शिक्षा पेशाबाट आएका अध्यक्ष तिवारीेले दिए शिक्षा क्षेत्रमा विशेष जोड, भयो चार कोठे भवनको शिलान्यस

बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष तिवारीले शिक्षा ,स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुगाएकाले शिक्षा क्षेत्रमा फड्को मार्ने बताए ।

सम्वादाता | २०७९ जेठ २६ गते १७: ५९ मा प्रकाशित

वीरगन्ज - शिक्षा पेशाबाट आएका बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीेले शिक्षा क्षेत्रमा बढि जोड दिएका छन् । पदग्रहण गरेलगत्तै अध्यक्ष तिवारीेले पालिका अन्तर्गत रहेका विद्यालयहरुको अनुगमन गरेका थिए । विद्यालयमा दिवा खाजा देखि विद्यालयको मर्मत सम्भार तथा नया भवन निर्माणमा विशेष प्राथमिकता साथ सो कार्य अगाडि बढाएका हुन् । आज बिहीबार अध्यक्ष तिवारीले राधा कृष्ण माध्यमिक विद्यालय बहुवर्वा भाठ्ठामा भवन निर्माणका लागि शिलान्यास गरेका छन् । गाउँपालिकाका –२ को राधा कृष्ण माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यस एक कार्यक्रमका बीच उनले गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष तिवारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्यमा विशेष ध्यान पुगाएकाले शिक्षा क्षेत्रमा फड्को मार्ने बताए । गाउँपालिकाका अध्यक्ष तिवारीले राधा कृष्ण माध्यमिक विद्यालयको भवन बनाई विद्यालयको पठन पाठनमा पूर्ण रूपले सुधार गर्ने बताए । विकास गर्न आएकाले म सबै क्षेत्रलाई समेटेर अगाडि बढने छु । पालिकाभित्र रहेका माविहरुलाई स्तरोन्नति गर्दै लैजाने छु ।’ गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने उनले बताए । अध्यक्ष तिवारीले पहिलाको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गरेका थिए ।
पालिकाभित्र केही कमजोरी भए आफूलाई सरसल्लाह सुझाव दिन उनले अनुरोध गरेका थिए । राम्रो कामको प्रशंसा गर्नुको साट्टो गलत प्रचारवाजी गर्न केही तत्वहरु सक्रिय भएकाले सर्वसाधारणहरुलाई सचेत रहनसमेत उनले उद्घोष गरेका हुन । विकासको गतिविधिले गाउँपालिकाको मुहार फेरिने उनले ठोकुवा गर्दै शिक्षा क्षेत्रमा पनि ठूलो परिर्वतन ल्याउने दावी समेत अध्यक्ष तिवारीले गरे । अंग्रेजी भाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने गरेकाले सानो कक्षादेखि नै सिक्न र सिकाउन जरुरी रहेको उनले बताए ।’
गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरेका थिए । सकारात्मक सोचको विकासबाट नै समाजको उन्नित र प्रगति हुन सक्ने भएको हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा अधिकृत साहले जोड दिएका थिए । चार कोठे भवन निर्माण कार्यमा सरोकारवालाहरुले चासो देखाउनुपर्ने उनले बताए ।
चार कोठे भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम विनयोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । उक्त रकम विद्यालयको खातामा पठाई विद्यालय मार्फत निर्माण काम हुने अधिकृत साहले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी ,उपाध्यक्ष ज्योति चौरसिया , वडा अध्यक्ष मुक्ति पटेल , प्रमुख प्रशासकीय अधिकृत राजु साह, लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , इन्जिनियर नगेन्द्र कुशवाहा , प्रधानाध्यापक सरोज चौहान लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्