कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चितवन राइनोजले शानदार प्रदर्शन गर्दै कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ। १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमै ६ विकेट गुमाउँदै १७१ रन बनाएर प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

चितवनको जितमा इङ्ग्लिस स्टार ब्याटर रबि बोपाराले खेलेको अर्धशतक र अन्तिम चरणमा सैफ अली जैबको विस्फोटक ब्याटिङ निर्णायक साबित भयो। बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन जोडे। ओपनर दीपक बोहराले पनि उत्कृष्ट सुरुवात दिँदै ४२ रनको योगदान गरे।

जिततर्फको बाटो सबैभन्दा सहज भने सैफ अली जैबले बनाए। उनले केवल १६ बलमा २ चौका र ४ छक्काको मद्दतमा ३८ रन प्रहार गर्दै चितवनलाई लक्ष्यसम्म पुर्‍याए।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले दुई विकेट लिए। मार्क वाट, युनिश सिंह र युवराज खत्रीले एक–एक विकेट हात पारे।

यस जितसँगै चितवन राइनोजले एनपीएलमा कर्णाली याक्सविरुद्ध पहिलो पटक जित दर्ता गरेको छ। पहिलो संस्करणका दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्