काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।
उनले नेपालमा भएका उक्त ब्रान्डका मसला परीक्षण गर्न सुरु गरेको भन्दै प्रतिवेदन नआएसम्म बजारमा बिक्री खुला नगर्ने बताए ।
‘नेपालमा आफ्नै मसला उद्योगहरू पनि धेरै छन्, भारतीय ब्रान्डका मसला पनि आउने गरेका छन् । यी दुइटा ब्रान्डका मसला वार्षिक कति आयात हुन्छ भन्ने तथ्यांक एकीकृत रूपमा हेरेर मात्रै भन्न सकिन्छ,’ महर्जनले भने ।
आयात अनुमतिविना पनि सीमाबाट उक्त ब्रान्डका मसला आए खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हेरेर रोक्ने उनले बताए ।
भारतमा उत्पादन हुने एभरेस्ट र एमडीएच ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड भेटिएको हङकङको खाद्य सुरक्षा विभागले दाबी गरेको बीबीसीले जनाएको थियो ।
त्यहाँ अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न भनिएको छ । यस्तै सिंगापुरमा एभरेस्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको छ ।
हङकङको सेन्टर फर फुड सेफ्टीले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड पाउडर र करी पाउडर मिक्स्ड मसलामा कीटनाशक एथिलिन अक्साइड पाएको छ । साथै, उसले उक्त मसला प्रयोग नगर्न सर्वसाधारणलाई सूचित गराएको छ ।
हङकङको फुड सेफ्टी विभागले खाद्य पदार्थमा कीटनाशक अवशेष नियमलाई आधार बनाउँदै भनेको छ, ‘यी खानेकुरा मानव स्वास्थ्यका लागि हानिकारक नभएमात्र बिक्री गर्न पाइने छ ।’
सिंगापुरले वैशाख दोस्रो सातामै देशको फुड एजेन्सीलाई एथिलिन अक्साइड पाइने एभरेस्टको फिस करी मसला बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको थियो ।
एथिलिन अक्साइडले के गर्छ ?
एथिलिन अक्साइड एक रङहीन र ज्वलनशील ग्यास हो । यसको प्रयोग खासगरी कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, कीराबाट जोगाउन एथिलिन अक्साइड प्रयोग गरिन्छ ।
कतिपय स्वास्थ्य संगठनले कार्सिनोजेनले क्यान्सरको खतरा गराउन सक्ने बताएको छ । एथिलिन अक्साइडको जोखिम हेरेर कतिपय देशको खाद्य नियमले खाद्य पदार्थमा यसको प्रयोगबारे कडा नियम बनाएका छन् । ती देशमा एथिलिन अक्साइडको मात्रा निर्धारित गर्न कडा कानुन छ ।
सिंगापुरको फुड एजेन्सीले थोरै मात्रामा एथिलिन अक्साइडबाट तत्काल कुनै खतरा नहुने बताएको छ । तर, लामो समयसम्म प्रयोग गर्नाले यस्ता रसायनले स्वास्थ्यलाई जोखिममा पार्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्