आफ्नै कार्यसमितिबाट टाढिँदै संघका अध्यक्ष गुप्ता

वीरगन्ज उद्योग वाणिज्य संघका १५ जना कार्यसमिति सदस्यले बैठकको माग गर्दै कार्यालयमा दर्ता गराए निवेदन

सम्वादाता | २०७९ पौष १३ गते ०९: ४६ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता आफ्नै कार्यसमितिबाट टाढिदै गएको पाइएको छ । लामो समयदेखि संघको कार्यसमिति बैठक बस्न सकेको छैन् । गत आइतबार संघका १५ जना कार्यसमिति सदस्यले भदौ देखि बैठक नबसेको हुनाले तत्काल बैठकको माग राख्दै लिखित निवेदन नै दर्ता गराएका छन् ।

बैठक बस्न नसक्दा सिंगापुर र भियतनाम भ्रमणमा कति खर्च भयो भन्ने यकिन विवरण समेत कार्यसमिति सदस्यहरुलाई जानकारी छैन् । छोरा, छोरी, श्रीमती लिएर अध्यक्ष गुप्ता नेतृत्वको टोली कात्तिकमा सिंगापुर र भियतनाम भ्रमणमा गएका थिए ।  

भदौ ११ गते संघको पछिल्लो बैठक बसेको निवेदनमा उल्लेख छ । संघको विधान अनुसार दुई महिना पछि अगामी फागुनमा अध्यक्ष गुप्ताको २ वर्षे कार्यकाल समाप्त हुँदै छ । विधान अनुसार नै फागुनमा साधारण सभा समेत गर्नुपर्ने हुन्छ । १५ जना कार्यसमिति सदस्यले फागुनमा साधारण सभाको मिति तयको माग समेत निवेदनमा गरेका छन् । 

‘अगामी फागुनमा अध्यक्ष गुप्ताको २ वर्षे कार्यकाल सकिदैँ छ,’ संघका एक पदाधिकारी भन्छन्, ‘चैतमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समेत हुँदैछ । केन्द्रको निर्वाचन भन्दा अगाडि नै जिल्लाको निर्वाचन हुँदै आएको छ । तर, अध्यक्ष गुप्ताले केन्द्रको निर्वाचनमा आफ्नो ‘बार्गेनिङ पावर’ बढाउन जिल्लाको अधिवेशन बैशाख पछि गर्ने मनस्थितीमा रहेका छन् ।

’ स्रोतका अनुसार संघको कार्यालयमा निवेदन दर्ता गराएपछि अध्यक्ष गुप्ताले निवेदन दर्ता गराउने सदस्यहरुसंग ‘वन टु वन’ वार्ता गरिरहेका छन् । २५ गते कार्यसमिति बैठक आह्वान गर्न मौखिक रुपले आश्वासन दिएका छन् । 

वार्तामा अध्यक्षले विगतमा पनि साधारण सभा ३/४ महिना सारिएको तर्क दिने गरेको एकजना सदस्यले बताए । ती सदस्य भन्छन्, विगतमा संघको हितका लागि साधारण सभाको मिति सारिएको थियो, अध्यक्षको हितको लागि हैन् ।

विगतमा संघको साधारण सभा पुषमा हुँदै आएको थियो । ‘संघको साधारण सभामा अर्थमन्त्री, अर्थ सचिव, केन्द्रीय अध्यक्ष लगायतका अतिथीहरुलाई काठमाडौँबाट निम्ता गरि बोलाइन्छ,’ ती सदस्य भन्छन्, ‘पुष महिनामा मधेसमा बाक्लो हुस्सुका कारण धेरै अतिथीहरु आउन सक्नुहुन्थेन्, विहान ८ बजे हुने कार्यक्रम दिउँसो २/३ बजे सुरु हुन्थ्यो ।’ 

कति पटक त प्रमुख अतिथी नआउँदा उहाँको मनतव्य पढेर सुनाउने अवस्था समेत आएको थियो । मौसमका कारण कार्यक्रमको पाहुना नै आउन समस्या हुने भएकाले पुस महिनामा हुँदै आएको साधारण सभा फागुनमा सारिएको थियो । ‘पुषबाट फागुनमा साधारण सभा सार्ने निर्णय संघको हितमा गरिएको थियो,’ संघका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षको बार्गेनिङ पावर बढाउनका लागि सारिएको थिएन् ।’   

प्रतिक्रिया दिनुहोस्