जुनार : राजमार्गको रसिलो कोसेली

सिन्धुली-बर्दिबास हुँदै यात्रा गर्नेहरुलाई यो रसिलो, सजिलो र छरितो कोसेली भएको छ । त्यसैले त ओहोरदोहोरको क्रममा उनीहरु दुई-चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् ।

सम्वादाता | २०८० फागुन ११ गते ०५: ०० मा प्रकाशित
काठमाडौं । बीपी राजमार्ग हुँदै आउजाउ गर्नेलार्ई सोध्नै पर्दैन, कोसेली के छ ? किनभने उनीहरुको झोलामा जुनार त हुन्छ नै ।

चाहे चाडपर्वमा मूल घर जाँदा होस् वा घरबाट कार्यथलो फर्कंदा । वा कामकाजले कतै जाँदा होस्, या त कतैबाट आउँदा होस् । कोसेलीको रुपमा जुनार बोक्ने चलन व्यापक हुँदै गएको छ ।

सिन्धुली-बर्दिबास हुँदै यात्रा गर्नेहरुलाई यो रसिलो, सजिलो र छरितो कोसेली भएको छ । त्यसैले त ओहोरदोहोरको क्रममा उनीहरु दुई-चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् ।

जुनार भन्नासाथ सिन्धुलीको नाम जोडिन्छ । जसरी पेंडाको नाम लिनासाथ बरमझिया जोडिन्छ, जसरी स्याउको नाम लिनासाथ मुस्ताङ जोडिन्छ । जसरी चियाको नाम लिनासाथ इलाम जोडिन्छ । पछिल्लो समय बरमझियाको पेडा झैं सिन्धुलीको जुनारले राजमार्गका यात्रुलाई लोभ्याउन थालेको छ । नतिजा, यो नागबेली राजमार्ग जुनारै-जुनारले हराभरा भएको छ । हरेकजसो बिसौनीमा जुनारको मेला नै लाग्ने गरेको छ ।

२००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गर्न थाले । सोही अन्तर्गत सिन्धुलीको चिसापानी जुनार उत्पादनका उपयोगी मानियो ।

अहिले सिन्धुली र जुनार एकअर्काको पर्याय भएको छ । जुनार भन्नासाथ धेरैले सिन्धुली सम्झिन्छन् र सिन्धुली सम्झनासाथ धेरैले जुनारकै कुरा गर्न थाल्छन् । सिन्धुलीको जुनार जसरी ब्रान्डिङ भइरहेको छ, त्यही अनुपातमा यसको उत्पादन पनि बढ्दो छ ।

यस वर्ष मात्र सिन्धुलीमा ९ हजार ९ सय मेट्रिक टन जुनार उत्पादन भएको तथ्यांक छ । जुनारको मुख्य सिजन मंसिरदेखि सुरु भएर फागुनसम्म रहन्छ । बजारमा अहिले जुनारको सरदर मूल्य १२० रुपैयाँदेखि १५० रुपैयाँ प्रतिकेजीसम्म छ ।

असली जुनारको स्वाद

‘उही असली बाजेको पेंडा’ भने झैं स्वादका पारखीहरुले पनि जुनारको असली स्वाद खोज्न थालेका छन् । अहिले बजारमा अन्यत्रबाट जुनार ल्याउने भए पनि ‘सिन्धुलीको जुनार’ भनी बिक्री गरिन्छ ।

जुनार सुन्तला प्रजातिकै फल हो । यद्यपि चाख्नेहरुलाई थाहा छ, सुन्तला जस्तो देखिए पनि यसको स्वाद केही फरक छ । यसमा मन्द गुलियो र आंशिक अमिलो स्वादको मिश्रण छ ।

यसै सिलसिलामा हालै मात्र काठमाडौंमा सिन्धुलीको असली जुनारको स्वाद चखाउने हेतुले मेला आयोजना गरिएको थियो । रैथाने र ग्रीन ग्रोथको सहकार्यमा आयोजित मेलामा सिन्धुलीको जुनार र त्यसबाट बन्ने विभिन्न पेय एवं परिकार राखिएको थियो । मेलामा जुनारबाट बन्ने विभिन्न दश किसिमको परिकार उपलब्ध थियो । जस्तो कि, साँधेको जुनार, जुनार केक, जुनार जेली, जुनार जुस । सिन्धुलीको जुनारलाई बजार प्रवर्द्धन गर्न र पारखीलाई असली स्वाद चखाउनका लागि मेलाको मेलोमेसो मिलाइएको ग्रीन ग्रोथका सौरभ ढकालले बताए ।

के पाइन्छ जुनारमा ?

पोटासियम र भिटामिटी सीको राम्रो स्रोत हो जुनार । पोटासियम र भिटामिन सी मुटुको लागि लाभदायक पोषक तत्व हुन् । साथै भिटामिन सीले खराब कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्