साउन लागेसँगै व्रत बस्नेहरु बढ्छन् । धार्मिक परम्पराअनुसार पनि प्रत्येक सोमबार व्रत बस्ने महिलाहरु धेरै देखिन्छन् । यस्तो व्रत केही घण्टादेखि पूरा दिन वा कहिलेकाहीं त दुई-तीन दिन नै लगातार पनि हुनसक्छ । तर लामो समयको व्रतले ग्यास्ट्रिकको जोखिम पनि ल्याइरहेको हुन्छ ।
यो पटक जनैपूर्णिमा, गाईजात्रा, कृष्णाष्टमी, हरितालिका तीज, ऋषि पञ्चमी भदौमा परेको छ । यी पर्वका अवसरमा भगवानलाई खुसी पार्न, पति वा प्रेमीको स्वास्थ्यलाभ, दीर्घायु, उत्तरोत्तर प्रगति, राम्रो वर पाउन, भाकल पूरा गर्न, पित्तृ तार्न भन्दै व्रत बस्ने परम्परा छ ।
ब्रत बस्ने, कम खाने, समय मिलाएर नखाने कार्यले नेपालीहरुको दैनिकी नै ग्यास्ट्रिक गराउने खालको छ । अनि नेपाली र ग्यास्ट्रिक समस्या पर्यायवाची जस्तै भइसकेको छ । त्यसो त बोलीचालीमा ग्यास्ट्रिक भनेर चिनिने स्वास्थ्य समस्यालाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको अर्थ आमाशय (पेट) को भित्री तह सुन्निने अवस्था हो । आफ्नै शब्द नभएको र अंग्रेजी शब्द अपभ्रंश भई ग्यास्ट्राइटिसलाई समयक्रममा ग्यास्ट्रिक भन्न थालिएको र यसरी नै बुझ्न थालिएको हो ।
हामीले खाएको खाना पच्नका लागि मुखमा विभिन्न खाले र्याल (श्राव), पेटमा अम्ल (हाइड्रोक्लोरिक एसिक), कलेजोबाट पित्त, प्यान्क्रियाज तथा सानो आन्द्राबाट विभिन्न ईन्जायम (पचाउन सघाउने रासायानिक पदार्थ) हरु उत्पादन हुन्छन् । विभिन्न प्रकारका यस्ता रसहरुमध्ये पेट अर्थात् आमाशयबाट उत्पादन हुने हाइड्रोक्लोरिक एसिड नामक अम्ल तथा यही अम्लमा मिसिएको खानाले ग्यास्ट्राइटिस हुनेलाई चाहिं बढी हानिकारक हुन्छ ।
व्रत बस्दा, अल्पाहार बस्दा, लामो समयसम्म खाना पेटमा नहुँदा पेट वा आन्द्राबाट निक्लिने स्राव कम मात्रामा भएपनि निस्किरहेको हुन्छ । पेट वा आन्द्रामा खाना छँदा पो खानालाई पचाउँछ, खाली पेटमा त पेटको भित्री तहलाई अम्लीय पदार्थले असर गरी राताम्य बनाउने, चहर्याउने, सुन्निने हुन्छ । यस्तो बेला पेट दुख्यो, पोल्यो भनेर स्वास्थ्यकर्मीलाई नजँचाइकन आफैंले ब्रुफेन, एस्पिरिन खाइदियो भने ग्यास्ट्राइटिसको समस्या झन् बढ्छ । यो आगोमा घिउ थपे जस्तै हो ।
धर्मकर्म गर्नु, व्रत बस्नु हाम्रो संस्कृति नै हो, यसले मनलाई आनन्दित पनि बनाउँछ तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल राख्नुपर्छ । आफ्नो जीवन नै जोखिममा पारी परिवारजनको भलो चिताउने हेतुले लामो समय व्रत बस्ने कार्यले आफूलाई केही भयो भने परिवारजनलाई नै दुःखकष्ट हुने हो । बरु विकल्पको रुपमा व्रत बस्दा फलाहार, अल्पाहार पो गर्ने हो कि ?
के हो ग्यास्ट्राइटिस ?
