हर्मोन गडबडीले पनि हुनसक्छ क्यान्सर

सम्वादाता | २०८१ भदौ १० गते ०८: २९ मा प्रकाशित

क्यान्सर र हर्मोन रसायनको सम्बन्ध विशेष र रोचक खालको हुन्छ । हर्मोन भनेको रासायनिक सूचक तत्त्व हो, जसको आफ्नै रसायनिक प्रकृति र प्रवृत्ति हुन्छ । शरीरमा हर्मोन उत्पादन हुने ग्रन्थी हुन्छ । सो ग्रन्थी र विभिन्न अंगहरुले हर्मोनको उत्पादन र श्राव नियमित रुपमा गर्छन् ।

हर्मोनहरूले अत्यन्त सूक्ष्म मात्राको उपस्थितिले पनि विभिन्न अङ्ग र त्यसको कार्य प्रणालीमा तीव्र प्रभाव पार्छन् । हर्मोन विना शरीरले कुनै पनि कार्य गर्न सक्दैन । त्यसैले शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा रहनुपर्छ ।
यसको सन्तुलनमा तलमाथि भएमा स्वास्थ्य समस्या देखिन थाल्छन् । त्यति मात्र होइन, हर्मोनकै समस्याले पनि कतिपय अवस्थामा क्यान्सर गराउन सक्छ ।

हर्मोनको उत्पादन सञ्चय र स्राव गर्ने प्रमुख अंग


– पिट्युटरी ग्रन्थी

– पाराथाइराइड

– टेस्टिस (अण्डकोष)

– हाइपोथालामस

– प्यान्क्रियाज

– एड्रिनल ग्रन्थी

– प्लासेन्टा (साल)

– पिनाइल ग्रन्थी

– थाइराइड ग्रन्थी

– डिम्बाशय

यी अंगमा उत्पादन हुने हर्मोनमा समस्याले कहिलेकाहीं क्यान्सरको रुप लिन्छ । हर्मोनबाट स्वचालित क्यान्सर प्रमुख दुई समूहमा विभाजन गरिन्छ ।

पहिलो  समूहमा हर्मोन ग्रन्थीमा हुने क्यान्सर, ग्रन्थीको आकार बढ्ने र हर्मोनको उत्पादन तीव्र रुपमा वृद्धि हुने क्यान्सर पर्छ । यो अवस्थालाई चिकित्सकीय भाषामा ‘प्राइमरी इन्डोक्राइन ट्युमर’ भनिन्छ ।

दोस्रो भनेको क्यान्सर प्रभावित अङ्ग आफैंले हर्मोन उत्पादन गर्दैन तर शरीरका अन्य अंगबाट उत्पादन भएको हर्मोनको प्रयोग गरी क्यान्सरको आकारमा वृद्धि हुने र फैलिने हुन्छन् ।

यी क्यान्सर कोषिकाहरूको सतहमा हर्मोन रिसेप्टर हुन्छन् । जुन वृद्धि हुनका लागि हर्मोनको सहायता आवश्यक हुन्छ । हर्मोनका कारण विकसित हुने क्यान्सरमा महिलामा हुने स्तन, पाठेघर (इन्डोमेट्रियल क्यान्सर), डिम्बाशय क्यान्सर र पुरुषमा हुने प्रोस्टेट क्यान्सर पर्छन् ।

स्तन क्यान्सर

यो एक बहुस्वरुपी (हेटेरोजेनस क्यान्सर) हो । यो उत्पत्ति र प्रकृतिको आधारमा आफैंमा थुप्रै किसिमको हुन्छ ।

नयाँ पत्ता लागेका स्तन क्यान्सरमध्ये ७५ प्रतिशत हर्मोन रिसेप्टर पोजिटिभ स्तन क्यान्सर हुन्छन् । इस्ट्रोजेन रिसेप्टर पोजिटिभ स्तन क्यान्सरका बिरामीलाई (टामोक्सीफेन) हर्मोन औषधिद्वारा उपचार गरिन्छ । अन्य औषधि जस्तै फुलभेस्ट्रेन्ट, ऐनास्ट्राजोल, लेट्रोजोलको पनि प्रयोग हुन्छ । यस बाहेक अहिले सीडीके—४—६ रिसेप्टर विरुद्ध पाल्बोसीक्लीब, राइबोसीक्लीभ लगायत औषधि दिइन्छ ।

यदि ह्युमन इपिडर्मल रिसेप्टर पोजेटिभ छ भने हरसेप्टीन/ट्रासटुजुमाव भन्ने औषधि दिइन्छ । यी औषधिहरु केमोथेरापी होइनन् ।

तथापि, यी औषधिको प्रयोग गर्दा रगतको कमी हुने, छालामा सुक्खापन हुने, छालामा सानो घाउ हुने, पखाला लाग्ने, बान्ता हुने, हातखुट्टा झमझमाउने र मुटुमा समस्या देखिने र औषधिको दुष्प्रभाव झेल्नुपर्ने हुनसक्छ ।

स्तन क्यान्सर यो प्रविधिबाट उपचार हुनसक्छ । केही महिना वा वर्षपछि क्यान्सरका कोषिकाहरुले हर्मोन रिसेप्टरमाथि कार्य गर्ने हर्मोन औषधि विरुद्ध प्रतिरोध क्षमता विकसित गरेमा क्यान्सर रोग बढ्ने वा रोग फर्केर आउने हुन्छ ।

