अनुदान बक्यौता नपाएपछि रोकियो कृषि बिमाको दाबी भुक्तानी

कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ ।

सम्वादाता | २०८१ बैशाख १३ गते ०८: ४५ मा प्रकाशित

 बैशाख १३,  सरकारले पूर्ण रूपमा अनुदानको बक्यौता रकम नदिएपछि बिमा कम्पनीहरूले कृषि तथा पशुपक्षी बिमाको दाबी भुक्तानी रोक्ने निर्णय गरेका छन् । कम्पनीहरूले १ चैतबाट यस्तो बिमाको कारोबार (पोलिसी बिक्री) रोकिसकेका छन् । सरकारले पूरा बक्यौता नदिएपछि कम्पनीले बुधबारदेखि यस्तो बिमाको दाबी भुक्तानी पनि रोक्ने निर्णय गरेका हुन् । 

कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ । यो गत आव ०७९/८० माघयताको बक्यौता हो । सरकारले त्यो बक्यौता नदिएसम्म दाबी भुक्तानी दिन नसकिने कम्पनीले बताएका छन् । अन्य बिमाको दाबी भुक्तानी भने नियमित रूपमा अघि बढ्ने कम्पनीहरूको भनाइ छ । 

नेपाल बिमक संघले बुधबार एक विज्ञप्ति जारी गर्दै तत्काल अनुदानको बक्यौता उपलब्ध गराउन माग गरेको छ । ‘एकातर्फ अनुदान प्राप्त नहुने र अर्कोतर्फ दाबीको भुक्तानी तत्काल गर्नुपर्ने परिस्थितिका कारण कम्पनीको नगद प्रवाहमा समस्या भएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, संघको १० वैशाखको पूर्ण बैठकको निर्णयअनुसार सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशीघ्र उपलब्ध गराउन अनुरोध गर्छाैँ । अन्यथा नगद प्रवाहको अभावमा बिमकहरूलाई दाबी भुक्तानी गर्न असहज हुनेछ । यसबाट कृषि बिमा गर्ने बिमित तथा दाबीकर्तामा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौँ ।’
कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ । यो गत आव ०७९/८० माघयताको बक्यौता हो ।
नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले अनुदानको रकम प्राप्त नभएसम्म दाबी भुक्तानी गर्न नसकिने बताए । ‘बिमा कम्पनीहरूलाई दाबी–भुक्तानी गर्न नगद प्रवाहको समस्या भयो । अब सरकारले बक्यौता नदिएसम्म कृषि तथा पशुपक्षी बिमाको दाबी भुक्तानी गर्न सक्ने अवस्था छैन,’ उनले भने । 

कृषि बिमाअन्तर्गत झन्डै साढे दुई अर्ब रुपैयाँ अनुदान बक्यौता छ । पटक–पटक ताकेता गर्दा पनि उक्त रकम नआएपछि गत चैत १ गतेबाट अनुदानमा आधारित कृषि तथा पशुपक्षी बिमाको पोलिसी बिक्री बन्द गरिएको छ । किसानले शतप्रतिशत शुल्क तिरेमा भने बिमा हुनेछ । त्यसपछि सरकारले गत चैत तेस्रो साता ४६ करोड ४१ रुपैयाँ भुक्तानी गरेको थियो । साथै, यस्तो बिमाको कारोबार खुलाउन अनुरोध पनि गरेको थियो । तर, बिमा कम्पनीले सबै रकम पाउनुपर्ने माग गर्दै आएका छन् । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटी अर्यालले बिमा कम्पनीलाई भुक्तानी दिन अर्थ मन्त्रालयमा रकमान्तरको प्रस्ताव पठाएको बताइन् । ‘यस्तो बिमामा अनुदान दिन चालू आवमा ६० करोड रुपैयाँ मात्रै बजेट थियो, त्योबराबरको भुक्तानी भएको थियो । त्यसअन्तर्गत गत चैतमा ४६ करोड रुपैयाँ हाराहारीमा भुक्तानी गरेर कम्पनीहरूलाई कारोबार खुलाउन भनेको पनि थियौँ,’ उनले भनिन्, ‘थप भुक्तानी दिन यो शीर्षकमा बजेट छैन । त्यसैले रकमान्तरका लागि अर्थ मन्त्रालयमा पत्र पठाएका छौँ । त्यो स्वीकृत भएमा कम्पनीलाई थप भुक्तानी गर्छाैँ ।’

कृषि र पशुपक्षी बिमाको शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिनुुपर्ने व्यवस्था छ । सोहीअनुसार कम्पनी किसानबाट २० प्रतिशत मात्रै शुल्क ल्याएर यस्तो बिमा गर्दै आएका छन् । तर, सरकारले गत आव ०७९/८० को माघयताकै अनुदान दिन बाँकी छ । आफूहरूले उधारोमा यस्तो बिमा गरिरहेको कम्पनी बताउँछन् । 

अनुदान रकम नपाएपछि यसअघि पनि कम्पनीले गत ७ जेठदेखि ६ असारसम्म कारोबार स्थगित गरेका थिए । त्यसवेला झन्डै तीन अर्ब बक्यौता थियो । सरकारले गत असारभित्रै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेपछि कम्पनीले ७ असारबाट कारोबार सुचारु गरेका थिए । तर, सरकारले भनेको अवधिमा पूरा बक्यौता भुक्तानी नदिएको र पटक–पटक ताकेता गर्दा पैसा नआएको कम्पनी बताउँछन् । 

नेपालमा ०६९ देखि कृषि बिमा व्यवसाय सुरु भएको थियो । सरकारले त्यसवेलादेखि नै यस्तो बिमामा अनुदान दिँदै आएको छ । तर, त्यसबापतको रकम १ वर्षपछि मात्रै आउने गरेको संघको भनाइ छ । तर, कम्पनीहरूले दाबी भुक्तानी भने दिँदै आएका थिए । अब त्यो सम्भव नभएको बिमा कम्पनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्