मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलद्वारा प्रतिवेदन पेश

नियन्त्रण सिफारिस कार्यदल डा.भीष्मकुमार भुसाल प्रतिवेदन पेश गर्नु भएको छ

सम्वादाता | २०७९ भदौ २७ गते २२: १३ मा प्रकाशित

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र गृहमन्त्री बालकृष्ण खाणको निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । 

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष  समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वार्ता समेत गरेको थियो । 

देशैभरी मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण  विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न कार्यदलले सार्वजनिक सूचना जारी जारी गरेको थियो । हाल देशभरबाट गरी २२८९ उजुरीहरू जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । 

भदौ २६ गतेसम्म ती उजुरीमध्ये ५९ वटा फरफारक भइसकेका छन् । सातवटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य सात वटामा प्रहरीद्वारा अनुसन्धान भइरहेको बताईएको छ । मिटरब्याजी विरुद्ध उजुरी दर्ता गर्ने कार्यलाई निरन्तरता दिँदै उजुरीउपर छानबिन गर्ने प्रकृयालाई सम्बन्धित स्थानीय प्रशासनले तीव्रता दिएको छ।

कार्यदलले सबै प्रदेश र विभिन्न जिल्लामा पुगी पीडितहरु, स्थानीय जनप्रतिनिधिहरू, बैङ्क, वित्तीय संस्था तथा सहकारीका प्रतिनिधिहरू, सञ्चारकर्मी र स्थानीय प्रशासनसँग छलफल तथा अन्तरक्रिया समेत गरेको थियो । कार्यदलले काठमाडौंमा समेत सञ्चारकर्मीसँग छलफल  तथा अन्तरक्रिया गरेको थियो।

प्रतिवेदन बुझाएसँगै कार्यदलको कार्यकाल समाप्त भएको छ । प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम स्थानीय प्रशासनले उजुरी उपर छानबिन प्रकृयालाई निरन्तरता समेत दिनेछ। 

 

प्रतिक्रिया दिनुहोस्