वीरगञ्जमा डेङ्गीसहित जलजन्य रोग फैलिने जोखिम बढ्यो

सडक विस्तारले अवरुद्ध भए नाला

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सडक विस्तारका क्रममा मुख्य नालाहरू अवरुद्ध भएपछि विभिन्न बस्तीमा वर्षाको पानी जम्न थालेको छ। पानीको उचित निकास हुन नसक्दा डेङ्गी, झाडापखाला, टाइफाइड, हैजालगायत जलजन्य तथा सरुवा रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरूले तत्काल रोकथामका उपाय अपनाउन आग्रह गरेका छन्।

पछिल्ला केही सातादेखि सडक विस्तारका लागि भइरहेको निर्माण तथा तोडफोडका क्रममा मुख्य नालाहरू माटो, ढुङ्गा र निर्माण सामग्रीले पुरिएका छन्। यसका कारण साना नालाहरूको बहावसमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ। छपकैया, आदर्शनगर, मुर्ली, घण्टाघर आसपास, गहवा, घुसुकपुर, पावरहाउस तथा बहुअरी–गण्डकलगायत घना बस्तीमा वर्षाको पानी लामो समयसम्म जम्न थालेपछि स्थानीयमा चिन्ता बढेको छ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सडक निर्माणका कारण धूलो, हिलो र फोहोरको मात्रा अस्वाभाविक रूपमा बढेको छ। उनले पानीको निकास तत्काल व्यवस्थापन गर्न नसके डेङ्गीसँगै अन्य जलजन्य तथा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने चेतावनी दिए।

“रोग फैलिसकेपछि एकैपटक बिरामीको सङ्ख्या बढ्ने सम्भावना हुन्छ। यसको सबैभन्दा बढी असर घना बस्ती, विपन्न तथा सरसफाइको पहुँच कम भएका समुदायमा पर्न सक्छ,” उनले भने। सुरक्षित खानेपानी र सरसफाइको अभाव भएका क्षेत्रमा सङ्क्रमण महामारीको रूप लिन सक्ने जोखिम रहेको उनको भनाइ छ।

स्वास्थ्य विज्ञहरूले नालाको नियमित सरसफाइ, जमेको पानी हटाउने अभियान, लामखुट्टे नियन्त्रण, फगिङ, लार्भा नष्ट गर्ने कार्यक्रम तथा जनचेतनामूलक अभियान तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तर वीरगञ्ज महानगरपालिकाले हालसम्म यस विषयमा प्रभावकारी तयारी वा विशेष कार्ययोजना सार्वजनिक गरेको देखिएको छैन।

महानगरपालिकाका कर्मचारी स्रोतका अनुसार नयाँ आर्थिक वर्षको प्रारम्भिक चरण, बजेट कार्यान्वयन प्रक्रिया तथा सरकारी खाताको व्यवस्थापनका कारण तत्काल ठूला कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको छ। यसका कारण जोखिम बढ्दै जाँदा पनि आवश्यक पूर्वतयारी अपेक्षित गतिमा अघि बढ्न नसकेको स्रोतको भनाइ छ।

स्थानीयवासीले सडक विस्तारसँगै नालाको नियमित सफाइ र पानी निकासको व्यवस्थापनलाई समानान्तर रूपमा अघि बढाउन माग गरेका छन्। उनीहरूका अनुसार पूर्वाधार निर्माणसँगै सरसफाइ र स्वास्थ्य सुरक्षामा ध्यान नदिए वर्षायाममा वीरगञ्जले थप स्वास्थ्य संकट सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्