इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात

पाम तेलको प्रमुख उत्पादक मुलुक इण्डोनेसियाले निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा पनि देखिने भएको छ

सम्वादाता | २०७९ बैशाख १७ गते १७: ४६ मा प्रकाशित

काठमाडौं–पाम तेलको प्रमुख उत्पादक मुलुक इण्डोनेसियाले निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा पनि देखिने भएको छ । गत बुधबारदेखि इण्डोनेसियाले आफ्नो मुलुकको मूल्यवृद्धि रोक्न पाम तेलको निर्यातमा रोक लगाएको मोरङ व्यापार संघले जनाएको छ । वाषिर्क ठूलो परिमाणमा कच्चा पदार्थ आयात गरेर नेपाल र भारतीय बजारमा नेपाली उद्योगीले पाम तेल बिक्री गर्दै आइरहेका छन् ।
रुस र युक्रेनका युद्धका कारण अन्य खाने तेल आयातसमेत उत्पादक मुलुकबाट हुने निर्यातमा समस्या देखिएको बेला पाम तेलको आपूर्ति श्रृङ्खला पनि भत्कन सुरु भएको संघका निवर्तमान अध्यक्ष एवम् उद्योगी प्रकाश मुन्डाले बताए । अन्तर्राष्ट्रिय कारणहरुले गर्दा तेलको आपूर्ति व्यवस्था खराब अवस्थातर्फ पुगेको मुन्दडाको भनाइ छ । तेल आयातको सबै स्रोत मुलुकमा समस्या देखिएको उनले बताए ।
युक्रेनमा युद्ध छ, मलेसियामा तेल पाइएन, इण्डोनेसियाले पाम निर्यातमा रोक लगायो,’ मुन्डाले भने ‘अहिले हामीहरु कामबिहिन भएका छौं ।’ उद्योगीहरुले कच्चा तेल खरिदका लागि गरेको विभिन्न प्रयास पनि असफल भएको उनको भनाइ छ । कच्चा अन्य खाने तेलसहित पामको आयात ठप्प हुँदा २० वटा उद्योगले गर्ने प्रशोधन र निर्यात प्रभावित भएको उद्योगीहरुले बताएका छन् । वीरगञ्ज र विराटनगरमा गरेर मुलुकभर २० वटा तेल उद्योगमा ५० अर्ब लगानी रहेको र त्यहाँ ८ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको मुन्डाले दाबी गरे ।
विराटनगरममा रहेको पशुपति बिस्कुट उद्योगकाअ नुसार पछिल्लो तीन दिनदेखि इण्डोनेसियाले पाम तेल निर्यातमा रोक लगाएको छ । जसको असर बिस्कुटको उत्पादनमा पर्ने उद्योगका फाइन्यान्स प्रमुख रिसब चौधरीले बताए । विस्कुटका लागि पाम तेल नभई हुँदैन, आयात ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चौधरीले भने ‘अब तेलको मूल्य भन्दा पनि उपलब्धता उद्योग सञ्चालनका लागि महत्वपूर्ण भएको छ ।’

चाउचाउ, बिस्कुट र साबुन उद्योगमा संकट

नेपाल वनस्पती घ्यु तेल उत्पादक संघकाअनुसार नेपालमा खाने तेल बाहेक औद्योगिक प्रयोजनमा वाषिर्क साढे २ लाख मेट्रिकटन पाम तेलको खपत हुन्छ । चाउचाउ, बिस्कुट, साबुन उद्योग र रेष्टुरेन्टमा पाम तेलको प्रयोग अधिक हुने संघको भनाइ छ । पाम तेलको विकल्पमा पाम तेल मात्रै हुने भएका कारण यसको उपलब्धता निकै महत्वपूर्ण भएको उद्योगी चौधरी बताउँछन् । बिस्कुटमा पाम तेल नभए यसको गुणस्तरमै समस्या हुने पनि उनले बताए । बिस्कुट मात्रै नभइ साबुन उद्योगलाइ पनि पाम तेल अभावले पिराल्ने चौधरीको भनाइ छ । ‘साबुन उद्योग चलाए दिनमा २ लाख घाटा नचलाए एक लाख घाटाको अवस्था छ,’ चौधरीले भने । ‘अन्य उद्योगमा पनि समस्या आउँदैछ ।’ (साभार : अनलाइन खबर)

 

प्रतिक्रिया दिनुहोस्