माइतीसँग निरन्तर कुरा गरिरहे, अन्तिममा आफैं संलग्न देखिए

सम्वादाता | २०८१ भदौ ११ गते ०८: ३८ मा प्रकाशित

काठमाडौं/बनेपा । अमेरिकाको भर्जिनियाबाट नर्स ममता काफ्ले भट्ट नेपालमा रहेकी आमा गीता काफ्लेलाई दैनिक जसो भिडियो कल गरिरहन्थिन् ।तर, पनौती–६, काभ्रेमा रहेकी आमा गीतालाई गएको १५ साउनमा छोरीको फोन आएन । आफैं लगाइ हेरिन्, उठेन । ‘केही काम व्यस्त भइन् होला भन्ने लाग्योे’, गीता सम्झन्छिन्, ‘तर, अर्को दिन पनि कुरा हुन सकेन ।’
लगातार तीन दिनसम्म सम्पर्क नभएपछि उनले ज्वाइँ नरेश भट्टलाई फोन लगाइन् । उनले पनि उठाएनन् । पहिले कहिल्यै यसरी घरमा खबर नगरी यत्तिका दिनसम्म ममता हराएकी थिइनन् ।

‘कस्तो ननिको लाग्यो, त्यसपछि अमेरिकीमै छोरीभन्दा अलि टाढा रहेकी आफन्त सुनिता भण्डारीलाई फोन लगाएँ’,  ‘नानी छोरीको फोन लागेन के भयो होला, ज्वाइँले पनि उठाउनु भएन । तपाईंले गरिदिनु न भनेँ ।’
सुनिताले नरेशलाई म्यासेजमा सन्देश पठाइन् । ‘मैले म्यासेज गरेको छु, रिप्लाई आउला अनि भनौंला भन्नुभएको थियो’, गीताले थपिन्, ‘तर, ज्वाइँले त्यता पनि रिप्लाई गर्नुभएन ।’

अन्तिममा भण्डारीले नरेशलाई फोन नै गरिन् र ‘ममतासँग फोन नलागेर घरमा सबै चिन्तामा रहेको’ सुनाइन् । बल्ल पाँचौं दिनमा नरेशले ‘तीन, चार दिन लगालग काम गर्छ, काम सकिएपछि आएर फोन गर्छिन्’ भनिदिन भन्दै भण्डारीलाई सन्देश पठाए ।

‘फेरि कि म्यासेज गर्नु कि फोन गर्नु भन्दिनु भन्नुभएको छ भनेर सुनिता नानीले भन्नुभयो’, उनले सुनाइन्, ‘त्यसपछि बल्ल मलाई उहाँको एउटा अडियो आयो ।’

२१ साउन अर्थात्, ६ दिनपछि आएको अडियामा नरेशले भनेका छन् :

‘फोन गर्न मिलिरहेको छैन । मेरो मिल्दा हजुरको मिलिरहेको छैन । मैले धेरै ट्राइ गरेँ, हजुरलाई फोन गर्न लागि रहेको छैन । ममता घर नआएको दुई दिन दिन भइसक्यो । जहाँ पहिला बस्थी, जहाँबाट ल्याएका थियौं, त्यहाँ बस्छ कि ? उसले आफ्नो सामानहरु सबै लगिसकेको छ, बेसिक सामानहरु सबै । खई कसकोमा बसिरहेकी छे । सम्पर्कमा आइरहेको छैन । हाम्रो पनि सम्पर्कमा आएको छैन ।’

बल्ल आमा गीताले छारी सम्पर्कविहीन भएको थाहा पाइन् । नरेशले सबै सामान लगिसकेको बताएपनि एक वर्षको छोरी घरमै रहेको भन्दा आमालाई शंका लाग्यो ।

‘अडियो त आयो तर, फोन उठेन’, बुबा कमल भन्छन्, ‘त्यसपछि निरन्तर फोन गरिरहँदा पनि उहाँले उठाउनु भएन ।’

