सार्वजनिक जग्गा अतिक्रमण बढिरहेको बेला ५ करोडको जग्गा वीरगन्ज महानगरलाई दान

वीरगन्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गर्नुभएको छ ।

सम्वादाता | २०८० जेठ ३० गते १६: ३९ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्वर ८ का प्रेम कुमार टिबडेवालले २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गर्नुभएको छ । वीरगञ्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले महानरलाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गर्नुभएको हो । जिल्ला मालपोत कार्यालय पर्सामा आज रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

मालपोतमा लाग्ने लाभकरसमेत आफैंले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गर्नुभएको हो । जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर सार्वजनिक प्रयोगका लागि आफूहरुले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताउनुभयो ।

विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस भन्ने आफूहरुको धारणा रहेको पनि उहाँले बताउनुभयो । हामीले त यो जग्गा पब्लिक प्रयोगकै लागि राख्ने भनेर पहिलेदेखि मन्दिर बनाएर छाडेका थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई अझै व्यवस्थित बनोस भनेर अहिले महानगरलाई हस्तान्तरण गरेका हौँ ।’

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनि पुर्जा ग्रहण गर्नुहुँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताउनुभयो । वडा नम्वर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा मंगलबार जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन गरेर हस्तान्तरण गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्