नेपाली क्रिकेट टिमका कप्तान लामिछानी माथि बलत्कारको आरोप

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडित युवतीसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

सम्वादाता | २०७९ भदौ २२ गते ०८: ५८ मा प्रकाशित

काठमाडौ– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा प्रहरी वृत गौशालामा किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख भरत बहादुर बोहोराका अनुसार आफ्ना एक साथीसँग गौाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरी सपक्ष बताएकी थिइन् । उनको उमेर १७ वर्ष पुगेको छ ।

प्रहरीले बुधबार युवतीको स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान समेत थालिसकेको छ । ती युवती कप्तान लामिछानेकी फ्यान थिइन् । सामाजिक सञ्जाल मार्फत उनीबीच कुराकानी भएको थियो । गत भदौ ६ गते लामिछाने टी २० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थान स्थित होटल काठमाडौ इनमा बोलाएर दुई पटक बलात्कार गरेको पीडितको भनाइ छ ।

राति लठयाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसीटीभी फुटेज संकलन गरेको छ । प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडित युवतीसँग गएको देखिएको प्रहरीले जनाएको छ । नेपाली क्रिकेट संघ (क्यान)) ले ४ पुस २०७८ मा २५ वर्षीय लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्