बुबाआमाले ज्वाइँलाई किन फोन नउठाएको भन्दै प्रश्न गरिरहे ।

‘तपाईंलाई भन्दा मलाई पीडा छ, मेरो पनि परिवार हो ।’

‘बच्चा छ सानो, बच्चाले काहीँ जान दिइरहेको छैन, मैले खोज्न जान पनि पाइरहेको छैन’, नरेशले रुखो जवाफ फर्काए ।

‘मेरो छोरी तपाईंको जिम्मा लगाएको हो, तपाईंले के गर्नुभयो, तपाईंकै हातको कुरा हो’, गीताले ज्वाइँसँग ढिपी गरिन्, ‘के के भएको हो भन्नुस् ।’

‘मैले केही भनेको छैन, न मैले साह्रो बोलेको छु । कहाँ गइन् थाहा छैन’, नरेशले भनेका थिए ।

आमा गीताका अनुसार, यसो भनिरहँदा नरेशको अनुहारमा कुनै बदलाब थिएन । ‘छोरी हराएपछि पनि लाजै नमानी कुरा गरिरहनु भयो’, गीता भन्छिन्, ‘अध्याँरो मुख पनि लगाउनुभएन ।’

उनले नातिनीलाई देखाउन भनिन् । ‘त्यसपछि केही दिनसम्म दिनमा एक/दुई पटक नातिनी चाहिँ हेरेँ’, उनी भन्छिन्, ‘तपाईंको घर वरिपरि कस्तो छ हेरौं भन्दा देखाउन मान्नुभएन ।’

निकै कर गरेपछि बल्ल नरेशले दुई वटा कोठा र बाथरुम देखाए । ‘घर उताउता पनि देखाउनुस् भन्दा तलतिर खोला छ, भिर छ ठूलो भन्नुभयो’, गीताले भनिन्, ‘त्यसको माथि वनै वन छ घर पछाडि भन्नुभयो ।’

काभ्रेबाट आमाबुबाले अमेरिकामा रहेका चिनजानका अरु नेपालीहरुलाई पनि फोन गरेर सहयोग गर्न अनुरोध गरे । ‘कोही प्लेनमा तीन/चार घन्टा हिँडेर पनि छोरी बस्ने घरमा पुगे, तर ज्वाइँले भित्र कसैलाई छिर्न दिएनन्’, गीता भन्छिन्, ‘बरु मलाई फोन गरेर को हुन्, ढोकामा मान्छे आएको आयै गर्छन् भन्नुभयो ।’

उनका अनुसार, नरेशले ‘तपाईंले को मान्छे पठाउनुभएको हो, नेपालीहरु नै हुन्, मैले ढोका खोलिन’ भनेर फोनमा बताएका थिए । गीताले आफ्नो मान्छे आएकाले ढोका खोलेर घर देखाउन भन्दा नरेशले मानेनन् ।

‘सरिता न्यौपाने भन्ने बहिनी जानुभएका बेला चाहिँ किचन कोठासम्म देखाउनु भएछ, माथि जान दिनुभएन’, आमा गीता भन्छिन् ।

प्रहरीलाई ढिलो खबर गरे, अनुसन्धानमा असहयोग गरे

दुई दिनसम्म अस्पतालमा काम गर्न नआएपछि १८ साउनमा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्ने ममताका सहकर्मीहरुले ‘वेलनेस चेक’का लागि प्रहरीलाई खबर गरे ।

अमेरिकामा कसैको आफन्त वा साथीभाइले सम्पर्क गर्न छाडे अथवा आत्महत्या वा अरु कुनै शंकास्पद गतिविधिमा भएको हुनसक्ने शंका लागे, कानून कार्यान्वयन अधिकारीलाई ऊ ठिक भए नभएको जाँचका लागि अनुरोध गर्न सक्ने व्यवस्था छ । यस्तोमा सम्बन्धित व्यक्तिको घरमा जाँदा उनले रेस्पोन्स नगरे अधिकारीहरुलाई बल प्रयोग गरेर घरमा छिर्ने अधिकार पनि रहन्छ ।

