पाकिस्तानमा शृंखलाबद्ध विस्फोटपछि अन्तर्राष्ट्रिय क्रिकेट फेरि संकटमा

श्रीलंकाली खेलाडीहरूले फर्किने माग

काठमाडौं – पाकिस्तानमा पछिल्ला दिनहरूमा भएका शृंखलाबद्ध बम विस्फोटका घटनाले फेरि अन्तर्राष्ट्रिय क्रिकेटको भविष्यलाई जोखिममा पारिएको छ। लामो समयपछि विदेशी टोलीहरूलाई आमन्त्रण गर्दै पाकिस्तानले फिर्ता ल्याएको अन्तर्राष्ट्रिय क्रिकेट फेरि देशबाहिर जान सक्ने संकेत देखिएको छ।

हाल पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीका केही खेलाडीहरूले सुरक्षाको चिन्ता व्यक्त गर्दै घर फर्काउने अनुरोध गरेका छन्।

श्रीलंका क्रिकेट बोर्डले खेलाडीहरूलाई भ्रमण जारी राख्न आग्रह गरेको छ। बोर्डका अनुसार, केही खेलाडीहरूले फर्कने इच्छा प्रकट गरे पनि भ्रमण अवरुद्ध नहोस् भनेर प्रतिस्थापन खेलाडी पठाउने तयारी गरिएको छ।
श्रीलंका क्रिकेट बोर्डले जारी विज्ञप्तिमा भनिएको छ, “हामीले पाकिस्तान क्रिकेट बोर्ड र सम्बन्धित अधिकारीहरूसँग नजिकका रूपमा समन्वय गरिरहेका छौं। खेलाडी र टोलीका सबै सदस्यहरूको सुरक्षालाई पूर्ण प्राथमिकतामा राखिएको छ।”

हालै इस्लामाबादमा भएको घातक बम विस्फोटमा १२ जनाको मृत्यु भएपछि श्रीलंकाली टोलीका केही सदस्यहरूमा त्रास फैलिएको थियो। खेलाडीहरूले यसलाई २००९ को घटनासँग तुलना गर्दै सुरक्षा जोखिमबारे चासो व्यक्त गरेका हुन्।

२००९ मा लाहोरमा श्रीलंकाली टोलीमाथि आतंककारी आक्रमण हुँदा केही खेलाडी गम्भीर घाइते भएका थिए। त्यसपछि २०१५ सम्म कुनै पनि विदेशी टोलीले पाकिस्तान भ्रमण गरेको थिएन।
२०१५ मा जिम्बाब्वे पहिलो टोलीका रूपमा पाकिस्तान गयो, त्यसपछि वेेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, अस्ट्रेलिया र न्युजील्याण्ड पनि गएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट क्रमशः सामान्य बन्दै गइरहेको थियो।

तर पछिल्ला विस्फोटका घटनाले फेरि पाकिस्तानको सुरक्षा छवि कमजोर बनाइरहेको छ। खेल विश्लेषकहरूका अनुसार, आगामी भ्रमणहरूमा अन्य देशका टोलीहरू पनि पाकिस्तान जान हिच्किचाउने सम्भावना बढेको छ।

श्रीलंका क्रिकेट बोर्डले भने खेलाडीहरूको सुरक्षाबारे पाकिस्तान क्रिकेट बोर्डसँग निरन्तर समन्वय भइरहेको बताउँदै भ्रमणलाई योजना अनुसार अघि बढाउने निर्णय जनाएको छ।

प्रतिक्रिया दिनुहोस्