वीरगन्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु, त्रिजुद्धले लियो प्रवेश परीक्षा

महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु भएको हो ।

सम्वादाता | २०८० बैशाख ११ गते १८: ५७ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागू गरको छ । महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु भएको हो ।

पूर्ण रुपमा अग्रेजी माध्यम पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध मा।वि।ले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिनु भयो ।

कक्षा ५ दखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पनि प्रअ मिश्रले बताउनु भयो । सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनु भयो ।

पहिले अंग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यममा मात्रै अध्यापन गराउन लागेको हो ।

पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित पहिले वीरगञ्जमा सुरजीदेवि मावि र त्रिभुवन हनुमान माविले पनि अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए । यश पटकबाट भने ४ वटालाई पूर्ण रुपमा अंग्रेजी र अन्यलाई नेपाली माध्यम बनाइएको हो ।

शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद देखिएको थियो भने केही विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आइरहेका थिए ।

महानगरको नेतृत्व परिवर्तन भएसँगै सामुदायिक विद्यालयमा विभेदरहित शिक्षा प्रदान गर्न मेयर राजेशमान सिंहले पहल थाल्नु भएको थियो ।

पटक पटकको छलफल र विज्ञहरुसंगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताउनु भयो ।

नेपालीमा अध्ययन गर्न चाहनेका लागि पूर्ण रुपमा अंग्रेजी लागू भएका ४ वटा बाहेकका अन्य विद्यालयमा व्यवस्था मिलाइएको पनि उहाँले बताउनु भयो ।

महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्ने गरि अंग्रेजी माध्यम सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्