यसरी भट्टको घरमा प्रहरी पुग्दा नरेशले ममता घरमा नभएपनि तत्काल उनी हराएको भनेर खबर गर्न नचाहने बताएको अमेरिकी समाचार संस्था सीएनएनले लेखेको छ ।

प्रहरी घरमा पुगेको तीन दिनपछि बल्ल उनले श्रीमती ममता हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए र अन्तिम पटक ३१ जुलाई (१६ साउन) मा देखेको बताएका थिए ।

मनसास पार्क प्रहरीले त्यसपछि जासुसहरु समेत प्रयोग गरेर वृहत खोजी गर्‍यो । प्रारम्भिक जाँचपछि ममता सम्पर्कविहीन भएको प्रकरणलाई मनसास प्रहरीले ‘गम्भीर’ घटनाहरुको सूचीमा राख्यो र ठाउँठाउँमा सर्च अपरेशन चलायो ।

भर्जिनियास्थित नेपाली समुदायकी अभियन्ता प्रभा भट्टराई देउजाका अनुसार, अमेरिकामा रहेका नेपाली पनि एकजुट भए र ममताको खोजीका लागि शान्तिपूर्ण प्रदर्शन गरिरहे ।

‘यहाँका सञ्चारमाध्यमहरुसँग कुरा गर्नेदेखि लिएर सामाजिक सञ्जालमा पनि ममताको व्यापक प्रचार गर्‍यौं’, उनले सुनाइन्, ‘सानो बच्चा अलपत्र परेपछि यहाँको अमेरिकी समुदायले पनि खोजीमा चासो देखाएर प्रदर्शनमा सहभागी भयो ।’

सुरुमा बच्चाको हेरचाह गर्नुपर्ने भन्दै नरेश शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएनन् । ‘ममता हराएको प्रचार गर्न’ भन्दै गरिएको भेलालाई उनले एकपटक फोनबाट सम्बोधन गरे । पछि उनी एकदिन भेलामा पनि देखिए । स्थानीय सञ्चारमाध्यमसँग बोल्दै अन्तिम पटक १६ साउनमा आफूहरुले सँगै खाना खाएको र कुनै झगडा नभएको’ दाबी गरे ।

छोरीको जन्मदिन लगत्तै गिरफ्तारी

मनसास पार्क प्रहरीले १६ साउनबाट ममता हराएको र खोजीमा नागरिकको सहयोग चाहिएको भन्दै विज्ञप्ति जारी गर्‍यो ।

ममताको खोजीका लागि भएको प्रदर्शनमा सहभागी अभियन्ता देउजाका अनुसार, ४ साउनमा उनको छोरीको पहिलो वर्षको जन्मदिन थियो ।

‘जे भएपनि आमा हो, यहीँ भए जन्मदिनमा त जसरी पनि आउनुपर्ने भन्ने लागेको थियो’, उनी भन्छिन्, ‘भोलि बच्चाले मेरो एक वर्षमा के गर्‍यौं भन्दा जवाफ दिनुपर्‍यो भनेर साथीहरु जन्मदिन मनाउन घरमा पनि गएका थिए ।’

तर, ममता त्यो दिन पनि कुरै खबर आएन । बरु नरेशले त्यहीँ दिन आफ्नो टेस्ला कार पनि विक्री गरिसकेको खुल्यो । घर पनि विक्री गर्न लागेको खबर आयो । ‘त्यसपछि सबैको मन चिसो भयो’, उनी भन्छिन् ।

