पाँच दशक पुरानो वीरगञ्ज नर्सिङ क्याम्पस अझै शिक्षण अस्पतालविहीन

सांसदद्वयले दिए विकासको प्रतिबद्धता

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रिवि दिवस)को अवसरमा वीरगञ्ज नर्सिङ क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा क्याम्पसको दीर्घकालीन समस्या, पूर्वाधार अभाव र शिक्षण अस्पताल निर्माणको आवश्यकता प्रमुख रूपमा उठाइएको छ।

कार्यक्रममा क्याम्पसका प्रथम ब्याचका विद्यार्थी तथा वरिष्ठ चिकित्सक डा. रामअवतार खेतानले करिब पाँच दशकको इतिहास बोकेको वीरगञ्ज नर्सिङ क्याम्पसले हालसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद भएको बताए। उनले नर्सिङ जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको संस्थाले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण अपेक्षित रूपमा विकास गर्न नसकेको उल्लेख गर्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सुशील साह कानुरामाकान्त चौरसियाले क्याम्पसको समग्र विकासका लागि सङ्घीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले पूर्वाधार सुधार, पर्याप्त बजेट व्यवस्थापन तथा शिक्षण अस्पताल निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाइने विश्वास दिलाए।

अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका भवन तथा शैक्षिक संरचनाको स्थलगत अवलोकन गरेका थिए। अवलोकनका क्रममा उनीहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण तथा विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक आर्थिक तथा नीतिगत सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता दोहोर्‍याए।

क्याम्पस प्रमुख कल्पना पौडेलले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण बन्दै गएको, मर्मतसम्भार तथा भौतिक पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट अभाव हुँदा शैक्षिक वातावरणसमेत प्रभावित भएको जानकारी दिइन्। उनले ऐतिहासिक महत्व बोकेको क्याम्पसको संरक्षण, आधुनिकीकरण र आवश्यक संरचना निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन्।

कार्यक्रममा क्याम्पसका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्