सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने

नेपाल र भारतका १६ टोलीको सहभागिता रहने

सम्वादाता | २०७९ भदौ १६ गते ०९: २५ मा प्रकाशित

बारा - बाराको सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो। 

सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टोलीको सहभागिता रहने संयोजक हरि चौधरीले जानकारी दिए। प्रतियोगितामा दार्जलिङ, कोलकाता, सिक्किम, धरान, चितवन, ललितपुर, चन्द्रनिगाहपुर, नवलपरासी, विराटनगर, बुटवल, पोखरा, वीरगन्ज र आयोजक क्लबको दुई टोलीको सहभागिता रहने छ। 
प्रतियोगिताले सिमरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सार्थक बनाउन मद्दत पुग्ने चौधरीले बताए।

स्थानीय युवा समाजसेवी श्यामबाबु गुप्ताको माता मन्जुदेवीको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगितामा ४० वर्ष उमेरभन्दा माथिका खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, फरवार्डलाईसमेत विधागत पुरस्कारबाट पुरस्कृत गरिने चौधरीले जानकारी दिए। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक चार वटा खेल हुनेछ। 

नेपाल र भारतका विभिन्न भेट्रान कप फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको सिमराले दोस्रो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि देशभरका भेट्रान क्लबको सहभागितामा २०७४ सालमा प्रथम संस्करण आयोजना भएको थियो। 

जितपुर सिमरा गोल्डकपले सिमरालाई राष्ट्रियस्तरमा चिनाउन र फुटबलको विकास गर्न सहयोग गरिरहेको अवस्थामा भेट्रान प्रतियोगिताले थप मद्दत पुग्ने क्लबका अध्यक्ष राजकपुर राउतले बताए। 
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मुख्य सहयोगीको भूमिकामा रहेका स्व. मञ्जुदेवीका छोरा श्यामबाबु गुप्ताले सिमरामा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए। उनले आफ्नो आमाको नाममा प्रतियोगिता आयोजना गर्न पाँउदा गौरवान्वित महसुस गरेको बताए। 

प्रतिक्रिया दिनुहोस्