स्तन क्यान्सरको उपचार पछि केही समय अन्तरालमा इस्ट्रोजन हर्मोन र प्रोजेस्टेरोन हर्मोन खेर जान्छन् । जसकारण स्तन क्यान्सरको हर्मोन उपचार केही समयपछि विफल हुनसक्छ ।

अर्को थरीको स्तन क्यान्सर जसलाई ट्रिपल नेगेटिभ भन्छौं । यसमा इस्ट्रोजेन, प्रोजेस्टेरोन र ह्युमन इपिडर्मल ग्रोथ फ्याक्टर रिसेप्टर तीनवटै हुँदैनन् । यस्तो स्तन क्यान्सरमा हर्मोन उपचारले काम गर्दैन । यो अत्याधिक जोखिमपूर्ण क्यान्सर हो । अत्याधिक बोसो र तेलयुक्त खानाले स्तन क्यान्सर हुन मद्दत गर्छ ।

डिम्बाशयको क्यान्सर

विश्व तथ्यांकअनुसार महिलामा मृत्युदर बढाउने पाँचौं क्यान्सर डिम्बाशयको क्यान्सर हो । गोनाडोट्रपीन रिलिजिंग हर्मोन (जीएनआरएच) ले ल्युटिनाइजिङ हर्मोन (एलएच) र फोलिकल स्टिमुलेटिङ हर्मोन (एफएसएच) लाई पिट्युटरी ग्रन्थीबाट उत्पादन हुन मद्दत गर्छ ।

यी दुई हर्मोनले डिम्बाशय क्यान्सर हुनमा भूमिका खेल्छन् । यदि पिट्युटरी ग्रन्थी भई जीएनआरएच हर्मोनलाई निष्क्रिय बनाउन सकेमा यो क्यान्सर केही हदसम्म सुकेर जान सक्छ । स्तन क्यान्सर र डिम्बाशय क्यान्सर दुवैमा ब्राका म्युटेसन (बीआरसीए म्युटेसन) पाइन्छ । दुवै रोगमा यो समान देखा पर्छ ।

यस कारण यी दुवै क्यान्सर विरुद्ध इस्ट्रोजेन रिसेप्टर एन्टागोनिस्ट, पीआरपीए इनहिविटर र एमटीओआर इनहिविटर समूहका औषधिले राम्रो काम गर्न सक्छन् ।

प्रोस्टेट क्यान्सर

प्रायजसो प्रोस्टेट क्यान्सर सुरुको अवस्थामा एन्ड्रोजेन हर्मोनमा निर्भर हुन्छन् । एन्ड्रोजेन हर्मोन पुरुषहरुमा बढी मात्रामा पाइने हर्मोन हो । यो हर्मोनले प्रोस्टेट ग्रन्थीलाई स्वस्थ राख्ने काम गर्छ ।

यही हर्मोनको गडबढी प्रोस्टेट क्यान्सर हुनुमा भूमिका पनि खेल्छ । प्रोस्टेट क्यान्सर पत्ता लाग्ने समयसम्म ८० प्रतिशत क्यान्सर प्रोस्टेट ग्रन्थीभित्रै रहेको हुन्छ । २० प्रतिशत अन्य ठाउँमा सरिसकेको हुन्छ ।

प्रोस्टेट क्यान्सरमध्ये एउटा सानो समूहमा एन्ड्रोजेन रिसेप्टर भेटिंदैन ।  यस्ता प्रोस्टेट क्यान्सरहरूमा हर्मोन थेरापीको उपचार उपयोगी नहुन सक्छ ।

ती क्यान्सर अत्यधिक आक्रमक र हानिकारक हुन्छन् । तसर्थ यस्तो अवस्थामा केमोथेरापीबाट गरिन्छ । यसको विपरीत एन्ड्रोजेन डिपेन्डेन्ट प्रोस्टेट क्यान्सरको उपचार हर्मोन थेरापीको माध्यमबाट उपचार हुन्छ । यस्ता क्यान्सरको उपचारमा एन्ड्रोजेन हर्मोनका एन्ड्रोजेन डिप्राइभेसन थेरापी गर्नु नै उत्तम उपचार हो ।

ती थेरापीले टेस्टास्टेरोन घटाउन नसकेको खण्डमा क्यान्सर नै जटिल खालको बन्न सक्छ । यस्तो बल्झेको वा जटिल खालको क्यान्सरलाई ‘क्यासट्रेसन रेसिसटेन्ट प्रोस्टेट क्यान्सर’ भन्ने गरिन्छ ।

इन्डोमेट्रियल क्यान्सर

इन्डोमेट्रियल क्यान्सर महिलाको पाठेघरभित्र हुने क्यान्सर हो । यो महिलामा धेरै हुने क्यान्सरमध्ये पर्छ । यो क्यान्सर हुनुमा इस्ट्रोजेन र प्रोजेस्टोरोन हर्मोनको मुख्य भूमिका हुन्छ ।

यद्यपि, हर्मोनको प्रयोगबाट मात्र यो क्यान्सरको पूर्ण उपचार सम्भव छैन । अधिकतरमा पाठेघर निकाल्नुपर्ने शल्यक्रिया गरिन्छ ।

बिरामीले क्यान्सर रोगको राम्रो उपचार पाउन क्यान्सर रोग विशेषज्ञसँग प्रत्यक्ष भेटेर परीक्षण गराएपछि मात्र रोगको निदान, उपचार र नियन्त्रण हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्