इटाली र अर्जेन्टिना भिड्दै

दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

सम्वादाता | २०७९ जेठ १८ गते १३: ५२ मा प्रकाशित

काठमाडौं : दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

 ‘फाइनलसिमा’ नामाकरण गरिएको प्रतिस्पर्धामा दुवै टोली उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । इटाली डिफेन्डर जर्जियो चिलिनी तथा अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछन् ।

चिलिनीका लागि यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । किनकि उनले यसअघि नै यो प्रतियोगितापछि सन्न्यास लिने घोषणा गरिसकेका छन् । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय ९यूइएफए० र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय ९कन्मेबोल० बीच तीन वर्षको सम्झौता भइसकेको छ ।


इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै युरो कप–२०२० को उपाधि हात पारेको थियो । यस्तै, ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले हराएर उपाधि जितेको थियो ।


फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए । सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्