पाकिस्तान १३ वर्षपछि टी- २० विश्वकपको फाइनलमा

न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

सम्वादाता | २०७९ कार्तिक २३ गते १९: ३२ मा प्रकाशित

पाकिस्तान आइसिसी पुरूष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो।

न्यूजिल्याण्डले दिएको १५३ रनको मध्यम लक्ष्य पाकिस्तानले ५ बल बाँकी हुँदा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।


पाकिस्तानको जितमा कप्तान बाबर अजाम र मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले। पहिलो विकेटका लागि सतकीय साझेदारी गरेका कप्तान बाबर अजामले ४२ बलमा ७ चौकासहित ५३ रन बनाए। पहिलो बलमै जीवनदान पाएका बाबरले ३८ बलमा ७ चौकासहित ५० रन पुर्‍याएका थिए।

रिजवानले ४३ बलमा ५ चौकासहित ५७ रन बनाए। रिजवानले ३६ बलमा ५ चौकासहित ५० पुरा गरेका हुन्। स्तै हरिश रौफले २६ बल खेल्दै १ छक्का र २ चौकासहित ३० रन बनाए। सान मसुदले ३ रन बनाए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनायो। उसका लागि ड्यारेल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले ३५ बलमा १ छक्का र ३ चौका प्रहार गरे।

यस्तै कप्तान केन विलियम्सनले ४६ रन जोडे। ४२ बल खेलेका उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। फिन आलेनले ४ रन बनाउँदा ग्लिन फिलिप्सले ६ रन जोडे। यस्तै जामेश निसामले १२ बलमा १६ रन बनाए।

पाकिस्तानका लागि शहिन साह अफ्रिदीले २ तथा मोहम्मद नवाजले १ विकेट लिए। भाग्यको साथ पाएको पाकिस्तानलाई १३ वर्षपछि पुनः टी-२० विश्वकपको उपाधि जित्ने मौका आएको छ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै लय दोहोर्‍याएर पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ।

उक्त विश्वकपमा निकै खराब सुरुवात गरेको पाकिस्तानलाई भाग्यले साथ दिएपछि अन्ततः उपाधि नै चुम्न सफल भएको थियो। यसपालि पनि पाकिस्तानले त्यहीँ इतिहास दोहोर्‍याउने मौका पाएको छ।

जारी विश्वकपको सबैभन्दा भाग्यमानी टोली पाकिस्तान सुरूआती दुई खेलमा पराजित भएपछि लगभग सेमिफाइनल दौडबाट बाहिरिएको थियो।

पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको तिब्र आलोचनासमेत भएको थियो। यसरी सुपर १२ बाट आउट हुनै लागेको पाकिस्तानले अविश्वसनीय पुनरागमन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो।

त्यसो त पाकिस्तानको यो पुनरागमनमा उसको आफ्नै खेल मात्र नभएर नेदरल्यान्डसको महत्वपूर्ण भूमिका रह्यो। नेदरल्यान्डले दक्षिण अफ्रिकाविरूद्ध स्तब्ध नतिजा ननिकालेको भए पाकिस्तानले कराँचीको टिकट काटिसक्नुपर्थ्यो। तर अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा न्यूजिल्याण्डमाथि सानदार जित निकाल्दै पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।

पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप ट्रफी उचालेको थियो। त्यसपछि पाकिस्तान लगातार पाँचौ पटक फाइनलमा पुग्न सकेको थिएन।

त्यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको फाइनलमा पनि पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो।

सन् २०१० को टी२० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको पाकिस्तानले गत वर्षको विश्वकपमा पनि अष्ट्रेलियासँग ५ विकेटले सेमिफाइनलमै पराजित भएर बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्