नवौं खेलकुदका लागि प्रदेशले जेठ १० भित्र टिम दर्ता गर्नुपर्ने

जेठ अन्तिम साता गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएका छन्

सम्वादाता | २०७९ बैशाख ९ गते १८: २४ मा प्रकाशित

काठमाडौं । जेठ अन्तिम साता गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपको ११२औं बोर्ड बैठकले नवौं खेलकुदका लागि स्थानीय तहदेखि खेलाडी छनोटको जिम्मेबारी प्रदेश खेलकुद विकास परिषदलाई नै दिने निर्णय गरेको हो । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बसेको बैठकमा प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिवलाई पनि आमन्त्रण गरिएको थियो ।
नयाँ ऐनअनुसार संघीय कार्यान्वयन आवश्यक भएकाले बृहत राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटको जिम्मा सम्बन्धित प्रदेशले नै पाउनेछन् । प्रदेश खेलकुद परिषद नभएका प्रदेशमा खेलकुद हेर्ने मन्त्रालयले जिम्मेबारी लिनेछन्,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव टंकलाल घिसिङले भने, ‘हामीले छनोटको डेटलाइन तोक्न मिल्दैन तर जेठ १० गतेसम्म सबै प्रदेशले खेलाडी र टिम दर्ता गरिसक्नुपर्छ । खेलाडी छनोटका लागि हामीले सबै प्रदेशलाई वजेट सहयोग गर्नेछौं ।’
जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा सात प्रदेश र चार विभागीय गरी ११ टोलीको सहभागिता रहनेछ । बैठकले नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णय गरेको छ । ३५ खेलहरु यसअघि आठौं राष्ट्रिय खेलकुदमा समावेश थिए । यसपल्ट रग्वी सेभेनलाई समावेश गरिएको छ । राखेप सदस्यसचिव घिसिङ रग्वी संघका पूर्वअध्यक्ष हुन् । यो खेललाई सातौं राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो ।
गण्डकी प्रदेशको परम्परागत खेल ठेलो र क्यानोइङलाई यसपल्ट प्रदर्शनी खेलका रुपमा समावेश गर्ने निर्णय भएको सदस्यसचिव घिसिङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएका खेलहरुमा एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की,बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक कराते, आई टिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ र रग्बी सेभेन ए साइड रहेको छ । नवौँ राष्ट्रियमा करिब ६ हजार ८०० खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान राखेपले गरेको छ । यस्तै एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, ११४ संघ प्रतिनिधि र एक हजार निर्णायक हुने राखेपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्