वीरगन्ज उद्योग वाणिज्य संघले सभा हलमा प्रयोग गरेको बिजुलीको तारको ५ लाख किन गरेन भुक्तानी ?

संघको पदाधिकारी बैठकमा हल मर्मत सम्भार गर्ने ठेकेदार मिराज आलमले बदमाशी गरेको भन्दै उनलाई हटाउने सहमति समेत गरिएको थियो । तर, संघका अध्यक्ष सुबोध गुप्ताले पोखरिया अस्पतालको काम समेत त्यही ठेकेदारलाई जिम्मा लगाएका थिए ।

सम्वादाता | २०७९ मंसिर ९ गते १४: ५५ मा प्रकाशित

वीरगन्ज – बिर्तामा रहेको वीरगन्ज उद्योग वाणिज्य संघको भवनमा रहेको पुरानो सभा हललाई अहिले मर्मत सम्भार गरि आधुनिक बनाइएको छ । त्यसका लागि झन्डै १ करोड १५ लाख रुपैयाँ खर्च गरिएको छ । सभा हल मर्मत सम्भारमा अपारदर्शी हिसाबले खर्च गरिएको छ ।

देख्ने गरि अनियमितता भएपनि गत चैत १८ गते गोरखामा बसेको कार्यसमितिको बैठकले सबै खर्च पास गरिसकेको छ । यद्दपि खर्चको शीर्षक भने राखिएको थिएन् । सभा हल मर्मत सम्भारमा लाग्ने खर्च पास गरिए पनि त्यसमा प्रयोग गरिएको बिजुलीको तारको भुक्तानी भने अझै गरिएको छैन् । 

विश्वसनीय वीरगन्ज उद्योग वाणिज्य संघका एकजना पदाधिकारीकै छोराले बिजुलीको तार सप्लाई गरेका थिए । बिजुलीको तारको बिल जब ५ लाखको आयो अनि अन्य पदाधिकारी झस्किए । संघका पदाधिकारीले त्यही कम्पनीको बिजुलीको तार ३ लाख रुपैयाँमा खरिद गरेका थिए ।

‘बैठकमा १ लाख रुपैयाँ घटाएर बिल पास गर्ने सहमति भएपनि हालसम्म बिजुलीको बिल पास भएको छैन्,’ संघका एक सदस्य भन्छन्, ‘हल मर्मत सम्भारमा देखिने गरि आर्थिक अनियमितता भएको छ, बिजुलीको तारको बिल त एउटा सानो उदाहरण मात्र हो ।’

संघ स्रोतका अनुसार पुरानो सभा हलको पारकेटिङ, फल्स सिलिङ, दक्षिण भागमा मञ्च निर्माण, ११० वटा कुर्सी र शौचालय निर्माणमा १ करोड १५ लाख रुपैयाँ खर्च देखाइएको छ । हल मर्मत सम्भारका लागि पदाधिकारी बैठकमा ३० लाख रुपैयाँ खर्च गर्ने मौखिक सहमति भएको थियो । ‘मौखिक निर्णयलाई लिखित गर्दा ४० लाख पारियो ।

निर्माण हुँदै गर्दा खर्च करोड भन्दा माथि देखाइएको छ,’ सम्वद्ध स्रोत भन्छ, ‘हल मर्मत सम्भारमा देखिने गरि आर्थिक बदमाशी हुँदा पनि कार्यसमितिका अधिकांश सदस्य मौन छन् ।  सभा हलमा गरिएको आर्थिक अनियमितता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तैयारी रहेको ती पदाधिकारीले जनाए ।

संघको पदाधिकारी बैठकमा हल मर्मत सम्भार गर्ने ठेकेदार मिराज आलमले बदमाशी गरेको भन्दै उनलाई हटाउने सहमति समेत गरिएको थियो । तर, संघका अध्यक्ष सुबोध गुप्ताले पोखरिया अस्पतालको काम समेत त्यही ठेकेदारलाई जिम्मा लगाएका थिए । पहिलाका अध्यक्षहरुले जोगाइदिएको पैसा अहिलेको नेतृत्वले जथाभावी खर्च गरेको आरोप लाग्दै आएको छ ।   

प्रतिक्रिया दिनुहोस्