१३ महिनासम्म भएन एसपीको नियमित सरुवा

प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सृजना गरेपछि सरुवा नै अवरुद्ध भएको हो ।

सम्वादाता | २०८० माघ २४ गते १६: ५३ मा प्रकाशित

काठमाडौं – सरुवा अवधि पुगेका विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को सरुवा अझै हुन सकेको छैन । प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको छ । तर, ६ जिल्ला प्रहरी प्रमुखले कमान्ड गरेको १३ महिना सकिन लाग्दा पनि उनीहरूको सरुवा हुन सकेको छैन ।
झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो । उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो ।
त्यस्तै, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाको एसपीले समेत कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ ।
यी जिल्लाहरूमा गत वर्षको १९ पुसबाट एसपीहरूले कमान्ड सम्हालेका थिए । तर, उनीहरूको नियमित सरुवा रोकिएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “कमान्ड सम्हालेका प्रहरी अधिकारीको सरुवा क्यालेन्डरअनुसार नै गर्नुपर्छ भनेर हामी लागि परेका थियौं । तर, गृहमन्त्रीकै कारण ढिलाइ भइरहेको छ ।”
प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सृजना गरेपछि सरुवा नै अवरुद्ध भएको हो ।
प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकलाई दिइएको छ । तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन् । कार्यालयले सकेसम्म यही साता एसपीको सरुवा निकाल्ने गरी गृहकार्य भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्