आज बाल श्रम विरुद्धको दिवस , विश्वभर मनाइँदै

बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

सम्वादाता | २०७९ जेठ २९ गते १३: १३ मा प्रकाशित

वीरगञ्ज २९ जेठ : आज बाल श्रम विरुद्धको दिवस विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्य अवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ । जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ । कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइ एल ओ महासन्धि र निकृष्ट प्रकारको बाल श्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ । बाल श्रम रोक्न प्रयास भइरहे पनि त्यो पर्याप्त देखिएको छैन । अहिले पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्