एनपीएलका लागि तयार हुँदैछ त्रिवि मैदान

सम्वादाता | २०८१ मंसिर ५ गते ०८: ३० मा प्रकाशित

काठमाडौं । १५ मंसिरदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान धमाधम स्तरोन्नतिको काम भइरहेको छ ।

एनपीएलमा खेलाडी र खेल हेर्ने दर्शकका लागि नयाँपन महसुस हुने गरी मैदान स्तरोन्नति गरिरहेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ । प्रवक्ता छुम्बी लामाका अनुसार त्रिवि क्रिकेट मैदानको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

क्रिकेटमा महत्वपूर्ण भनेको पिच हो, ८ वटा पिचलाई बंगलादेशी एक्सपर्ट क्युरेटरको सहायतामा राम्रो बनाएका छौं’, उनले भने, ‘क्यानले मैदानको आउटफिल्डदेखि सबै कुरामा काम गरिरहेको छ ।’

पहिलो पटक डिजिटल स्कोर बोर्डको निर्माण र छुट्टै फ्यान जोन नयाँ विशेषताको रुपमा रहेको छ । यस्तै पिचको पूनर्निर्माण गरिएको छ भने मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण हुँदैछ ।

त्यस्तै फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिच आदि पनि बनाइएको छ ।

पिच निर्माणमा मिहिनेत

यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।

यस्तै मैदानको आउटफिल्ड पनि राम्रो बनेको र बाउण्ड्री पहिले भन्दा ३/४ फिट बढाइएको उनले बताए ।

दर्शकको लागि सुविधा

दर्शकका लागि सिट नभएको त्रिवि क्रिकेट मैदानमा महत्वपूर्ण खेल हुँदा अत्यधिक दर्शक व्यवस्थापन चुनौतीका रुपमा रहँदै आएको छ । यसपटक क्यानले दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्ने भएको छ ।

‘६-७ वटा जोनहरू छुट्याएका छौँ । जुन जोनबाट इन्ट्री भयो त्यहीँबाट एक्जिट हुनुपर्छ’ प्रवक्ता लामाले भने, ‘महिला र पुरुष दर्शकका लागि अलग अलग बाथरुम पनि बनाउनेछौं ।’

 

क्यानले विशिष्ट दर्शकका लागि भीआईपी टिकटको पनि व्यवस्था गर्ने भएको छ । ‘भीआईपी दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ’, लामाले भने ।

यसअघि भीभीआईपी बस्ने ठाउँमा अब मिडिया बक्स रहनेछ । यस्तै टिम ओनरका लागि ओनर लाउन्ज र भीभीआईपी लाउन्जहरू पनि निर्माण भइरहेको छ । ‘एनपीएल आफैँमा ब्राण्ड बनेको जस्तो लाग्छ । यसलाई भव्य बनाउन क्यान लागिरहेको छ’, उनले भने ।

सबै क्षेत्रको काम अन्तिम चरणमा पुगेको लामाले बताए । ‘सबै जोन निर्माणको अन्तिम चरणमा छौं । भीआईपी टिकटको कता बस्ने, ओनरहरू कता बस्ने, खेल हुँदा नेक्स्ट वेटिङ टिम कता बस्ने, भीभीआईपी कता बस्ने सबै निर्माण हुँदैछ । केही दिनमा सबै कुरा फिक्स हुनेछ’, उनले भने ।

एनपीएलका लागि टिकटको मूल्य भने अहिलेसम्म तोकिएको छैन ।

डिजिटल स्कोरबोर्ड तयार

यसपटक एनपीएलमा पनि डिजिटल स्कोरबोर्ड राखिने छ । त्रिवि क्रिकेट मैदानमा मात्र नभई नेपालमै पहिलोपटक क्रिकेटको डिजिटल स्कोरबोर्ड बन्न लागेको क्यानका प्रवक्ता लामाले बताए । ‘डिजिटल स्कोरबोर्ड अन्तिम चरणमा छ’, उनले भने, ‘हामी एनपीएलमा देख्न पाउनेछौँ । त्यसैले दर्शकहरू उत्साहित छन् र उनीहरूले राम्रोसँग स्कोरबोर्डमा पनि हेर्न पाउनेछन् ।’

 

त्रिविमा फ्लडलाइट अत्यावश्यक बनेको छ । फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन । गत ३१ असारमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।

‘शहरी विकास मन्त्रालयले टीयू क्रिकेट मैदानको कामको लागि फिजिबिलिटी स्टडी र डीपीआरको काम भइरहेको छ र अन्य विदेशी रंगशालाहरू निरीक्षण गरिरहेको छ भन्ने आएको छ’ प्रवक्ता लामाले भने, ‘क्यानले दीर्घकालीन रुपमा कुनै पनि स्ट्रक्चर बनाउने छैन ।’

अहिले भइरहेको सबै काम एनपीएलका लागि केन्द्रित भएको उनले बताए ।

यसरी बनेको थियो त्रिवि मैदान

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् १९८८ मा नेपाललाई एसोसिएट सदस्यता दिएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन नेपालमा मैदानको अभाव खट्किएको थियो ।

सन् १९९८ मा नेपालले एसीसी ट्रफी आयोजना गर्ने अवसर पायो । तर प्रतियोगिता गराउन अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउनुपर्ने चुनौती थियो ।

यसबीचमा सन् १९९६ मा क्यानले भारतको जी-स्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गर्‍यो । जी स्पोर्ट्सले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अहिले रहेको मैदान उपयुक्त देख्यो । अहिले क्रिकेट मैदान भएको स्थानमा त्यतिबेला सानो फुटबल मैदान थियो ।

अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने सम्झौतासहित क्यानले त्रिभुवन विश्वविद्यालयसँग त्यो जग्गा पाँच वर्षका लागि भाडामा लिएको थियो । त्यसपछि जी स्पोर्ट्सले काम सुरू गर्‍यो । अनि त्यही मैदानमा नेपालले सन् १९९८ मा एसीसी ट्रफी आयोजना गरेको थियो ।

त्यसयता त्रिवि क्रिकेट मैदानमा वर्ल्ड क्रिकेट लिग डिभिजन फाइभदेखि, वर्ल्ड क्रिकेट लिग टु, टी-२० विश्वकप क्वालिफायर एसियास्तरका विभिन्न प्रतियोगिता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्