फेरि फुट्दै जसपा

पार्टी भित्रको हालको विबाद र असन्तुष्टिलाई सामना गर्न उपेन्द्रसँग कुनै हतियार नभए पछि उनी यतिवेला पार्टी एकतालाई बलियो बनाउने भन्दै आन्तरिक छलफल र सल्लाहमा व्यस्त भएका छन् ।

सम्वादाता | २०७९ जेठ ३१ गते १८: ५० मा प्रकाशित

काठमाडौं – सत्ता गठबन्धनमा आवद्ध मधेशकेन्दित दलको पहिचान बनाएको जनता समाजबादी पार्टी जसपा भित्रको असन्तुष्टि चुलिएसँगै फुटको संघारमा गएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी विधान बमोजिम भन्दा पनि आफ्नो तजविजी अधिकार प्रयोग गर्दै पार्टी संचालन गरिरहँदा पार्टी भित्रै असन्तुष्टि चुलिएको छ । जसले गर्दा पार्टी फुटको संघारमा गएको हो ।
पार्टी विभाजनको लागि पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर दल विभाजन सम्वन्धि कानूनमा रहेको ४० प्रतिशत केन्द्रीय समितिको समर्थनमा मात्र दल विभाजन गर्न सकिने प्रावधान संशोधनको प्रस्ताव लिएर बालुवाटार पुगेपछि पार्टी विभाजनको संकेत स्पस्ट देखिएको हो ।
२०७७ सालमा तत्कालिन समाजबादी पार्टी नेपाललाई विभाजन गरी डा। भट्टराईले बेग्लै दल खोल्ने तयारी गर्दा हतारमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग एकता गरेर सम्भावित दल विभाजन रोक्न सफल पार्टी अध्यक्ष उपेन्द्र यादव अहिले भने सकसमा परेका छन् ।
०७७ सालमा राजपालाई एकीकरण गरेका तत्कालिन राजपाका चार नेता गत वर्ष असारमा लोकतान्त्रिक समाजबादी पार्टी दल गठन गरेर अलग भइसकेका छन् । राजपाबाट आएर जसपामा बसेका नेताहरुमध्ये महेन्द्र राय यादव अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन् भने राजकिशोर यादव डा। भट्टराईको कित्तामा उभिएका छन् ।
पार्टी भित्रको हालको विबाद र असन्तुष्टिलाई सामना गर्न उपेन्द्रसँग कुनै हतियार नभए पछि उनी यतिवेला पार्टी एकतालाई बलियो बनाउने भन्दै आन्तरिक छलफल र सल्लाहमा व्यस्त भएका छन् ।
यादवले स्थानीय तहको मुखमा फागुन १ गते केन्द्रीय समितिको बैठक बोलाएका थिए । त्यसपछि स्थानीय तहको निर्वाचनको चपेटामा परेको बहाना गर्दै आएका छन् । सो बैठकले आगामी असार १ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । तर सो निर्णय कार्यान्वयन गर्ने भन्दा टार्ने रणनीतिमा उपेन्द्र व्यस्त छन् ।
उपेन्द्रले पार्टीको विधान बमोजिम २ जना अध्यक्ष रहने र एक जना संघीय परिषद् अध्यक्ष हुने व्यवस्थालाई कार्यान्वयन गर्न आलटाल गरेपछि असन्तुष्ट नेताहरु पार्टी फुटको योजनामा लागेका हुन् ।
यादबले गत वर्ष असारपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्रीहरु पठाउँदा ६ महिनापछि फिर्ता बोलाउने र नयाँलाई मन्त्रिपरिषद् सदस्यमा अवसर दिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, उनले त्यो प्रतिवद्धता कार्यान्वयन नगरेपछि एक दर्जन सांसद उनीसँग रुष्ट छन् ।
स्थानीय तहको निर्वाचन अघि नै सत्ता गठबन्धन दलहरुबीच निर्वाचनमा तालमेल गर्नु हुँदैन भन्ने पक्षमा रहेका डा। भट्टराई र तालमेल गरेर जानु पर्छ भन्ने उपेन्द्रबीच फरकलाईन बहस चल्दै आएको थियो ।
