कर्मचारी प्रिमियर लिग क्रिकेट : नारायणी अस्पतालको टीम विजयी

वीरगंज । आदर्शनगरमा जारी कर्मचारी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिवार सम्पन्न खेलमा नारायणी अस्पतालको टीमले ठोरी गाउँपालिकाको टीमलाई पराजित गर्दै महत्वपूर्ण जीत हात पारेको छ। निर्धारित १० ओभरको खेलमा नारायणीले दिएको ८० रनको लक्ष्य पछ्याउने क्रममा ठोरी गाउँपालिकाको टोली कमजोर प्रदर्शन गर्दै लक्ष्य भेटाउन असफल भएपछि पराजित भएको हो।

आजको खेलमा उत्कृष्ट खेलाडीलाई शिल्ड प्रदान गर्दै खेलका प्रमुख अतिथि युवा नेता सुधीर पटेलले सरकारी तथा स्थानीय तहका कर्मचारीहरू कार्यसम्पादनको क्रममा अत्यधिक तनावमा रहने भएकाले यस्ता खेलकुद कार्यक्रममा सहभागिताले उनीहरूको मानसिक तनाव कम गर्न मदत पुग्ने बताए। उनले प्रतियोगिताले कर्मचारीहरूबीच आपसी सम्बन्ध, सहकार्य र समझदारी मजबुत बनाउन पनि सहयोग गर्ने उल्लेख गरे।

पटेलले खेलका माध्यमबाट कर्मचारीहरूले खेलाडीहरूको समस्या, चुनौती र भावना बुझ्न सक्ने सकारात्मक वातावरण निर्माण हुने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिए।

कर्मचारी प्रिमियर लिगका अन्य खेलहरू पनि क्रमागत रूपमा आदर्शनगरमै सञ्चालन भइरहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्