खासमा आमाशय (पेट)को भित्री तहको सुजन नै ग्यास्ट्राइटिस हो तर माथिल्लो पेटमा कुनै समस्या हुने वित्तिकै ग्यास्ट्राइटिसको रुपमा लिइन्छ, जुन गलत हो । ग्यास्ट्राइटिसको समस्यामा आमाशयको भित्री तह आंशिक वा पूर्ण रुपमा प्रभावित हुनसक्छ । यो एक्कासि उत्पन्न हुने वा जीर्ण खालको हुनसक्छ ।
ग्यास्ट्राइटिस हुनाको कारण विभिन्न हुनसक्छ तर धेरैजसोमा लक्षण चिन्ह उस्तै हुन्छ । धेरैजसो ग्यास्ट्राइटिस हेलिकोव्याक्टर पाइलोरी नामको एकखाले ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले सुरुमा आमाशयको भित्री तहमा कडा खालको सुजन गराउनुका साथै कालान्तरसम्म रही जीर्ण खालको ग्यास्ट्राइटिस बनाउन पनि सक्छ । हेलिकोब्याक्टर पाइलोरीका साथै ब्रुफेन, बुसेट, एस्पिरिन, इन्डोमेथासिन, नेप्रोक्सिन, डिक्लोफेनेक लगायतका पीडा कम गर्ने औषधिहरुको अधिक प्रयोग (दुरुपयोग)का कारणले पनि ग्यास्ट्राइटिसको समस्या निम्तिन्छ । साथै फंगस, परजीवी, भाइरस लगायतका जीवाणु, एलर्जी, कतिपय औषधि, लागूपदार्थ (कोकेन), मद्यपान, पित्तको उल्टो बहाव, चिन्ता, विकिरण, विषाक्त खाना तथा गम्भीर खालको घाउ चोटका कारण पनि ग्यास्ट्राइटिस हुनसक्छ ।
आश्चर्य तवरले धेरै मानिसमा ग्यास्ट्राइटिस भईकन पनि झट्टै लक्षण चिन्ह देखा परिहाल्दैन । अन्य कारणका लागि आमाशय (पेट)को भित्री तहको नमुना जाँच्न पठाउँदा ग्यास्ट्राइटिस भएको पत्ता लाग्छ । तर पनि ग्यास्ट्राइटिस हुँदा माथिल्लो पेट दुख्ने (निरन्तर वा पटक पटक पोल्ने, अँठ्याउने, ङ्याक्ने खालको), वाकवाकी लाग्ने तथा उल्टी हुने, कहिलेकाहीं पखाला लाग्ने, खाना खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपाच्य हुने आदि लक्षण चिन्ह चाहिं हुनसक्छ ।
ग्यास्ट्राइटिसको समस्या यसका लक्षण चिन्हबाट शंका गर्न सकिन्छ । तिनीहरुले पहिले उपचार गराइसकेको बताउन सक्छ । यसैगरी ग्यास्ट्राइटिसबाट प्रभावित व्यक्तिले रक्सी सेवन (मद्यपान) गर्ने गरेको, हालै पीडा कम हने औषधि खाएको भन्न सक्छ । तर इन्डोस्कोपीको माध्यमबाट आमाशय पेटको भित्री तहको बायोप्सीबाट ग्यास्ट्राइटिसको पक्का निदान हुन्छ । धेरैजसोमा हेलिकोब्याक्टर पाइलोरीकै कारणले ग्यास्ट्राइटिस हुने हुनाले प्रभावित व्यक्तिको सास, रगत, दिसा, इम्युनोलोजी एवं पेटको भित्री तहको बायोप्सीबाट ग्यास्ट्राइटिस गराउने ब्याक्टेरिया पत्ता लाग्न सक्छ । इन्डोस्कोपीको बेला आमाशय (पेट) को भित्री तह राताम्य भएको, घाउ (अल्सर) नै भइसकेको, रक्तस्राव भइरहेको छर्लङ्गै देख्न सकिन्छ ।
ग्यास्ट्राइटिसको उपचार समयमै गरिएन भने विस्तारै जीर्ण खालमा परिणत हुनसक्छ । समयमै उपचार नगरे घाउ बन्ने, अल्सर हुने पेटभित्र रक्तस्राव हुने, रक्तअल्पता हुने, खट बस्ने, आमाशय साँघुरिने, पाचन नलीमा अवरोध आउने (थुनिने), जल वियोजन हुने, आमाशयको क्यान्सर नै हुनसक्ने तथा मृत्यु हुने हुन्छ
रोकथाम तथा उपचार
रोकथामको हकमा रोकथाम गर्न सकिने रक्सी सेवन (मद्यपान) र पीडानाशक औषधि बन्द गर्ने तथा ग्यास्ट्राइटिसजन्य रासायानिक पदार्थ, विकिरण एवं टक्सिन (हानिकारक वस्तु) बाट टाढै रहनुपर्छ । ग्यास्ट्राइटिस र संक्रमणबीच नजिकको सम्बन्ध भएकाले सरसफाइ, हात धुने तथा स्वस्थ्य एवं सफा खानेकुरा मात्र खाएको खण्डमा ग्यास्ट्राइटिसको समस्या निकै मात्रामा घट्छ ।
ग्यास्ट्राइटिस कारक तत्वको निवारण नै ग्यास्ट्राइटिसको सही रोकथाम र उपचार हो । जस्तै हेलिकोब्याक्टर पाइलोरीको लागि उपयुक्त एन्टिबायोटिक औषधि नै चाहिन्छ । पीडानाशक औषधि वा मद्यपानले भएको भए तत्कालै बन्द गर्नुपर्छ । समग्रमा औषधोपचारबाट ग्यास्ट्राइटिसका लक्षणचिन्ह कम गर्ने वा निर्मूल पार्ने, आमाशय (पेट) को भित्री तह पलाउन मद्दत गर्छ । यसका लागि आमाशय (पेट) बाट उत्पादित अम्ल (एसिड) लाई सामान्यीकरण गर्ने एन्टासिड, अम्लको उत्पादन नै बन्द गर्ने औषधिहरु चलाइन्छ । धेरैजसोमा थोरै समयका लागि मात्र ग्यास्ट्राइटिसका लक्षण चिन्ह रहन्छ । सही उपचार पाएको खण्डमा यो पूर्ण रुपमा निको हुन्छ ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्