एउटा फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगञ्जको तनाव

सोही फेसबुक स्टाटसबाट बढेको तनाव बढ्दै जाँदा मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडप र कर्फ्यू लाग्ने स्थितिमा आइपुगेको छ ।

सम्वादाता | २०८० असोज १६ गते १६: १४ मा प्रकाशित

नेपालगन्ज– सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने नेपालगञ्जमा उत्पन्न धार्मिक तनावले सिकाएको छ । सामाजिक सञ्जालमा लेखिएको जथाभावी टिप्पणीले बाँकेमा हिन्दू र मुस्लिम समुदाय आमने–सामने भएका छन् । जुनसुकै बेला दंगा भड्किने खतरा उत्पन्न भएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरभित्र अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

तनावको निहुँ ठूलो छैन । ११ असोजमा मुस्लिम समुदाय मोहम्मद डेमा रमाइरहेको थियो । बाँके नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको निन्दा गर्दै सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेखे । कलुवा नामको फेसबुक आइडीबाट सो टिप्पणी लेखिएको थियो । न धेरै फलोअर्स थिए, न त लेख्ने व्यक्तिकै परिचय राम्ररी खुलेको थियो । तर, धार्मिक निन्दा गरिएको त्यो टिप्पणीबाट मुस्लिम समुदाय तरंगित हुनपुग्यो ।

 

सोही फेसबुक स्टाटसबाट बढेको तनाव बढ्दै जाँदा मंगलबार नेपालगञ्जमा दुई समुदायबीच झडप र कर्फ्यू लाग्ने स्थितिमा आइपुगेको छ । दुई समुदायलाई आमनेसामने ल्याउन नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सराफत खानको मुख्य भूमिका देखिएको प्रहरी स्रोत बताउँछ ।

जथाभावी स्टाटसविरुद्ध खानको नेतृत्वमा १४ असोजमा एउटा पक्षले नेपालगञ्जमा प्रदर्शन गर्यो । सो पक्षले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायप्रति उग्र नाराबाजी गर्ने र जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडेपछि अर्को पक्ष बिरोधमा उत्रियो । यसैबीचमा खजुराखुर्दका युवाहरूले टिकटकमा हिन्दू समुदायप्रति गालीगलौंच गरेका भिडियो भाइरल भइसकेका थिए ।

जसपाबाट निर्वाचित वडाध्यक्ष खान स्वयं अर्को समुदायविरुद्ध उत्तेजना फैलाउनेगरी अभिव्यक्ति दिएपछि नेपालगञ्जमा योजनाबद्ध विरोध प्रदर्शनको तयारी हुन थाल्यो । सो घटनाबारे जसपाको आधिकारिक धारणा मागियो । वडाध्यक्ष खानले माफी माग्नुपर्ने अडान अर्को पक्षको रह्यो । तर, त्यसका लागि उनी तयार भएनन् ।

यी घटनाक्रमले उत्पन्न तनावबीच ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आव्हान गर्यो । ‘शान्तिपूर्ण’ र्याली निकाल्ने जानकारी स्थानीय प्रशासनलाई गराइयो । भिन्न समुदायबीच एकपछि अर्को प्रदर्शनले नगरको शान्तिसुरक्षा खल्बलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलायो ।

सो बैठकले सामाजिक तथा धार्मिक सद्भाव र्याली निकाल्ने निर्णय त गर्यो तर ओमकार परिवारको नेपालगञ्ज बन्द र प्रदर्शन रोक्न सकेन । मंगलबार बिहान नेपालगञ्जमा निकालिएको सद्भाव र्यालीमा केही धार्मिक अगुवा, राजनीतिक कार्यकर्ता, उद्योगी व्यवसायी सहभागी भए पनि उल्लेख्य सहभागिता भने देखिएन । दुई पक्षले भित्रभित्रै प्रदर्शन र प्रतिवादको तयारी गरिरहेको बुझ्न गाह्रो भएन

 

बागेश्वरी मन्दिर पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझीहुँदै वीपीचोक पुग्दासम्म शान्त नै थियो । जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग हुनपुग्यो । त्यसले दुई पक्षबीच झडपको स्थिति आयो । वीपीचोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जन पटक हवाई फायर गरेको थियो ।

सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते पनि भएका छन् । घाइतेको नेपालगञ्जका अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ । ‘बहुधार्मिक, बहुसांस्कृतिक शहरका आफ्नै संवेदनशिलता हुन्छन् । जनप्रतिनिधिले विवाद वा तनाव बढाउने हैन, संयम र धैर्यतापूर्वक शान्ति कायम गर्न लाग्नुपर्छ,’ नेपालगञ्जका मेयर प्रशान्त विष्ट भन्छन्, ‘हामी तनाव बढ्न नदिन पर्यत्न गरिरहेका छौं । दंगाफसाद गराएर कसैलाई फाइदा छैन भन्ने सबैले बुझ्नुपर्छ ।’

फेसबुक स्टाटसको विवाद धार्मिक तनावसम्म पुग्नुमा स्थानीय प्रशासनको कमजोरी मुख्य देखिएको छ । धार्मिक र साम्प्रदायिक प्रदर्शनलाई निषेधाज्ञा लगाएर रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दियो । त्यसले एकपछि अर्को प्रदर्शनलाई निम्त्यायो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले स्थितिलाई सम्हाल्नेगरी परिपक्वता देखाउन नसक्दा प्रहरी प्रशासन मुकदर्शनजस्तो बन्न पुग्यो ।

उनी भने अमुक व्यक्तिले केही लेख्दैमा उत्तेजित भएर प्रदर्शनमा उत्रिनु दुर्भाग्यपूर्ण रहेको बताउँछन् । ‘कलुवाको स्टाटसको नाममा यो विवाद निस्कियो । उ सार्वजनिक व्यक्ति हैन । तर, त्यसले उत्तेजता फैलायो । प्रशासनले छानबिन गरिरहेको छ’, प्रजिअ आचार्यले भने, ‘अहिले जे तनाव उत्पन्न भएको छ, यसलाई रोक्न र समाजलाई शान्तिपूर्ण बाटोमा फर्काउन सामुदायिक अगुवा, धार्मिक गुरुहरू, मिडिया र सिंगो बाँकवासी लाग्नुपर्छ ।’ (साभार : शिलापत्र)

 

प्रतिक्रिया दिनुहोस्