वीरगन्ज महानगरमा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू

सम्वादाता | २०७९ पौष १४ गते ०८: ५८ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू गरेको छ ।
बुधबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले सेवा सुरु गराएका हुन् । उनले यो सेवा प्रभावकारी ढंगले सबैको पहुँचमा पुग्ने गरी लैजान स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै मेयर सिंहले हेलचेक्र्याइ गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिए ।
महानगरभित्रका हरेक स्वास्थ्य चौकीमा ‘सायना प्रेस’ पुगिसकेको भन्दै सेवाग्राहीलाई सहजताका साथ यसको प्रयोग गराउन महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले आग्रह गरे ।
महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा महानगरका सबै स्वास्थ्यचौकी र केन्द्रबाट प्रदान गरिने उनले बताए ।
सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने छ ।
विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको भए पनि नेपालमा भने सुई आफैं लगाउन अनुमति दिइएको छैन ।
यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उनले बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ‘साइना प्रेस’ लगाउने बारेमा प्रशिक्षण दिइएको हो ।
गएको साउन महिनादेखि नै ‘साइना प्रेस’ सुरु गर्नु पर्ने भए पनि स्वास्थ्यकर्मीहरु प्रशिक्षित नहुँदा लागु गराउन सकिएको थिएन । जिल्ला स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएसँगै बिहीबारबाट महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकी र केन्द्रमा यो सेवा सुरु हुने महानगरको स्वास्थ्य शाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् ।
‘स्वास्थ्यकर्मी प्रशिक्षित नहुँदा केही ढिला गरी यो सुरु भएको छ,’ उनले भनिन्, ‘अब बिहीबारदेखि ३२ वटै वडामा अस्थायी परिवार नियोजनको लागि आउने महिलाले यो सेवा लिन सक्नेछन् ।’

 

प्रतिक्रिया दिनुहोस्