‘आयुर्वेदको उद्‍गम भूमिमा बसेर पनि यसको उपयोग गर्न सकेनौं’

सम्वादाता | २०८१ बैशाख ३१ गते ०८: ३२ मा प्रकाशित

काठमाडौं । विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो आयुर्वेद । खासगरी दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ ।

विडम्बना, जुन आयुर्वेदका लागि उद्गम भूमिमा भने यसको महत्व बुझिएको छैन । हाम्रो यही भूगोल हो, जहाँ आयुर्वेदको खोज, अध्ययन र अभ्यास भए । हामीकहाँ करिब १० हजार वर्षभन्दा लामो इतिहास बोकेको छ आयुर्वेदिक उपचारले ।

यसै सन्दर्भमा आयुर्वेदमा केन्द्रित रहेर योग तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीसँग अनलाइनखबरकर्मीमनिषा थापाले गरेको कुराकानी :

आयुर्वेद के हो ?

आयु र वेद दुई शब्दको समिश्रण हो आयुर्वेद । जसको अर्थ हो, शरीर, मन र आत्माको संयुक्त रुपले बन्छ आयु । यी त्रिवेणीलाई संयुक्त रुपमा अध्ययन गर्ने विधालाई वेद भनिन्छ । बाँचुन्जेल सुखी, निरोगी र आनन्दित भएर बाँच्नका लागि जुन नियमहरुको पालना गरिन्छ, त्यसको मार्गदर्शन आयुर्वेदमा छ ।

जसकारण जीवनको अन्तरंग र बाहिरी रंगको पाटोलाई नजिकबाट अध्ययन गर्ने, शरीरको भित्र–बाहिर लाग्ने रोगको उपचार गर्ने र जीवन जिउन सिकाउने पद्धति आयुर्वेदमा छ । यसलाई जीवनदर्शन र जीवविज्ञान पनि भनेर व्याख्या गरिन्छ ।

अहिलको अवस्थामा आयुर्वेदको उपयोगिता कस्तो छ ?

आयुर्वेदले जीवन जिउन सिकाउँछ । रोगको उपचार पनि गर्छ । खाने कसरी ? कसरी अरुसँग बोल्ने कसरी ? दिनचर्या, भोजनचर्या र रात्रिचर्या सिकाउँछ । चर्या भनेको शैली हो । समग्र जीवनशैली कस्तो बनाउने ? कसरी जिउने सिकाउँछ ?

आजभोलि रोगहरु बढ्दैछन् । ती रोगहरुको औषधि–उपचार अत्यन्त महंगो हुँदै गएको छ । रोग लाग्न नदिन सामान्य जीवनशैली सुधार अभ्यास गराउने र जडिबुटीका औषधिले लागेको रोग पत्ता लगाई कम साइड इफेक्टमा उपचार गर्ने भएकाले आयुर्वेदको आवश्यकता आजको दिनमा भएको छ ।

घरको भान्सामै छ, आयुर्वेद औषधि । यो रैथाने पद्धति हो । नेपाली माटो, रगत, आयु व्यक्तिलाई सुहाउने पद्धति हो आयुर्वेद ।

आयुर्वेदलाई जीवन पद्धतिसँग ढाल्ने के त्यस्ता आयामहरु छन् ?

 रोग आफैं लाग्दैन । हामी के खान्छौं र हाम्रो दिनचर्या कस्तो छ । त्यस हिसाबले हाम्रो शरीर चल्छ । गलत खानपान र गलत उठबसले रोग लाग्छ । आजभोलि रोगले मानिसलाई गाल्दै लैजानुको कारण हो खराब जीवनशैली । यही खराबशैलीबाट गुणस्तरको जीवन बनाउने काम आयुर्वेदले गर्छ । किनभने आयुर्वेदमा कस्ता खानेकुरा खाने ? कसरी बस्ने ? कति बजे उठ्ने र सुत्ने ? कुन मौसममा कस्तो खान्की ? राति सुत्ने ओछ्यान कस्तो हुनुपर्छ ? दिमागलाई र शरीरलाई कसरी स्वस्थ र तन्दुरुस्त राख्ने ? यी सबै पक्ष उल्लेखित छ । जसकारण आयुर्वेदलाई जीवन पद्धति पनि भनिन्छ ।

कुनै रोग लागेमा एक्सरे र एमआरआईबाट परीक्षण गरिन्छ । आयुर्वेदमा कसरी रोगको निदान हुन्छ ?

