अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय

जन्मकैदको सजाय हुनेहरूमा मोहम्मद अफताब आलम, उनका भाइ ममताभ आलम, शेष सेराज र बद्री सहनी रहेका छन्।

सम्वादाता | २०८१ बैशाख १३ गते ०८: २२ मा प्रकाशित

रौतहट, कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार उद्वव ढोडारीले नागरिक न्युजलाई जानकारी दिए।

जन्मकैदको सजाय हुनेहरूमा मोहम्मद अफताब आलम, उनका भाइ ममताभ आलम, शेष सेराज र बद्री सहनी रहेका छन्।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनीहरूलाई अदालतले सजाय सुनाएको हो।

उनीहरु विरुद्ध २०७६ साल कात्तिक १८ गते विस्फोटक पदार्थ ‘बम’ समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

सो मुद्दामा कूल ११ जना प्रतिवादी रहेकोमा चार जनालाई जन्मकैदको सजाय तोकिएको हो। एक जनालाई भने अदालतले सफाइ दिएको छ। श्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन्।

यसैगरी ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ। मुद्दा मुल्तबी हुनेहरूमा महमद मोबिल, शेष फजले हग, शेष भदै, सगिर आलम, गौरी शंकर शाह, शेष मलाकार रहेका छन्।

गत वैशाख १० गते जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएसँगै उक्त फैसला आएको हो। न्यायाधीश मातृका प्रसाद आचार्यको एकल इजलासमा वादीको तर्फबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जना कानुन व्यावसायिहरुले बहस गरेका थिए।

प्रतिवादीको तर्फबाट गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, आफताब आलम, मजरुल हक, लालबाबु यादव सहितका कानुन व्यवसायीले बहस गरेका थिए।

पीडितको तर्फबाट कानुन व्यावसायीहरु पुष्पराज पौडेल, विकास बस्नेत र जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप वादी पक्षहरुकाे थियो। सोही मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएकोमा आज भने अन्तिम फैसला भएको हो।

कांग्रेस नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदी बन्दी जीवन व्यतीत गर्दै आइरहेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस्