बाराद्वारा मकवानपुर ७ विकेटले पराजित

सम्वादाता | २०८२ जेठ २७ गते ११: ३३ मा प्रकाशित

सिमराः दोस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बारा बिजयी भएको छ । प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा बाराले मकवानपुरलाई सात विकेटले पराजित गरेको हो ।

सेज क्रिकेट खेल मैदानमा टस जितेर ब्याटिङ राजेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । मकवानपुरका लागि युविन बुढाथोकीले सर्वाधिक ४६ रन बनाए । अर्धशतका लागि चार रनले चुकेका युविन सिराज हवारीले पेभेलियन फर्काएका थिए ।

मकवानपुरका बिशाल फुयाँलले ३१, शुभ कंसकारले २४, रमेश लुईंटेलले १८ र कप्तान रामनरेश गिरीले ११ रन बनाए । अन्य ब्याटर चल्न सकेनन् ।

बलिङतर्फ बाराका सिराज हवारीले चार विकेट लिए । चार ओभरमा ३१ रन खर्चिदै सिराजले मकवानपुरको महत्वपूर्ण चार विकेट लिए । यसबाहेक आशिक बैठाले तीन र कप्तान अरनिको यादवले एक विकेट लिए ।

मकवानपुरले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले १८.१ ओभरमा जित हात पारेको थियो । बाराको जितमा त्रितराज दासले ५१ रन प्रहार गर्दै अर्धशतक प्रहार गरे । यसैगरी रोहन साहले ३१, आदिल अंसारीले अविजित २२ र अरनिको यादवले २१ रन बनाए ।

बाराको जितमा चार विकेट लिएर सिराज प्लेयर अफ दि म्याच घोषित भए । सिराजलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रवक्ता भोजबहादुर खत्री (इश्वर) ले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार जीतपुरसिमरा क्रिकेट क्लब र युनाईटेड क्रिकेट क्लब वीरगन्जबीच खेल हुनेछ ।

जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । जेठ ३१ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरलाई समेत पुरस्कृत गरिनेछ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा गरुडा नगरपालिका रौतहटले आयोजकलाई १४ रनले पराजित गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगितालाई मधेश प्रदेश क्रिकेट संघ र बारा जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्