आयुर्वेदमा आफ्नै उपचार पद्धतिहरु छन् । आयुर्वेदमा त्रि–दोष अर्थात् वात, पित र कफको अवस्था हेरेर, नाडीबाट शरीरको अवस्था र स्तर हेरेर उपचार गरिन्छ ।  कहिलेकाहीं व्यक्तिको प्रकृति, अनुहारको रङ, छालाको अवस्था, फुस्रो, चिल्लोबाट र लक्षणको आधारमा पनि कैयौं रोग पत्ता लगाइन्छ ।

धेरै विज्ञ आयुर्वेद छन् भने हेरेर मात्र पनि रोग पत्ता लगाउन सक्छन् । यी रैथाने पद्धति मात्र प्रयोग नगरेर एलोप्याथिकको पद्धतिको प्याथोलोजी पनि प्रयोग गर्दै आएका छन् । रगत, दिसापिसाब र खकारको प्याथोलोजिकल परीक्षण पनि हुने गर्छ ।

आयुर्वेदको के कस्ता उपचार गर्न सक्छ ? आकस्मिक समस्यामा आयुर्वेदले उपचार गर्न सक्छ ?

रोग दुई प्रकारको हुन्छ । एउटा संक्रामक, अर्को दीर्घरोग । यी दुवै अवस्थामा आयुर्वेदको उपचारले काम गर्न सक्छ । यसको लाभ खानेबित्तिकै नभई बिस्तारै शरीरले ग्रहण गर्ने हुँदा आयुर्वेदको उपचार सुस्त तर नतिजा राम्रो दिन्छ । उपचारमा औषधिको मात्र प्रयोग गरिंदैन । आयुर्वेदसँग योग र प्राकृतिक चिकित्सालाई समायोजन गरी उपचार गरिन्छ । जस्तै, योग, ध्यान, गहिरो सास फेर्न टेक्निक र मसाज समावेश गर्ने उपचारहरूले मानसिक रोग निको पार्न सक्छ ।

आयुर्वेदिक उपचारको साइड इफेक्ट कम हुन्छ । रोगको मात्र नभई जीवनशैली नै सही ढंगले कसरी लैजाने भनेर पनि सिकाउँछ । सुस्त गतिमा नतिजा दिने हुँदा रोगको कारणले आएको आकस्मिक हृदयघात जस्तो अवस्था र दुर्घटनाले आइपर्ने आकस्मिक अवस्थामा एलोप्याथिक उपचार नै गराउनुपर्छ ।

त्यसो भए एलोप्याथिक औषधि चटक्कै छाडेर दीर्घरोगका बिरामीले आयुर्वेद औषधि लिन सक्छन् ?

दीर्घरोगका बिरामीले कुनै पनि औषधि चटक्क छाड्न हुँदैन । एलोपेथिक औषधि र आयुर्वेद औषधिसँगै खान मिल्छ । आयुर्वेदको विज्ञको परामर्शमा अवस्था हेरेर जीवनशैलीमा समग्र आयुर्वेद उपचारको गहिरो जीवनशैलीमा प्रभाव पारेपछि छोड्न सकिन्छ ।

खोज वा अभ्यासको हिसाबले आयुर्वेद चाहि एलोपेथिकभन्दा अगाडि थियो भनिन्छ । तर अहिले आयुर्वेदिक उपचारलाई किन वैकल्पिक मात्र मानिन्छ ?