पार्टी भित्र छलफल नगर्ने र एक्लै निर्णय गर्दै अघि बढ्ने शैलीका कारण जसपा भित्रको असन्तुष्टि चुलिँदै गएको छ । जसपा भित्रको बिबाद चुलिँदै जाँदा सत्ता गठबन्धनमा आबद्ध दल माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सत्तरुढ गठबन्धन भित्रै नयाँ समिकरण बन्न सक्छ भन्दै जसपा फुटको संघारमा गएको संकेत गरेका थिए ।
एक साता अघि सत्ता गठबन्धनमा आबद्ध नेकपा ९एकीकृत समाजबादी० ले सरकारमा गएका चार मन्त्रीलाई फिर्ता बोलाइ नयाँलाई पठाउने निर्णय गरेको थियो । तर तत्काल मन्त्रिपरिषद् परिवर्तन गरेमा अन्य दल भित्रै बिबाद चुलिने भनेर देउवालाई सो निर्णय कार्यान्वयन नगर्न यादवको पनि प्रमुख भूमिका थियो ।
कानून शंसोधनको प्रस्ताव देउवा समक्ष
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जसपाका नेता भट्टराईले राजनीतिक दलसँग सम्वन्धित ऐन शंशोधन गरी आफूलाई जसपा फुटाउन सहयोगको लागि आग्रह गरेका छन् । दुई दिन अघि प्रधानमन्त्री देउवा भेट्न गएका भट्टराईको आग्रहलाई देउवाले तत्काल भने स्वीकार गर्न सकेनन् ।
उनको पक्षमा पार्टीको ३४ सदस्यीय कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत पुगेपनि केन्द्रीय समितिमा ४० प्रतिशत पुग्दैन । निर्वाचन कानूनमा दल फुटाउन २० प्रतिशत भए पुग्ने प्रावधान सहित ऐन परिवर्तनको प्रस्ताव भट्टराईले प्रधानमन्त्री समक्ष गरेका थिए ।
कार्यकारिणी समितिका कुन नेता कता तिर रु
फुटको संघारमा पुगेको जसपाको ३४ सदस्यीय कार्यकारिणी समितिमा डा। भट्टराई पक्षको झण्डै बहुमत छ । उपेन्द्र यादवको पक्षमा पार्टीका नेता तथा मन्त्रीहरु राजेन्द्र प्रसाद श्रेष्ठ, महिन्द्र राय यादव, रेणुदेवी यादव र रामसहाय यादव रहेका छन् । उपेन्द्रका पक्षमा नवलकिशोर साह, रामनरेश यादव, मनिष सुमन, गोविन्द चौधरी आदि छन् ।
यता भट्टराईको पक्षचमा भने बरिष्ठ नेता असोक राई, इस्तियाक राई, राजकिशोर यादव, प्रदिप यादव, अमृता अग्रहरी, रेणुका गुरुङ, हेमराज राई, रकम चेम्जोङ, हिसिला यमी, गंगा श्रेष्ठ आदि रहेका छन् ।
सम्भावित फुटलाई रोक्न अध्यक्ष यादवले यतिवेला फेरि लोकतान्त्रिक समाजबादी पार्टीसँग एकताको पासा फ्याकेका छन् । उपेन्द्रसँग एकता र समिकरणको नाममा बारम्बार धोखा पाएका लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झाहरु पुनः धोखाको लागि तयार नभएको बताउँदै आएका छन् ।
लोसपाका अध्यक्ष ठाकुरले केही दिन अघि मात्र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ११ बुँदे माग पत्र पेश गरिसकेको छन् । त्यो माग पत्रको केही संवोधन गर्ने, केही गर्दै जाने र केहीमा पछि कार्यान्वयन गर्दै जाने आश्वासनको आधारमा कांग्रेस जसपालाई अलग गरी लोसपासँग गठबन्धन गर्ने मुडामा देखिएको छ ।
असारको पहिलो साता सम्भवत जसपा भित्रको आन्तरिक किचलो वार कि पारको स्थितिमा गएसँगै सत्ता समिकरण पनि बदलिने संकेत देखिएको छ ।
साभार : अनलाइन न्युज

 

प्रतिक्रिया दिनुहोस्