सौदागरले दैनिक हजारौ लिटर चोरीको इन्धन खरिद गर्ने गरेको खुृलासा

पर्सा र वाराका पेट्रोल पम्प व्यवसायीका अनुसार हवाई इन्धन बोक्ने ट्यांक्रबाट सौदागरले आधा मूल्यमा तेल खरिद गरि डिजेलमा मिसाउने गरेको थियो । एउटा ट्यांक्रबाट ५ सय लिटर देखि एक हजार लिटरसम्म इन्धन चोरी गरि खरिद गर्ने गरेको थियो ।

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित बाइपास सडकखण्डमा सञ्चालनमा रहेको सौदागर पेट्रोल पम्पले दैनिक हजारौ लिटर इन्धन अवैध रुपमा खरिद गर्ने गरेको पाइएको छ । ट्यांकर चालकको मिलेमतोमा सौदागर पेट्रोल पम्पका सञ्चालकले आधा मूल्यमा इन्धन खरिद गर्ने गरेको अन्य पेट्रोल पम्पका सञ्चालकले जनाएका छन् ।

बिहीबार सांझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारतीय आयल निगमबाट इन्धन लिएर आइसीपी भन्सार जाचपास गरि काठमाडौ जानुपर्ने ट्यांकरले अनाधिकृत रुपमा सोदागर पेट्रोल पम्पमा बिक्री गर्ने क्रममा नियन्त्रणमा लिएको थियो । ट्यांकरमा जडान भएको सिललाई फलामको पाइपको हुक प्रयोग गरि उचालेर तेल निकालिरहेको अवस्थामा प्रहरीले पेट्रोल पम्पका सञ्चालक, लेखापाल, ट्यांकरका चालक र सहचालक सहित ७ जनालाई पक्राउ गरेको थियो ।

 पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक सुनैन मियाँ, पम्पमा लेखाको काम गर्ने असलम हवारी, क्यासियर रफिक मियाँ, ना।७ख २८०४ नम्बरको ट्यांकरका चालक केशरराम सुनार र सहचालक सन्देश रानामगर, साथै ना।७ख १५३९ नम्बरको ट्यांकरका चालक मन्दसिंह लामा र सहचालक उमेश रानामगर रहेका छन्। प्रहरीले थप अनुन्धान अगाडि बढाएको प्रवक्ता चक्र बहादुर मल्लले जनाएका छन् ।

पर्सा र वाराका पेट्रोल पम्प व्यवसायीका अनुसार हवाई इन्धन बोक्ने ट्यांक्रबाट सौदागरले आधा मूल्यमा तेल खरिद गरि डिजेलमा मिसाउने गरेको थियो । एउटा ट्यांक्रबाट ५ सय लिटर देखि एक हजार लिटरसम्म इन्धन चोरी गरि खरिद गर्ने गरेको थियो । सौदागरका सञ्चालकसंग आफ्नै ८ वटा ट्यांकर रहेका छन् । ती ट्यांकरबाट समेत चारी गर्ने गरेका थिए ।

छपकैया निवासी सुनैन मियाले करिब ७ वर्ष अगाडि सौदागर पेट्रोल पम्प खरिद गरेका थिए । त्यसअघि उनी ब्याट्री खरिद बिक्री गर्ने गर्थे । सौदागर पेट्रोल पम्पसंगै पर्सा र बाराका अन्य ४ वटा पेट्रोल पम्पले चोरीको तेल खरिद गर्ने गरेका छन् । तेल चोरी प्रकरणमा निगमका कर्मचारीको समेत मिलेमतो हुने गरेको स्रोतको दाबी छ ।  

प्रतिक्रिया दिनुहोस्