रास्वपा पर्सामा आन्तरिक विवाद चर्कियो, जिल्ला अधिवेशन स्थगनको माग

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्लामा आन्तरिक विवाद झन् चर्किएको छ। पालिका अधिवेशनदेखि सुरु भएको दुई गुटबीचको मतभेद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पुगेपछि खुला रूपमा सतहमा आएको हो।

एक पक्षको नेतृत्व संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गरिरहेका छन् भने अर्का पक्षमा पर्साका तीन क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य सक्रिय छन्।

जेठ १७ गते वीरगंज महानगरको प्रथम अधिवेशनमा भएको निर्वाचनमा पनि दुई गुटबीच प्रतिस्पर्धा देखिएको थियो। उक्त निर्वाचनमा पन्त पक्षका उम्मेदवारलाई पराजित गर्दै अर्का पक्षका उम्मेदवार विजयी भएका थिए, जसपछि विवाद थप गहिरिएको हो।

आइतबार हुने भनिएको रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनलाई लिएर शनिबारदेखि नै निर्वाचन प्रक्रिया सुरु गरिएको छ। तर निर्वाचनकै क्रममा एक समूहले अधिवेशन तत्काल स्थगन गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ।

उक्त समूहले १४ वटै पालिका र विभिन्न विभागबाट प्रतिनिधि चयनमा अनियमितता भएको आरोप लगाएको छ। उनीहरूको दाबी अनुसार प्रतिनिधि चयन प्रक्रियामा पार्टी विधान र पद्धति मिचिएको तथा एकतर्फी रूपमा नजिकका व्यक्तिहरूलाई समावेश गरिएको छ।

असन्तुष्ट पक्षले प्रतिनिधि चयन प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने, विभाग गठनका निर्णय र माइन्युट खुलाउनुपर्ने माग राख्दै त्यसपछि मात्र अधिवेशन गर्नुपर्ने अडान लिएको छ।

यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि चयनमा कुनै हस्तक्षेप नभएको दाबी गरेका छन्। उनका अनुसार सबै प्रक्रिया पार्टीको विधान र निर्देशनअनुसार नै अघि बढाइएको हो। उनले पूर्वनिर्धारित तालिकाअनुसार नै जिल्ला अधिवेशन हुने स्पष्ट पारेका छन्।

हालसम्म जिल्ला सभापति पदका लागि पन्त र सांसद सुशील साह कानु आकांक्षीका रूपमा देखिएका छन्। विवादका बीच अधिवेशन हुने/नहुने विषयमा अन्योल कायमै छ।

प्रतिक्रिया दिनुहोस्