ठूला बालबालिकाहरु त भन्न सक्ने हुन्छन्। धेरै असहज हुँदा खोल्छन् पनि तर साना बालबालिकालाई धेरै असहज हुने गरेको सेन्ट जोन्स स्कुल सुन्दरबस्तीका प्रिन्सिपल रुकेश तामाङ्ले बताए।

खबरहबसँगको कुराकानीमा प्रिन्सिपल तामाङले भने पहिले पहिले साना बालबालिकालाई धेरै पसिना आयो भने कपडाहरु खोलेर राखिदिने गरेका थियौं तर अभिभावकले उल्टै आफ्ना बालबालिकालाई कपडा खोलेर पिटेको भन्ने आरोप लगाए। त्यसपछि अहिले बाहिर पसिना आएको पुछिदिने गरेका छौं र अभिभावकलाई बारम्बार धेरै कपडा नलगाइदिन आग्रह गर्दा कतिले मान्ने र कतिले नमान्ने गुनासो गरे।

प्रभावकारी भएन एक विद्यालय, एक नर्स कार्यक्रम
एक हजार बढी विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयमा एकजना नर्स अनिवार्य राख्नुपर्ने निर्णय सरकारले सात वर्षअघि नै गरेको थियो। तर केही सामुदायिक विद्यालय बाहेक धेरै विद्यालयले सरकारी नियम पालन गरेका छैनन्।

बालबालिकाले घरमा भन्दा धेरै समय विद्यालयमा बिताउने गर्दछन्। बालबालिकाको शैक्षिकसँगै शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि विद्यालयको जिम्मेवारी भएकाले उनीहरुले कुन समयमा कस्तो लुगा लगाउँदा सहज हुन्छ ? खाना कस्तो खुवाउने ? खेल्दाखेल्दै चोटपटक लागेमा प्राथमिक उपचार कसरी गर्ने ? यी सबै कुराको ख्याल राख्न एक विद्यालय, एक नर्स कार्यक्रमको अवधारणा ल्याइएको हो।

खेल्दाखेल्दै चोटपटक लागेमा प्राथमिक उपचार कसरी गर्ने ? यी सबै कुराको ख्याल राख्न एक विद्यालय, एक नर्स कार्यक्रमको अवधारणा ल्याइएको हो।

सरकारी विद्यालयहरुले के गरेका छन् त्यो त हामीलाई थाहा भएन तर निजी विद्यालयहरुमा लागु गर्ने काम भइरहेको प्याब्सन अध्यक्ष डिके ढुङ्गानाले बताए।

खबरहबसँगको कुराकानीमा अध्यक्ष ढुङ्गानाले भने केही ठूला विद्यालयमा त पहिलेदेखि नै यो कार्यक्रम लागू थियो अन्य सबै विद्यालयमा पनि विस्तार गर्नेक्रम जारी छ। तर सबै नर्स विदेशिने क्रम बढ्दै गइरहेकाले नर्स पाउनै गाह्रो भएको उनले बताए।

यता विद्यालय सञ्चालक पनि नर्स राख्ने विषयमा अभिभावकसँग छलफल भइरहेको बताउँछन्। विद्यालयमा नर्स राखेपछि शुल्क पनि केही बढाउनुपर्ने हुन्छ। यस विषयमा केही अभिभावक इच्छुक देखिए पनि केहीले सहमति नजनाउँदा लागू गर्न नसकिएको सेन्ट जोन्स स्कुलका प्रिन्सिपल तामाङ बताउँछन्। तर प्रयास जारी रहेको र अहिले पनि बालबालिकाहरु अकस्मात बिरामी हुँदा प्राथमिक उपचार कक्ष भने छुट्याइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्