कृषिदेखि नागरिकको आवाजसम्म: पर्सा–३ मा रुपेश पाण्डेको छ बुँदे प्रतिवद्धता

जनसुविधा र दीर्घकालीन विकासको नक्सा सार्वजनिक गर्दै रुपेश पाण्डे

मतदातासंग कुराकानी गर्दै रुपेश पाण्डे

वीरगंज | पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन्। कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने लक्ष्यसहित पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

पाण्डेका अनुसार प्रस्तुत गरिएका एजेन्डा कार्यान्वयन भए पर्सा–३ को दीर्घकालीन विकास र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ। उनले कृषि आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै कृषकलाई गुणस्तरीय मलखाद र बिउ उपलब्ध गराउने, आधुनिक कृषि प्रविधि प्रयोगका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने योजना सार्वजनिक गरे। परम्परागत खेतीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल तथा पशुपालनतर्फ कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रअन्तर्गत सबै गाउँपालिका तथा वडाका स्वास्थ्य संस्था र अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पताललाई सुदृढीकरण गरिने तथा आधुनिक उपकरणसहित डिजिटल र प्रविधिमैत्री स्वास्थ्य सेवा विकास गरिने योजना रहेको पाण्डेले जानकारी दिए।

त्यस्तै, गुणस्तरीय शिक्षाका लागि विद्यालय सरसफाइमा ध्यान दिइने, विद्यार्थी–अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने, सीपमूलक शिक्षा प्रवर्द्धन गरिने तथा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइने जनाइएको छ। हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकला प्रतियोगितामार्फत विद्यार्थीको क्षमता विकासमा जोड दिइने उनले बताए।

रोजगारी र उद्यमशीलता विकासका लागि देशका प्रतिष्ठित उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण गरिने, स्थानीय स्रोत र सीपको प्रयोगमार्फत रोजगारी सिर्जना गरिने तथा युवालाई लक्षित सीप तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

पूर्वाधार विकासतर्फ सडक, पुल, ढल, विजुलीबत्ती लगायतका आधारभूत संरचनाको दिगो विकास, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण तथा विकास कार्यमा पारदर्शिता, गुणस्तर र समयपालन सुनिश्चित गरिने पाण्डेले स्पष्ट पारे।

नागरिकको आवाजलाई राष्ट्रिय तहमा पुर्‍याउने उद्देश्यसहित ९६ हजारभन्दा बढी मतदाता तथा क्षेत्रका नागरिकका हक–हितका विषय संसद्, मन्त्रालय र नीति निर्माण तहसम्म उठाइने उनको भनाइ छ। स्थानीय समस्या समाधानका लागि निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने पनि उनले बताए।

उम्मेदवार पाण्डेले यी छ वटा एजेन्डाको प्रभावकारी कार्यान्वयनले पर्सा–३ को समग्र विकास, जनसुविधा र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्