लाइसेन्समा घुसको भागबन्डा नमिलेपछि पास हुनेको संख्या ह्वात्तै घट्यो

यातायात स्रोतका अनुसार चैत १९ मा लिखित परिक्षाको कापी चेक हुंदा लाइसेन्सका मेकानिकल इन्जिनीयर अमित दासले फेललाई पास नगराउन चेतावनी दिएका थिए ।

सम्वादाता | २०८० बैशाख २८ गते १८: ३५ मा प्रकाशित

वीरगन्ज – वीरगन्जको यातायात व्यवस्था कार्यालयले गत माघ महिनामा लिएको हेभी सवारीको प्रयोगात्मक परिक्षा(ट्रायल) को घुस रकममा ‘उचित’ भागबन्डा नपाएको भन्दै कर्मचारी बीच नै मनमुटाव उत्पन्न भएको छ । जसले गर्दा चैत महिनादेखि लाइसेन्सको लिखित र ट्रायलमा फेल भएकाहरु पास हुन सकेका छैनन् ।

गत माघ १३ गते १ हजार १५९ जना परिक्षार्थीले लिखित परिक्षा दिदा ७५ प्रतिशत पास भएका थिए । यसैगरि माघ २५ गते १ हजार ३१ जनाले लिखित दिंदा ७७ प्रतिशत पास भएका थिए ।  तर, चैत १९ मा १ हजार ५३ जनाले लिखित परिक्षा दिंदा जम्मा २ सय ५३ जना मात्र पास भएका थिए । अर्थात २४ प्रतिशत परिक्षार्थीले मात्र लिखित परिक्षा उत्तीर्ण गरेका थिए ।

चैत १९ यता ५ पटक लिखित परिक्षा भएका छन् । जसमा पास हुनेको संख्या २० प्रतिशत भन्दा माथि कटेको छैन् । लिखित मै अधिकांश फेल भएपछि ट्रायलमा ५ प्रतिशत मात्र पास हुने गरेका यातायातको विवरणले देखाएको छ ।  कर्मचारी बीच सेटिङ नमिलेर फेल भएकाहरु पास नहुने भएपछि परिक्षामा सहभागीको संख्या पनि ह्वात्तै घटेको छ ।

यही वैसाख २५ मा यातायात कार्यालयले लिएको लिखित परिक्षामा जम्मा ३७४ जना सहभागी भएका थिए । जसमा ११० जना पास भएका थिए । भोलिपल्ट भएको ट्रायलमा जम्मा १९ जना पास भएका थिए । निश्चित पैसा दिएर फेल हुंदा पनि पास हुने कन्र्फम हुंदा वीरगन्ज यातायातमा लाइसेन्स बनाउनेहरुको चहलपहल बाक्लै हुने गरेको थियो ।

तर, पछिल्लो समय कर्मचारीबीचको भागबन्डा नमिल्दा सेटिङ बिग्रिएको छ, फेल हुंदा पास नहुने भएपछि वीरगन्ज लाइसेन्स बनाउन आउनेहरुको संख्या घटेको एक कर्मचारीले बताए । सम्वद्ध स्रोतका अनुसार गत वर्ष माघ महिनामा भएको हेभी मेसिनको ट्रायलबाट संकलन भएको घुस रकम उचित तरिकाले भागबन्डा नहुदा कर्मचारीबीच मनमुटाव भएको हो ।

डोजर, लोडर, स्काभेटरको ट्रायलमा फेल भएका एकजनालाई मात्र पनि पास गराउदा ३५ हजार देखि ५० हजार रुपैया असुली हुने गरेको छ । स्रोतका अनुसार त्यसबेला करिब १२ सय जनाले हेभी मेसिनको ट्रायल दिएका थिए । ‘आफैले पास गर्नेको संख्या १५ प्रतिशत भन्दा बढी थिएन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारी भन्छन्, ‘तर, हेभीको ट्रायलमा करिब ६७ प्रतिशत रिजल्ट आएको छ ।’ 

त्यसबाट संकलन भएको घुस रकमको भागबन्डा उचित तरिकाले नगरिएकाले कर्मचारीबीचको सेटिङ नमिलेको हो । यातायात स्रोतका अनुसार चैत १९ मा लिखित परिक्षाको कापी चेक हुंदा लाइसेन्सका मेकानिकल इन्जिनीयर अमित दासले फेललाई पास नगराउन चेतावनी दिएका थिए । फेललाई पेस गराए आफूले नमान्ने अडान लिएपछि जम्मा २४ प्रतिशत मात्र पास भएका थिए ।

त्यस यता कर्मचारीबीच अझै मिलापत्र नभएको एक बिचौलियाले सुनाए । इन्जिनियर अमित दास, नायब सुब्बा सुनील पण्डित, रञ्जीत साह लगायतको कर्मचारी समूहले घूस रकम उचित तरिकाले भागबन्डा नगरिएको भन्दै अघोषित आन्दोलनमा रहेको बुझिएको छ ।   

प्रतिक्रिया दिनुहोस्