जिंक शरीरलाई किन जरुरी हुन्छ ?

सम्वादाता | २०८१ भदौ १८ गते ०९: ०० मा प्रकाशित

शरीरलाई राम्रोसँग काम गर्न पोषक तत्त्व चाहिन्छ । खानाको माध्यमबाट पोषक तत्त्वहरूले शरीरलाई स्वस्थ राख्न, अंगहरुलाई राम्रोसँग काम गर्न र रोगहरूबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

शरीरलाई आवश्यक पर्ने तत्त्वमध्ये पोटासियम, म्याग्नेसियम र आइरन जस्तै जिङ्क पनि एक हो । शरीरका धेरै कार्यमा यसको विशेष योगदान रहेको हुन्छ । शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन जिङ्कको महत्वपूर्ण भूमिका हुन्छ ।


जिङ्क एक खनिज हो, जुन शरीरको धेरै सामान्य कार्य र प्रणालीका लागि आवश्यक हुन्छ । प्रतिरक्षा प्रणाली, घाउ निको पार्ने, रगत जम्ने, थाइराइड कार्य, स्वाद र गन्धका लागि यसको भूमिका हुन्छ । साथै जिङ्कले गर्भावस्था, बाल्यकाल र किशोरावस्थामा सामान्य वृद्धि र विकासमा पनि मद्दत गर्छ ।

जिङ्कको कमी भए के हुन्छ ?


कमजोर प्रतिरक्षा प्रणाली

प्रतिरक्षा प्रणाली बलियो बनाउन जिङ्कको महत्वपूर्ण भूमिका हुन्छ । यस खनिजको कमीले प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ ।  जसकारण श्वासप्रश्वासको संक्रमण, पाचननली सम्बन्धी रोग र छालाको सङ्क्रमणको उच्च जोखिम हुन्छ ।

ढिलो घाउ निको

जिङ्कले घाउ निको पार्ने प्रक्रियामा कोषिकाको वृद्धि र तन्तुको मर्मतमा महत्त्वपूर्ण भूमिका खेल्छ । शरीरमा जिङ्कको कमी भयो भने यो प्रक्रियामा बाधा पुग्छ, जसले गर्दा घाउ निको हुन ढिला हुन्छ । यसकारण चोटमा संक्रमणको जोखिम बढ्न सक्छ ।

शारीरिक विकास समस्या

जिङ्क शारीरिक विकासका लागि आवश्यक हुन्छ, बच्चाहरूलाई विशेषगरी बाल्यकाल र किशोरावस्थामा यसको आवश्यकता हुनसक्छ । जिङ्कको कमीले बालबालिकाको विकासमा बाधा पुग्न सक्छ । साथै, बालबालिका किशोरावस्थामा पुग्दैनन् ।

हाइपोगोनाडिजम

जिङ्कले प्रजनन् स्वास्थ्य लगायत हर्मोन स्तरहरू नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । जिङ्कको कमीले हाइपोगोनाडिजम निम्त्याउन सक्छ, यस्तो अवस्थामा पुरुषहरूमा टेस्टोस्टेरोन उत्पादन कम हुन्छ र महिलाहरूमा मासिक धर्म अनियमित हुन्छ ।

स्नायु प्रणाली सम्बन्धी समस्या

जिङ्कले मस्तिष्कको कार्य र संज्ञानात्मक विकासमा पनि भूमिका खेल्छ । जिङ्कको कमीले स्नायु प्रणाली सम्बन्धी विकारहरू जस्तै संज्ञानात्मक हानि, स्मरण शक्ति हानि र चिन्ता विकारहरू निम्त्याउन सक्छ ।

जिङ्कको स्रोत

फर्सीका बीज, तिल, आलस आदिमा राम्रो मात्रामा जिङ्क पाइन्छ । साथै काजु, बदाम जस्ता ड्राइफ्रुट्समा पनि जिङ्क पाइन्छ ।

दुग्धजन्य पदार्थ दूध, पनिर तथा दहीमा पनि जिङ्क एकदमै राम्रो मात्रामा पाइन्छ । शरीरमा जिङ्कको कमी पूरा गर्न दुग्धजन्य पदार्थ आफ्नो खानपानमा समावेश गराउन सकिन्छ ।

जिङ्कको कमी पूरा गर्न खानपानमा तरकारी पनि राम्रो मात्रामा खानुपर्छ । यसका लागि मटर, पालक, ब्रोकाउली जस्ता तरकारी खान सकिन्छ ।

माछा फ्याटी एसिड र ओमेगा-३ को राम्रो स्रोत मानिन्छ । यस बाहेक माछामा जिङ्कको मात्रा पनि प्रशस्त पाइन्छ । साथै अण्डामा पनि जिङ्कको मात्रा हुन्छ । यसमा पाइने ल्युटिनले छालाको लचकतामा पनि सुधार गर्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्