३० वर्षदेखि राजनीति गर्दै आएकाहरुले जनताको दुख देखेनन् : पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्र कुर्मी

पहिलो पटक चुनाव लडेका कुर्मी सिर्सिया प्रदुषण मुक्त अभियान, कपडा बैंक, दाइजो एवम् महिला हिंसा लगायतका आधा दर्जन सामाजिक अभियानका संरक्षण हुन् । 

सम्वादाता | २०७९ कार्तिक २९ गते १६: ३६ मा प्रकाशित

पर्सा : पर्साका निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) र एमाले गठबन्धनका उम्मेदवार सुरेन्द्र कुर्मी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् । पेशाले अधिवक्ता रहेका कुर्मी पहिलो पटक यसपाली निर्वाचनमा उम्मेदवारी दिएपनि उनी पर्सामा नयाँ अनुहार भने होइनन् । 

सिर्सिया नदीलाई प्रदुषण मुक्त गर्ने अभियान होस् वा गरिब असहायलाई कपडा वितरण गर्ने अभियान सुरेन्द्र कुर्मी त्यहा उपस्थित भएकै हुन्छन् । मधेशमा विकराल बनेको दाइजो (दहेज) प्रथालाई अन्त्य गर्ने अभियानमा पनि कुर्मीको समूहले गाउँ गाउँ डुलेर जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । 

 

कुर्मीको समूहले कसैसँग चन्दा वा आर्थिक सहयोग नलिई अभियान चलाउँदै आएको छ । सुरेन्द्र कुर्मी संरक्षण रहेको समितिले रामगढवामा कुर्मी सेवा सदन समेत निर्माण गरेको छ । रामगढवामै कुर्मीले आफ्नो बुवा र आमाको नाममा सञ्चालन हुने विद्यालयका लागि जग्गा दिएका छन् ।

बगहीको सारदा माविमा सरस्वती माताको मन्दिर समेत स्थापना गरेका छन् । गोकुल कुर्मी स्मृत्ति प्रतिष्ठान मार्फत गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था समेत कुर्मीले मिलाएका छन् । रामघाट छठ व्यवस्थापन समिति अध्यक्ष भएर पनि कुर्मीले काम गरिसकेका छन् । 

‘सामाजिक विषय उठान गर्दा सुनवाई भइरहेका छैनन्,’ सुरेन्द्र कुर्मी भन्छन्, ‘यही कुरा संसद भवनमा उठायौ भने पक्कै सुनवाई हुन्छ । राजनीति मार्फत सामाजिक क्रान्ति गर्ने लक्ष्य लिएर अगाडि बढेका छौँ । हामी मधेसीले राजनीति लडाई त लड्याँै, अब राजनीति मार्फत शिक्षा, रोजगार, स्वास्थ्य क्षेत्रमा काम गर्ने सोच राखेका छौँ ।’

 

नेपाल सद्भावना पार्टी निकट नेपाल विद्यार्थी मन्चको संस्थापक मध्येका एक हुन सुरेन्द्र कुर्मी । अनिल झा, देवेन्द्र मिश्र लगायत नेताहरुसँग मिलेर मन्च स्थापना गरिएको थियो ।

‘घरदैलोमा जाने बेला जनताले सोध्ने गर्छन, समाजको सबै काम गर्दै हुनुहुन्थ्यो अनि किन राजनीतिमा किन जानु भो,’ कुर्मी सम्झिन्छन्, ‘जुन काम हामी गर्दै छौँ, त्यसको सुनवाई भइरहेको छैन्, राजनीति क्रान्ति र सिस्टम बदलेर समाज बदलिएको छैन् । जस्तो कि मधेशीको लागि हामीले आरक्षणको व्यवस्था त गर्‍यौँ । तर, जब यहाँको विद्यालयमा गुणस्तरीय पठन पाठन नै हुँदैन् भने हाम्रो बच्चाहरु कसरी लोकसेवामा फाइट गर्छन् ?’ 

सुरेन्द्र ४६ सालको आन्दोलनदेखि राजनीतिमा लागेका हुन् । उनले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा थालेका हुन् । कांग्रेसका पूर्वसभापति स्व।कृष्णप्रसाद भट्टराईले ‘मधेसी कायर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएको सुनेपछि आफूलाई नराम्रो लागेको उनी बताउँछन् ।

त्यसपछि उनले नेपाल सदभावना पार्टी निकट नेपाल विद्यार्थी मञ्चबाट राजनीति गरेका थिए । सदभावना पार्टी, सदभावना आनन्दीदेवी, तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै उनी राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष समेत बने । पछिल्लो समय उनी लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए ।

 

स्थानीय निर्वाचन पछि उनले जसपा रोजेका हुन् । पहिलोपटक संसदीय निर्वाचनमा होमिएका अधिवक्ता कुर्मीले चाहिँ जनता धेरै दुःखी रहेको पाएको बताए । ‘घरदैलो गर्दा जनताको व्यथा विकराल देखेको छु । नेताहरु आउँछन्, भोट लिएर जान्छन् । पाँच वर्ष हराउँछन् भन्ने जन गुनासो छ ।

मैले जितेपछि त्यो गुनासो गर्नुपर्ने अवस्था आउन दिन्न’, उनले भने ‘शैक्षिक क्षेत्रको सुधारलाई बढी जोड दिन्छु ।  कोइलाभार आमोदेवीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छु, दहेज प्रथा उन्मुलन, प्रदूषण नियन्त्रण मेरो योजनामा छन् ।’

३० वर्षदेखि निर्वाचन लडेको मान्छेलाई समेत घरदैलो गर्नुपर्ने अवस्था छ, उहाँले त घरमा बसेर चुनाव जित्नुपर्ने हो नि ?’, प्रतिस्पर्धी उम्मेदवार अजय चौरसियाप्रति व्यंग्य गर्दै अधिवक्ता कुर्मीले भने ‘कुनै काम अधुरो छ भने यसपटक सकिनँ, अर्कोपटक पुरा गर्छु भने हुन्छ, त्यस्तो काम पनि केहीँ देखिन्न ।’

प्रतिक्रिया दिनुहोस्