सिर्सिया खोलामा प्रदूषण रोक्न उद्योगलाई एक साताको अल्टिमेटम

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गर्दै आएको प्रदूषणप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधार गर्न एक साताको समयसीमा दिएकी छन्।

सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलमा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि कारबाही गरिने चेतावनी दिइन्।

सिमरा र वीरगन्ज क्षेत्रका दर्जनौँ उद्योगले प्रशोधन नगरेको ढल तथा औद्योगिक फोहोर सिधै सिर्सिया खोलामा मिसाउँदै आएको बताइएको छ। यसका कारण खोला गम्भीर रूपमा प्रदूषित बनेको छ भने बारा र पर्साका दर्जनौँ गाउँका लाखौँ स्थानीय प्रभावित भएका छन्।

प्रदूषणबाट बाराको सिमरा र महुलीसहित पर्साका सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका तथा विन्ध्यवासिनी क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ। दूषित पानीका कारण स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने जोखिम बढेको मन्त्री कुमारीले बताइन्।

उनले उद्योगीहरूलाई छलफललाई औपचारिक बैठकका रूपमा मात्र नलिई तत्काल सुधारका काम सुरु गर्न निर्देशन दिइन्।

‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन,’ मन्त्री कुमारीले भनिन्, ‘यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ। तपाईंहरूलाई एक हप्ताको समय छ। के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस्।’

उनले आगामी साता मन्त्रालयको विशेष टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने र त्यसपछि कानुनअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिन्।

लामो समयदेखि यस क्षेत्रका किसान तथा सर्वसाधारणले सिर्सिया खोलालाई पुनर्जीवन दिन माग गर्दै आएका छन्। उद्योगहरूबाट निस्कने रसायनयुक्त पानी र फोहोरको उचित व्यवस्थापन नहुँदा यस क्षेत्रको ‘लाइफलाइन’ मानिने सिर्सिया खोला अस्तित्व संकटमा पर्दै गएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्