कर्णालीमा दशौं राष्ट्रिय खेलकुदपछि मधेश प्रदेशले एघारौं हुने दाबी

दुई वर्षको अन्तरमा हुने राष्ट्रिय प्रतियोगिता ८१ सालमा कर्णाली प्रदेशमा हुने गरि झण्डा हस्तान्तरणको तयारी छ ।

सम्वादाता | २०७९ असोज ३१ गते २१: ४४ मा प्रकाशित

काठमाडौं - एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा मधेश प्रदेशले दाबी गरेको छ । ४१ वर्षअघि अञ्चल संरचनाको रुपमा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेको मधेश प्रदेशले एघारौं राष्ट्रिय खेलकुदको आयोजनामा दाबी प्रस्तुत गरेको हो । 

गण्डकी प्रदेशमा नवौं संस्करणको प्रतियोगिता सञ्चालन भईरहदा राष्ट्रिय खेलकुदको दशौं संस्करण कर्णाली प्रदेशमा हुने तय छ । प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले प्रदेशको गौरवको आयोजनाको रुपमा झण्डै डेढ अर्ब बढी बजेटको बहुउद्धेश्य रंगशाला निर्माणको काम द्रुत गतिमा अघि बढाईरहेको छ । 


दुई वर्षको अन्तरमा हुने राष्ट्रिय प्रतियोगिता ८१ सालमा कर्णाली प्रदेशमा हुने गरि झण्डा हस्तान्तरणको तयारी छ । नवौं राष्ट्रियको समापन समारोहमा प्रधानमन्त्रीको उपस्थितीमा सदस्य सचिवले कर्णाली प्रदेशलाई दशौं संस्करणको प्रतियोगिताको आयोजनाको झण्डा हस्तान्तरण गर्ने प्रचलन छ ।  

कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदपछि मधेश प्रदेशले एघारौं संस्करणको प्रतियोगिताको आयोजनामा दाबी प्रस्तुत गरेको हो । सोही अनुसार मुख्यमन्त्री कार्यालयको पत्र सहित मधेशको खेलकुद मन्त्रालयका सचिव सहितको टोली गण्डकी प्रदेशको राजधानी पोखरामा आएका छन् । 

संघीय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेर प्रतियोगिता आयोजनाको औपचारिक अनुरोध गर्ने र सोही अनुसार निर्णय गराउने मधेश प्रदेशको तयारी छ । सोही अनुसार मधेश प्रदेशबाट राखेपको बोर्डमा प्रतिनिधित्व गर्ने मानदेव हजारा सहितको टोलीले आन्तरिक लबिङ गरिरहेको छ । 

राखेप बोर्ड सदस्य मानदेव हजाराले दशौं राष्ट्रिय खेलकुद आयोजनामै आफ्नो प्रदेशको दाबी रहेको उल्लेख गर्दै अब एघारौं राष्ट्रिय खेलकुद कुनैपनि हालतमा मधेश प्रदेशमा हुनुपर्ने बताए ।  

‘गण्डकी प्रदेशबाट एउटा सन्देश दिन चाहन्छौं । अब एघारौं राष्ट्रि खेलकुद आयोजनाको पालो मधेश प्रदेशको हो ।’ हजाराले खेलपाटीसँग भने । 

‘पर्सादेखि सप्तरी जिल्लासम्म खेलकुद पुर्वाधार तयार छन् । सबै खेल आयोजनाका लागि केही स्थानमा स्तरोन्नती गर्न बाँकी छ । तर अहिले घोषणा भएको अवस्थामा आगामी दुई वर्षमा सबै खेल स्थल तयारी अवस्थामा राख्न मधेश प्रदेश तयार छ ।’ उनले भने । 

२०४२ सालमा मधेशले तेस्रो राष्ट्रिय खेलकुदको आयोजना गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्