वीरगन्ज बसपार्कको निरीक्षणमा विहानै पुगे मेयर सिंह

निर्माण सम्पन्न भएको ३ वर्ष नपुग्दै जीर्ण बन्दै संरचना

सम्वादाता | २०७९ जेठ १९ गते ०९: ५२ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज बसपार्कको आज विहान अनुगमन तथा निरीक्षण गरेका छन् । निर्माण सम्पन्न भएको ३ वर्ष नपुग्दै बस पार्क अस्तव्यस्त भएको गुनासो आएपछि मेयर सिंहले बिहीबार विहान अनुगमन गरेका हुन् । अनुगमनमा मुख्य भवन टुटफुट र छत चुहिने समस्या रहेको पाइएको छ । वीरगन्जमा करिब दुई सय काउन्टर भएपनि बसपार्क भित्र १० वटा मात्र काउन्टर बनाइएकोले भवन प्रयोगमा नआएको बस व्यवसायीको भनाई छ ।

ठेकेदारले पाएको जिम्मेवारी पूरा नगर्ने, सरसफाई नगर्ने, पार्क व्यवस्थित नगने, अव्यवस्थित शौचालय लगायतका अनेक समस्या देखिएको थियो । मेयर सिंहले सबै समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । २०७६ भदौ १० मा तत्कालिन उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्र िउपेन्द्र यादवले सुविधा सम्पन्न बस टर्मिनलको उद्धघाटन गरेका थिए ।  १५ करोड ७० लाख ८६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको बस टर्मिनलको ठेक्का आशिष/पप्पु/रोशन जेभीले पाएका थिए । २ वर्षभित्र निर्माण गर्ने गरि २०७१ माघ २२ मा सम्झौता भएपनि विभिन्न कारणले निर्माणमा ढिलाई भएको महानगरपालिकाले जनाएको थियो ।

९० प्रतिशत सफ्ट लोन, साढे ७ प्रतिशत सरकारी अनुदान र दुई दशमलव पाँच प्रतिशत महानगरपालिकाको म्याचिङ फ्न्डबाट ५ बिघा ५ कठ्ठा क्षेत्रफलमा बस टर्मिनल निर्माण भएको हो । बस टर्मिनल निर्माणका लागि १९ करोड ८ लाख ९५ हजार रुपैयाँ इस्टिमेट गरिएको थियो । ठेकेदार कम्पनीले १७ करोड ७३ लाख ५० हजार रुपैयाँमा ठेक्का सकार गरेपनि १५ करोड ७० लाख ८६ हजार रुपैयाँ मात्र खर्च भएको वीरगन्ज महानगरपालिकाले जानकार गराएको थियो । चार पटक म्याद थपेर निर्माण भएको बस टर्मिनलको गुणस्तरको सम्बन्धमा आरोप लागेको थियो । उद्घाटन सत्रमा सहरी विकास मन्त्री मो.इस्तियाक राई, प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, प्रतिनिधी सभा सांसद र प्रदेश सांसदको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्