संस्कृत विद्यालयको स्तरोन्नती कार्य अगाडि बढ्यो

संस्कृत विद्यालय स्थापन भएको झन्डै ५० वर्षपछि कोष सञ्चालक परिषद सदस्य जैनकै सक्रियतामा २ करोड २५ लाख रुपैयाँ बराबरको स्तरोन्नती कार्य अगाडि बढेको बताइएको छ । 

सम्वादाता | २०७९ असार १८ गते १३: २६ मा प्रकाशित

काठमाडौँ– पशुपति क्षेत्र विकास कोष अन्तर्गतको नेपाल वेद विद्याश्रमको स्तरोन्नती कार्य अगाडि बढेको छ । करिब दुई करोड २५ लाख रुपैयाँको लागतमा वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा भान्साघर, शौचालय तथा स्नानघर, कार्यालय सञ्चालनको लागि थप भवनको बुधबार शिलान्यास भएको हो । वेद विद्याश्रमको स्तरोन्नती गर्दै संस्कृत ज्ञान प्रति आकर्षित गराउन कोष सहित व्यवस्थापन पक्ष सक्रिय रहेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद सदस्य तथा नेपाल वेद विद्याश्रम (विद्यालय) व्यवस्थापन समितिका अध्यक्ष विश्वकरण जैनले बताएका छन् । संस्कृत विद्यालय स्थापन भएको झन्डै ५० वर्षपछि कोष सञ्चालक परिषद सदस्य जैनकै सक्रियतामा २ करोड २५ लाख रुपैयाँ बराबरको स्तरोन्नती कार्य अगाडि बढेको बताइएको छ । 

संस्कृत विद्यालयको ऐतिहासिक पृष्ठभूमि नेपाल विभिन्न प्राचीन सभ्यताहरुको उद्गम भूमि हो । यहाको नदी, पर्वत, गुहा, वन आदि हाम्रो सभ्यताका साक्षी छन् । यस भूमिका नदी, पर्वत, गुहा, कन्दराका नाम समेत देवी देवताका नाममा छन् । यहाँ अनेकौ ऋषि महर्षिहरुले तप गरेका र देवताहरुले वास गरेका धाम तथा उनीहरुले विचरण गरेका तीर्थहरु छन् । यही भूमिमा वेदका ऋचाहरु प्रकट भए । यहाँ स्मृति तथा नीति ग्रन्थहरु रचिए । यस्तो भूमिमा ती गौरवशाली विदाहरुको संरक्षण, अध्ययन, अनुसन्धान, अवलम्बन, प्रसार गर्नु परम दायित्व हो । यस्तौ प्रयासहरुको एउटा उपक्रमको रुपमा नेपाल वेदविद्याश्रमको स्थापना भएको देखिन्छ ।  वि.सं. २०२६ सालमा श्री पशुपतिनाथ मन्दिर नजिकै, पशुपति वनकाली क्षेत्रमा रहेको देवोद्यानमा नेपाल वेदविद्याश्रम स्थापना भएको हो ।

गुरुकुल शिक्षाका माध्यमबाट वैदिक परम्परा एवं सनातन धर्म संस्कृतिको जगेना गर्दै निष्ठावान दक्ष जनशक्ति उत्पादन गर्ने यसको स्थापनाकालीन उद्देश्य हो । पौरस्त्य दर्शनको अध्ययन, अध्यापन एवं अनुसन्धान हुने नमुना विद्यालयको अवधारणाका साथ यस विद्यालयको स्थापना भएको हो । विद्धानहरुको परामर्श अनुरुप तत्कालिन राजा महेन्द्रबाट विद्यालयको शिलान्यास भएको यस विद्यालयलाई औपचारिक शिक्षालयमा रुपान्तरण गरी वि.सं. २०३१ मा गुठी संस्थानलाई यसको सञ्चालनको जिम्मेवारी दिइएको थियो । २०४३ सालमा पशुपति क्षेत्र विकास कोषको स्थापना विद्यालय परिसरमै भएपछि यस विद्यालयको सञ्चालनमा पशुपति क्षेत्र विकास कोषको संलग्नता रहनु स्वाभाविकै थियो । केही समय विश्वहिन्दु महासंघबाट पनि यसको सञ्चालन भएको थियो ।

यसको स्थायित्व तथा स्थापनाकालीन उद्देश्य, स्रोतको सुनिश्चितता आदिका कारण २०५६ साउनदेखि विद्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पशुपति क्षेत्र विकास कोषले वहन गर्दै आएको छ ।  २७ जना आवासीय छात्र र ७ जना गुरुहरुबाट आरम्भ गरिएको विद्यालयमा हाल ३३ जना शिक्षक कर्मचारी सेवारत छन् भने १९७ जना विद्यार्थी अध्यन गरिरहेका छन् । जसमा १०८ संख्याको आवासीय सुविधा उपलब्ध छ । विद्यालय सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषबाट पर्याप्त बजेट विनियोजन हुँदै आएको छ । राष्ट्रिय तथा स्थानीय स्तरमा सम्पन्न हुने संस्कृत र नेपाली भाषाका कविता रचना तथा वाचन, वक्तृत्व, निबन्ध लेखन आदि प्रतियोगिताहरुमा यहाँका विद्यार्थीहरु उत्कृष्ट हँुदै आएका छन् । नियम, निष्ठा र अनुशासनका क्षेत्र विद्यालयका विद्यार्थीहरु अब्बल छन् । यहाँबाट शिक्षित विद्यार्थीहरुले विभिन्न माध्यमबाट वैदिक सनातन धर्मसंस्कृतिको संरक्षणको अभिभारा वहन गर्दै आएका छन् । उनीहरुबाट हाम्रो नेपाल भुमिमा विकसित उत्कृष्ट प्राचीन परम्परा एवं संस्कृत शिक्षाको विकासका निम्ति योगदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्