वीरगञ्जको मुख्य सडक विस्तार अभियान पुनः सुरु

घण्टाघर–अलखियामठ क्षेत्रमा डोजर परिचालन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडक फराकिलो बनाउने अभियान बुधबारदेखि पुनः सुरु भएको छ। चौथो गहवामाई रथयात्राका कारण केही दिनका लागि स्थगित गरिएको सडक विस्तार कार्य पुनः सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय, हेटौंडाले यसअघि साउन २ गते सूचना जारी गर्दै रथयात्रापछि विस्तार अभियान पुनः सञ्चालन गरिने जनाएको थियो। सोही सूचनाअनुसार बुधबारदेखि घण्टाघर–अलखियामठ तथा अलखियामठ–घण्टाघर सडकखण्डमा बाँकी रहेको सडक क्षेत्र खाली गराउन डोजर परिचालन गरिएको छ। सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचना हटाउने कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

मुख्य सडक विस्तार अभियान पहिलो चरणमा गत वैशाख ६ गतेदेखि सुरु गरिएको थियो। त्यसक्रममा सडक सीमाभित्र निर्माण गरिएका संरचनाहरू हटाइएको थियो। दोस्रो चरण असार २० गतेदेखि सञ्चालन भएको अभियान अहिले तेस्रो चरणमा प्रवेश गरेको छ। यस चरणमा गण्डकचोकदेखि मितेरीपुलसम्म करिब सात किलोमिटर सडक फराकिलो बनाउने काम भइरहेको छ।

सडक डिभिजन कार्यालयका अनुसार करिब साढे तीन दशकदेखि विभिन्न कारणले रोकिएको मुख्य सडक विस्तारको काम गत वैशाखदेखि प्रभावकारी रूपमा अघि बढेको हो। अभियानअन्तर्गत करिब एक हजार दुई सय संरचना हटाउने लक्ष्य राखिएको छ। संरचना हटाइएसँगै सडक क्षेत्रमा रहेका निर्माण सामग्रीसमेत तत्काल व्यवस्थापन गर्न थालिएको छ।

वीरगञ्ज महानगरपालिकाले आफ्ना ट्याक्टर परिचालन गरी भत्काइएका संरचनाका इँटा, ढुङ्गा, काठ तथा अन्य निर्माण सामग्री उठाउने काम सुरु गरेको छ। यसबाट सडक र फुटपाथमा थुप्रिएका सामग्री हट्न थालेका छन् भने सवारी आवागमन पनि सहज बन्दै गएको छ।

सडक विस्तारसँगै अतिक्रमणका कारण थुनिएका नाला सफा गर्ने तथा खोल्ने काम पनि समानान्तर रूपमा भइरहेको छ। यसले वर्षायाममा हुने डुबान तथा पानी जम्ने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले सडक फराकिलो भएसँगै ट्राफिक जाममा कमी आउने, पैदलयात्रीका लागि व्यवस्थित फुटपाथ निर्माण हुने तथा वीरगञ्जको शहरी सौन्दर्यमा समेत उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेका छन्।

सडक डिभिजन कार्यालयले निर्धारित समयभित्र सडक विस्तार सम्पन्न गर्न स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला सबै पक्षसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्