कुखुरा फार्मको फोहोरले गादी खोला प्रदूषित

सिंचाइको पानी प्रदूषित भएको गुनासो

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित गादी खोलामा कुखुरा फार्मबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी मिसिँदा खोला प्रदूषित भएको स्थानीयले आरोप लगाएका छन्। फार्ममा जम्मा हुने मरेका कुखुरा, बिग्रिएका अन्डा तथा अन्य जैविक फोहोरबाट निस्कने फोहोरयुक्त पानी खेत हुँदै गादी खोलामा पुग्ने गरेको स्थानीयको दाबी छ।

स्थानीयका अनुसार फार्मभित्र रहेको पोखरीमा मरेका कुखुरा, बिग्रिएका अन्डा र अन्य जैविक फोहोर जम्मा हुने गरेको छ। त्यहाँबाट निस्कने दुर्गन्धित तथा फोहोरयुक्त पानी खेत हुँदै गादी खोलासम्म पुग्ने गरेको उनीहरूको भनाइ छ।

सिंचाइको पानी प्रदूषित भएको गुनासो

गादी खोलामा मिसिएको फोहोरयुक्त पानी पटेर्वासुगौली–२ का रङ्गपुर, मकवानी टोल, बेलवा, कौवावन कटैया तथा देउरवानासम्म पुग्ने गरेको स्थानीयले बताएका छन्। खोलाको पानी विभिन्न क्षेत्रमा कृषि सिंचाइका लागि प्रयोग हुँदै आएको छ।

स्थानीयले प्रदूषित पानीबाट सिंचाइ गर्दा कृषि उत्पादनमा असर परेको दाबी गरेका छन्। विशेषगरी धानबालीमा नकारात्मक प्रभाव देखिएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार केही वर्ष अघिसम्म सफा रहेको गादी खोलाको पानी विभिन्न पर्व तथा धार्मिक अवसरमा स्नानका लागि समेत प्रयोग गरिन्थ्यो। तर पछिल्लो समय पानी दुर्गन्धित र फोहोर देखिन थालेपछि स्नानलगायत अन्य प्रयोजनमा प्रयोग गर्न समस्या भएको उनीहरू बताउँछन्।

पानी पिएपछि पशु बिरामी पर्ने दाबी

गादी खोलाको आसपास गाई, भैंसी, बाख्रालगायतका पशुचौपाया चराउने गरिन्छ। स्थानीयले खोलाको प्रदूषित पानी पिएपछि पशु बिरामी पर्ने तथा मर्ने गरेको दाबी गरेका छन्।

स्थानीय समाजसेवी दीपक रसाइलीले फार्मबाट निस्कने फोहोर तथा दुर्गन्धित पानी खोलामा मिसिएको विषयमा आफूले पटकपटक आवाज उठाउँदै आए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरे।

“पशुहरूले यो पानी पिएपछि दुई–चार दिनभित्र बिरामी पर्ने र मर्ने अवस्था देखिएको छ,” रसाइलीले दाबी गरे।

उनका अनुसार गादी खोलाको पानी विभिन्न पैनीमार्फत खेतसम्म पुग्ने भएकाले खोलामा मिसिने प्रदूषित पानीको प्रभाव ठूलो क्षेत्रमा पर्न सक्छ।

स्थानीयले प्रदूषित पानीकै कारण एउटा बाख्रा मरेको दाबी गरे पनि उक्त पशुको मृत्यु पानीकै कारण भएको हो वा अन्य कारणले भन्ने विषय भने परीक्षणबाट पुष्टि हुन बाँकी छ।

साँझपख गाउँभरि दुर्गन्ध फैलिने गुनासो

स्थानीयका अनुसार फार्म बस्तीको बीच भागमा रहेकाले त्यहाँबाट आउने दुर्गन्ध साँझको समयमा हावासँगै गाउँभरि फैलिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्