काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो पटक एक्कासि बढाइएको हवाई भाडा दरमा आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई कडा नियमनमा बाँध्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई भाडामा ‘ठगी भइरहेको’ भन्दै यात्रुबाट व्यापक गुनासो आएपछि उड्डयन प्राधिकरणले नेपालका र नेपाल आइरहेका विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई कडा नियमनमा बाँध्ने नीतिको मस्यौदा तयार गरेको छ ।
प्राधिकरणले गोप्य रूपमा तयार पारेको उक्त नीतिको मस्यौदा केही पर्यटन व्यवसायीमाझ पुगेको छ ।
‘अन्तर्राष्ट्रिय हवाई भाडा अचाक्ली बढेको विषयमा प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई कडा नियमनमा बाँध्न तयार पारेको मस्यौदा भेटियो’ , ‘एक हिसाबले हवाई टिकटमा लागतको २० प्रतिशतभन्दा बढी नाफा राखे कालोबजारी सरह कारबाही गरिने प्राधिकरणको मस्यौदामा रहेको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २३ कात्तिकदेखि विभिन्न निर्माणका काम गर्न दैनिक १० घण्टा बन्द हुन थालेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूका उडान लगभग आधा जस्तो कटौती भएको छ ।
उडान कटौतीको मौका छोपेर वायुसेवा कम्पनीले स्थानीय ट्राभल एजेन्सीसँग ‘मिलेमतो’ मा हवाई भाडा एक्कासि अचाक्ली बढाएको भन्दै प्राधिकरण कडा रूपमा प्रस्तुत हुन लागेको हो ।
‘हामीले वायुसेवा कम्पनीलाई नियमन गर्न सक्छौं तर ट्राभल एजेन्सीलाई नियमन गर्ने कसले हो ? कारबाही गर्ने कानुन पनि छैन । दर्ता गर्ने र खारेज गर्ने बाहेक कानुन नभएपछि समस्या बल्झिएको हो’ प्राधिकरणका एक उच्च अधिकारीले अनलाइनखबर सँग भने, ‘वायुसेवा आफैंले भाडा नबढाए पनि तिनका कन्ट्री म्यानेजर र ट्राभल एजेन्सी मिलेर भाडा बढाइदिने गरेको पाइएको छ ।’
त्यही भएर प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई कडा नियममा बाँध्न लागेको र यसबाट ट्राभल एजेन्सीहरू समेत नियमनमा पर्न सक्ने देखिएको ती अधिकारीको भनाइ छ ।
२४ घण्टाभित्र हवाई भाडा दर बुझाउन वायुसेवालाई सरकारको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टाभित्र अन्तर्राष्ट्रिय रुटको हवाई भाडा दर उपलब्ध गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयमा भएको छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
‘हामीले नागरिकको सेवाका लागि हवाई कम्पनीलाई सहुलियत दिएका हौं,’ उनले भने, ‘तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरी गैरजिम्मेवारीपन देखाइयो ।’
उनले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्वको व्यापार गरेको भन्दै दुःख व्यक्त गरे ।
यसअघि वायुसेवा कम्पनीले नियामक निकायसँगको छलफलमा चर्को भाडा नियन्त्रण गर्न पाँच बुँदे सहमति गरेका थिए । त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरेको उनले स्मरण गरे । उनले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिमा पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।
मन्त्रालयका सचिव डा. गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाईभाडा नियन्त्रण सम्बन्धी पाँच बुँदे सहमति कार्यान्वयन नगरेको बताए ।
उनले हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालो बजारी गरिरहेको बताए । छलफलमा नेपालमा सेवा दिँदै आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधि उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्