आयुर्वेद उत्पत्ति भएको पूर्वीय भूमिमा हो । जडीबुटी यहीं छन् । उपचारमा प्रभावकारिता छ । तर पनि यो ओझेलमा छ । कारण आफ्नो मूलमा भूल पर्‍यो, पहिलो रोजाइमा आयुर्वेद पर्न सकेन । जसकारण पुँजी रहेको यो विधा विदेशीले लगे । उनीहरुले आयुर्वेदलाई  ‘आयुर्वेदा’ र योगलाई ‘योगा’बनाएर छाइरहेका छन् । बलियो जग बसाल्न नसक्नुका धेरै कारण छन् ।

अहिलेको जिन्दगी हतारको छ । हरेक कुरामा हतारको परिणाम खोज्छन् । उपचारको हकमा पनि त्यही छ । तुरुन्त उपचारको नतिजा चाहिन्छ । औषधि पनि यस्तो चाहिएको छ कि अहिले खायो अहिले निको होस् । जसकारण पनि साइड-इफेक्ट कम हुँदाहुँदै पनि एलोपेथिक उपचारमा नै प्राय: विश्वास गर्छन् ।

ऋषिमुनिहरुले आफ्नो जीवनको प्रयोगशालामा प्रयोग गरेर पद्धति बनाइएको हुँदा यो प्रभावकारी र वैज्ञानिक भए पनि पछाडि छ ।

अर्को पाटो भनेको आयुर्वेद शिक्षामा पछाडि छौं । हजारौं वर्ष अघिको आयुर्वेद हो । तर विडम्बना यसको शिक्षालय खुलेको सय वर्ष पनि नाघेको छैन । यसमा जति अध्ययन गरिनुपर्ने हो, त्यति भएको छैन । आयुर्वेदको पठनपाठन गराउने विद्यालय कम छन्, जनशक्ति छैनन् । अनुसन्धानकै कुरा गर्ने हो भने आयुर्वेदमा मात्र होइन अन्य विधामा पनि कम छन् । तर पश्चिमी मुलुकमा भने आयुर्वेदबारे अध्ययन मात्र होइन, अभ्यास पनि भएका छन् । उदाहरणका लागि हेर्ने हो भने घर भान्छामा तरकारीको लागि प्रयोग हुने बेसार विदेशमा औषधि ‘टरमरिक टोनिक’ टयाब्लेटको रुपमा बेचिएका छन् ।

आयुर्वेदको उपचार पद्धतिमा पञ्चकर्म, क्षारसूत्र, प्राण चिकित्सा, कल्प चिकित्सामा त्यत्तिकै खोज अनुसन्धान भएको छ । तर यसबारे चासो त्यति नहुँदा पुरानो र प्रभावकारी भएर पनि यो विधा ओझेलमा छ ।

आयुर्वेद पद्धतिलाई सरकारले पनि ओझेलमा पारेको हो ?

सरकारले आयुर्वेदलाई हेरेको छ । तर जति मात्रामा अरु पद्धतिलाई हेरेको छ,  त्यति सक्रिय ढंगले हेरेको छैन । त्यसो त अहिले सबैजसो जिल्लामा आयुर्वेद अस्पताल खुलेका छन् । तर त्यहाँ घुइँचो कम छ । मन्त्रालयमा पनि आयुर्वेदको नीति निर्माणमा कमै चर्चा हुन्छ । सिंहदरबार वैद्य खाना विश्वकै सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने औषधालय हो । पुरानो नरदेवी आयुर्वेद अस्पताल छ, जसले पाउनुपर्ने जति प्राथमिकता पाएको छैन ।

आयुर्वेदलाई अघि बढाउन पहलहरु भइरहेका छन् । जसकारण योगमाया विश्वविद्यालय जस्ता नयाँ विश्वविद्यालय खुल्दैछन् । त्रिभुवन विश्वविद्यालयमा पनि यसको अध्ययन भइरहेको छ । बिस्तारै आयुर्वेदले पनि एउटा स्थान पाउँछ भन्ने आशा जागेको छ ।

फरक विशेषता बोकेको यो उपचार पद्धतिलाई समेत अन्य उपचार पद्धति जस्तै प्रचारप्रसार र बिस्तार गर्ने हो भने स्वास्थ्य सेवाका लागि प्रचुर सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्