स्वास्थ्यमन्त्री यादव र पूर्वस्वास्थ्यमन्त्री गगन थापाबीच सोमबार स्वास्थ्य मन्त्रालयमा छलफल

सम्वादाता | २०८१ जेठ २९ गते ०९: २५ मा प्रकाशित

काठमाडाैं, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले समग्र स्वास्थ्य क्षेत्रका सुधारका लागि संसदीय समितिको साथ खोजेका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबारमन्त्री यादवलाई मन्त्रालयको अवस्था, कार्यप्रगति र चुनौतीका सम्बन्धमा छलफल गर्न बोलाएको थियो । समितिमा उपस्थित यादवले स्वास्थ्य क्षेत्रको समस्याको पहिचान तथा सुधारको प्रयत्न गरिरहेको भन्दै मिनी संसद्बाट पनि आफूले सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

संवेदनशील मन्त्रालयमा आफू मन्त्री भएको एक महिनामात्रै भएको र बुझ्ने क्रममा रहेको भन्दै मन्त्री यादवले धेरै पाटामा सुधारको आवश्यकता देखेको सुनाए । ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार, सेवा प्रवाहको सन्दर्भमा कानुनी र संरचनागत रूपमा समितिको सुझाव, सल्लाह र भूमिका अपेक्षा गरेको छु,’ उनले भने, ‘मन्त्रालय र समिति सहकार्य भयो भने सुधार गर्न सकिन्छ भन्नेमा विश्वस्त छु । यसबाट जनताले सहज स्वास्थ्य सुविधा पाएर खुसी हुन्छन् ।’ 

मन्त्री यादवले सरकारी अस्पतालको सेवा नाजुक रहेको भन्दै अनुगमन गरेर निर्देशन दिन समितिलाई अनुरोध पनि गरे । विभागीयमन्त्रीको अनुरोधपछि शिक्षा, स्वास्थ्य समितिले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको अनुगमन गर्ने निर्णय गरेको छ । 

समिति सभापति अम्मरबहादुर थापाका अनुसार स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारका लागि मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ । साथै, वीर अस्पतालमा रहेका आइसियू, सिसियू बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न भनिएको छ । समितिले देशका संघीय अस्पतालमा रहेको आइसियू, सिसियू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न पनि निर्देशन गरिएको सभापति थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य क्षेत्रमा रहेको जनशक्ति अभावका सन्दर्भमा समितिले स्वास्थ्य मन्त्रालयको ओ एन्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयको ध्यानाकर्षण पनि गराएको छ । 

सेवा सुधार प्राथमिकतामा
समितिमा सांसदहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार, उपकरण र जनशक्ति अभावको विषय उठाएका थिए । मुख्य गरी पूर्वाधार र उपकरणको हिसाबले सुविधासम्पन्न अस्पतालमा विशेषज्ञ जनशक्ति नहुँदा खण्डहर बनेको विषय सांसदहरूले राखेका थिए । जवाफमा मन्त्री यादवले विशेषज्ञ जनशक्ति व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताए । मन्त्री हुँदा आफूले पहिलो निर्णय नै जनशक्ति थप्ने गरेको स्मरण गराए । ‘जनशक्तिको धेरै ठूलो अभाव छ । जनशक्ति थप्ने पहिलो निर्णय नै गरेको छु । जनशक्ति थपेन भने हाम्रा अस्पतालको अवस्था जटिल बन्न सक्छ,’ उनले भने । 

मन्त्री यादवले भएको जनशक्ति पनि दुर्गममा जान नचाहने प्रवृत्ति देखिएको सूक्ष्म अध्ययन गरिरहेको बताए । ‘पायक ठाउँका लागि यस्तो पावर आउँछ कि कुर्सी नै हल्लिन्छ,’ उनले भने, ‘तर अब कुनै पावर चल्दैन, मानिँदैन । व्यावहारिक रूपमा कसैलाई समस्या परेको छ भने बेग्लै कुरा हो । नभए जहाँ सरुवा भएको छ, त्यहाँ हाजिर हुनैपर्छ । सबैलाई सुगम चाहियो भने गाउँमा कसले हेर्छ ? त्यसैले यसमा मन्त्रालय गम्भीर छ ।’ मन्त्री यादवले दुर्गम नजाने र सेवा प्रवाहमा संवेदनशील नहुनेलाई कारबाहीको तयारी भइरहेको पनि जानकारी गराए । ‘केही दिनमा धेरैजना सस्पेन्ड हुन्छन्, कारबाहीमा पर्छन् । अख्तियारमा म आफैँ मुद्दा पठाउँछु । अस्पतालमा आन्तरिक टिम बनाइरहेको छु । त्यसले सूक्ष्म अध्ययन गर्छ,’ उनले भने । मन्त्री यादवले संघीय अस्पताल सुधारको खाँचो रहेको सुनाए । 

प्रतिक्रिया दिनुहोस्