नभन्दै अर्को दिन ६ साउनमा सुरक्षा अधिकारीहरुले भट्टको घरमा छापा मारे । त्यही दिन नियमित प्रेस विफ्रिङमा मनसास पार्क प्रहरी प्रमुख मारियो लुगोले ममताका श्रीमान् नरेश यो घटनामा ‘शंकास्पद’ व्यक्ति भएको जनाए । ‘उनी यो मामलामा चासोका व्यक्ति हुन्, त्यो सबैलाई थाहा छ’, मारियोले भनेका थिए, ‘उनले अनुसन्धान पनि सहयोग गरेका छैनन् ।’

अर्को दिन ७ साउनमा स्थानीय एबीसी सेभेनले मनसास पार्कका प्रहरीले आएर नरेशलाई हत्कडी लगाउँदै बाहिर निकालेको भिडियो सार्वजनिक गर्‍यो । प्रहरी अधिकृतहरुले घरको कार्पेट पनि निकालेर फरेन्सिक भ्यानमा हालेको देखिएको थियो भने छोरीलाई ब्ल्यांकेटले छोपेर बाहिर निकालिएको थियो ।

यसबारे मनसास पार्क प्रहरीले विज्ञप्ति जारी गर्दै शव लुकाएको कसुरमा नरेशलाई पक्राउ गरिएको बतायो । भर्जिनियास्थित अनलाइन सञ्चारमाध्यम डब्लूजेएलए डटकमका अनुसार, सोमबार अदालतले पनि नरेशलाई बाहिर छाड्नु सुरक्षा चुनौति हुने भन्दै हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतमा नरेश पक्षका वकिलले पर्याप्त प्रमाणविना मुद्दा चलाइएको दाबी गरेका थिए भने प्रहरीले ‘घरमा शव रहेको र त्यहाँबाट घिसार्दै बाहिर ल्याएको’ आधार भेटिएको विवरण अदालतमा बुझाएको थियो । घरमा छापा मारेका बेला बेडरुम र बाथटबमा गलतको छिटा भेटिएको प्रहरीले जिकिर गरेका थिए ।

हालसम्म डीएनए चाँज भने भइसकेको छैन ।

अनलाइनबाट चिनजान अनि विवाह

ममताका बुबा कमलका अनुसार, हाल प्रहरी नियन्त्रणमा रहेका नरेश र ममताबीच सामाजिक सञ्जालमार्फत नै चिनजान भएको थियो ।

कञ्चनपुरका नरेश अमेरिकातिर बसेको चार/पाँच भइसकेको थियो । उनले आफू अमेरिकाको सेनामा काम गर्ने भन्दै बर्दीमा भएका तस्वीहरु पनि पठाउँथे ।

‘हाम्री छोरी पढाइमा तेज थिइन्, १२ कक्षा सकेपछि बैंग्लोरमा गएर नर्सिङ पढिन्, त्यहाँ टप गरेकी थिइन्’, कमलले अनलाइनखबरसँग भने, ‘पछि उनले नै भनेपछि विवाहको कुरा अघि बढेको थियो ।’

त्यसपछि पनौतीमा धुमधामसँग नरेश र ममताबीच २०७७ मंसिरमा विवाह भयो । ‘सामान्य परिवार हो, सानो पसल चलाएर ऋण गरेर छोरी पढाएका थियौं’, कमल भन्छन्, ‘विहेपछि अमेरिका लगे, राम्रै होला भन्ने भयो । तर, यति पापी रहेछ कि हाम्री छोरी नै निचोरिदियो ।’

छोरी बेपत्ता भइसकेपछि विना हिच्किचाहट कुरा गरिरहेको स्मरण हुँदा झन् औडाह हुने कमल बताउँछन् । ‘राति १२, १ बजेसम्म निन्द्रा लाग्दैन, अझै पनि म अमेरिकाका अधिकारीहरुलाई भन्छु कि सास देऊ कि लाश’, उनी भन्छन्, ‘भर्खर जन्मिएको बच्चाको झन् विचल्ली भयो, यतै ल्याउन पाए हुन्थ्यो भन्ने छ ।’

 

प्रतिक्रिया दिनुहोस्